कर्फ्यू आदेशपछि नेपालगञ्जको अवस्था 'नियन्त्रण उन्मुख'

नेपालगञ्ज तनाव
    • Author, बिमला चौधरी
    • Role, नेपालगञ्ज

सम्भावित साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि नेपालगञ्जको अवस्था नियन्त्रण उन्मुख भएको अधिकारीहरूले बताएका छन् ।

मङ्गलवार दिउँसो एक बजेदेखि कर्फ्यू आदेश जारी गरे पनि करिब तीन बजेसम्म विरोध प्रदर्शनहरू जारी रहेका थिए।

नेपालगञ्जका विभिन्न चोकमा नेपाली सेना तैनाथ गरिनुका साथै अश्रुग्याँस प्रयोग गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए।

नेपालगञ्जको बीपी चोक, त्रिभुवन चोक र टाँगा स्ट्याण्डमा ठूलो सङ्ख्यामा तीनवटै निकायका सुरक्षाकर्मी तैनाथ गरिएको बाँके प्रहरीले जनाएको छ।

ती क्षेत्रमा प्रदर्शनकारीहरूले घर भित्र लुकेर सुरक्षाकर्मीलाई समेत ढुङ्गा प्रहार गरेको एक प्रहरी अधिकारीले बताए।

प्रदर्शनकारीले बाटो छेउछाउका टहराका पसल र घरका सिसा तोडफोड तथा ढुङ्गामुढा गर्न थालेपछि कर्फ्यू आदेश जारी गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मङ्गलवार दिउँसो भएको झडपमा तीन जना सुरक्षाकर्मी सहित १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

सरकारको अपिल

सरकारले विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न अपिल गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विशेष प्रस्ताव पारित गर्दै धार्मिक, क्षेत्रीय, साम्प्रदायिक जस्ता विषयमा घृणा फैलाउने वा अवहेलना हुने कुनै काम नगर्न अपिल अनुरोध गरेको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

बैठकले सामाजिक सञ्जाल प्रयोग गर्दा “आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने” जस्ता सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि अपिल गरेको छ।

साम्प्रदायिक सद्‌भाव

नेपालगञ्ज

नेपालगञ्जको अवस्था सामान्य स्थितिमा ल्याउन कर्फ्यूको समयावधि लम्बिन सक्ने उनको भनाइ छ। कर्फ्यूको समयमा हुलहुज्जत गर्न खोज्नेलाई नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सन्तोषसिंह राठौरले ढुङ्गामुढा र तोडफोड भए पनि अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिए।

'सामान्य विवादबाट सुरु भएको विषय चर्कने सम्भावना देखिएपछि' प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको बाँके प्रशासनले जनाएको छ।

नेपालगञ्जमा केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै 'सामाजिक सद्‌भावमाथि प्रहार हुने खालको स्टाटस राखेको' भन्दै त्यसको विरोधमा सुरु भएको प्रदर्शन 'साम्प्रदायिक सद्भावमा खलल पुग्ने अवस्थामा पुगेपछि' प्रशासनले कर्फ्यू लगाएको जनाएको छ।

नेपालगञ्जमा कर्फ्यू आदेश

सैनिक

तस्बिर स्रोत, Kamal Khatri

ओमकार परिवारको नामबाट गौहत्यको विरोध गर्ने भन्दै निकालिएको जुलुसले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो।

आदेशमा कर्फ्यू नेपालगञ्ज उपमहानगरको पूर्वमा राप्ती नदीको पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर गेट, उत्तरमा राँझा चोक र जमुनाहा नाकासम्मको क्षेत्रमा लागु हुने जनाइएको छ।

मङ्गलवार दिँउसो १ बजेबाट सुरु भएको कर्फ्यू आदेश अर्को सूचना नआउँदासम्म जारी रहने बताइएको छ।

बुधवार पुन: अन्तर-धार्मिक सञ्जाल सहित सर्वदलीय बैठक बसेर समाधान खोजिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन्।

नेपालगञ्ज

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।