दशैँमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत तीन दिनका लागि बन्द, आन्तरिक उडान पनि प्रभावित

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ-१० जवाङ खोलामा शनिवार बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुँदा काठमाडौँतर्फ जान लागेका सवारीसाधन कुरिनटारमै रोकिएका हुन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना-४ कुरिनटारमा रोकिएका सवारीसाधन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाण्डू उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको आवतजावत तीन दिनका लागि बन्द गरिएको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यसअगाडि नै शनिवारदेखि सोमवारसम्म कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको थियो।

शुक्रवार रातिदेखि देशका विभिन्न भागमा मध्यम वर्षा भइरहेको र केही स्थानमा भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यसैलाई मध्यनजर गर्दै प्राधिकरणले बाढी पहिरो र डुबान एवं त्यसबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरण गर्न पाँच प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाण्डू उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधनको आवतजावत आउँदो सोमवारसम्मका लागि बन्द गरिएको जनाएको हो।

शनिवार जारी गरिएको विज्ञप्तिमा प्राधिकरणले भनेको छ, "उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाण्डू उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन अनुरोध गरिन्छ।"

प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा आवतजावत भए नभएको अनुगमन र निगरानी निरन्तर गर्न पनि भनिएको छ।

काठमाण्डूको नागढुङ्गामा पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको भन्दै सवारीसाधन नचलाउन आग्रह गर्दै माइकिङ पनि गरिएको सामाजिक सञ्जालहरूमा देखिएको छ।

कहाँको अवस्था कस्तो छ?

विभागका अधिकारीहरूले कतिपय नदीहरूमा पानीको आकस्मिक बहावको सम्भावना उच्च रहेकाले सोमवारसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

ठूलो वर्षाको सम्भावनासँगै बिपी राजमार्गमा गत बिहीवारदेखि मङ्गलवारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्सलगायत अत्यावश्यक सेवाबाहेकका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो।

काभ्रे जिल्लाअन्तर्गत बिपी र अरनिको राजमार्गमा अविरल वर्षाको कारणले धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवै तर्फी सवारी साधन अनिश्चित समयको लागि होल्ड गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले एउटा सूचना जारी गर्दै खासगरी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहीवार नै रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं २ घट्टेखोलास्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित सुख्खा पहिरो खसेपछि त्यहाँको बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पनि पूर्ण रूपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ।

त्यसबाहेक पृथ्वी राजमार्ग सडकमा पूर्ण रूपमा अवरोध छ भने अरनिको राजमार्गमा पर्ने सडक भासिएका कारण अवरुद्ध भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक उडान पनि प्रभावित

देशका अधिकांशजसो भागमा वर्षा भइरहँदा सवारीसाधनमा मात्रै नभई आन्तरिक उडान पनि प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान शनिवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता रिन्जी शेर्पाले बीबीसीलाई बताए।

उनका अनुसार शनिवार बिहानैदेखि मौसम अनुकूल नदेखिएपछि आन्तरिक उडानहरू बन्द गर्ने निर्णय गरिएको हो।

"देशव्यापी रूपमै मौसम राम्रो नभएपछि हामीले आज (शनिवार) दिउँसो १ बजेसम्मका लागि सबै आन्तरिक उडान स्थगित गरेका छौँ। त्यसपछि मौसमको अवस्था हेरेर निर्णय गर्छौँ," उनले भने।

"मौसममा सुधार आएन भने आन्तरिक उडान त्यसपछि पनि नहुन सक्छ। तर हामी मौसम हेरेर फेरि निर्णय गर्छौँ।"

अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य रूपमै भइरहेको उनले जानकारी दिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।