नाटक गरेर बनाइएका भिडिओबाट भारतमा बढ्दो धार्मिक घृणा र स्त्रीद्वेष

बुर्का लगाएका व्यक्तिले बच्चाको अपहरण गरेको दृशय

तस्बिर स्रोत, Twitter

तस्बिरको क्याप्शन, एक नाटकीय भिडि‌ओमा एक जना बुर्का लगाएका व्यक्तिले बच्चाको अपहरण गरेको देखाइन्छ
    • Author, अखिल रञ्जन
    • Role, बीबीसी ग्लोबल डिसइन्फर्मेशन टिम

भारतमा लाखौँ मानिसले हेरेको र शेअर गरेको एउटा भिडिओमा एक व्यक्तिले कालो बुर्का लगाएको र बच्चा बोकेको एक व्यक्तिमाथि आक्रमण गरेको देखिन्छ। त्यसपछि उनले मुस्लिम महिलाले लगाउने पोशाक, बुर्का लगाएका ती मानिसको अनुहारबाट जबरजस्ती बुर्का हटाइदिन्छन् जहाँ एक पुरुष देखिन्छन्।

उक्त भिडिओमा समावेश गरिएको सन्देशमा हिन्दी भाषामा केही अपराधीहरूले बुर्का लगाएर अनुहार छोप्ने र “बच्चाहरूको अपहरण गर्ने” भएकाले सबैलाई "सचेत" रहन चेतावनी दिइएको छ।

यसै वर्षको सुरुवातमा युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओ हटाइनुअघि २ करोड ९० लाखभन्दा बढी पटक हेरिएको थियो।

तर त्यसले वास्तविक घटनाक्रमहरू देखाएको थिएन। त्यो अभिनयमा रुचि राख्नेहरूले नाटक गरेर बनाएको एक काल्पनिक दृश्य थियो।

मनोरञ्जनका लागि बनाइएका अन्य कथानक भिडिओहरू पनि सामाजिक सञ्जालमा भारतमा घटेको वास्तविक घटनाको रूपमा शेअर भइरहेका छन्। त्यस्ता भिडिओहरू प्रायः झुटा दाबीहरू सहित फैलन्छन् जसले धार्मिक घृणा र स्त्रीद्वेषलाई बढवा दिएको बताइन्छ।

सन् २०१४ को मे महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएदेखि नै भारतमा धार्मिक समुदाय- विशेषगरी हिन्दु र मुस्लिमबीच तनाव बढ्दै गएको छ।

महिलाहरू

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, मुस्लिम समुदायलाई लक्षित गरी बनाइएका त्यस्ता भिडिओहरूमा महिलाविरुद्ध नैतिक आचरणको पहरेदारी देखिन्छ

यी समुदायहरूलाई लक्षित गरिएका थुप्रै झुटा कथाहरूले महिलाहरूविरुद्ध पनि 'मोरल पलिसिङ' अर्थात् नैतिक आचरणको पहरेदारीलाई प्रोत्साहन दिएका छन्।

नाटक गरेर भिडिओहरू बनाउने चलन हिन्दीसँगै तमिल, मलयालम, गुजराती, मराठी र तेलुगुसहित धेरै भारतीय भाषाहरूमा फैलिएको छ।

कहिलेकाहीँ स्थानीय सञ्चार माध्यमहरूले पनि मनोरञ्जनका लागि बनाइएका त्यस्ता भिडिओहरू समाचारमा गलत तरिकाले सम्प्रेषण गरेका छन्।

सार्वजनिक भएका अधिकांश भिडिओमा बालबालिकालाई अपहरण गर्नका लागि मानिसले बुर्का लगाएको देखाइएको छ।

यसको परिणाम वास्तविक जीवनमा देखिन सक्छ- विगतका केही वर्षहरूमा धेरै भारतीय राज्यहरूमा अपहरणकारीको आरोपमा कुनै व्यक्तिमाथि भिडले आक्रमण गरेपछि अधिकारीहरूले मिथ्या समाचारविरुद्ध चेतावनी जारी गर्नुपरेको छ।

जात र धर्मसम्बन्धी सामग्रीहरू

यी भिडिओहरू किन घातक छन्?

यी नाटक गरेर बनाइएका भिडिओहरू गलत सूचना रणनीतिका साथ फैलाइन्छन् जसले सामाजिक सञ्जालमा दर्शकहरूलाई भ्रमित तुल्याउन सक्छ। त्यस्ता केही भिडिओहरूमा यी अभिनय हुन् भन्ने चेतावनी जनाउने सन्देश पनि दिइएको हुन्छ तर ती प्रायः दृश्यहरूको बीच वा अन्त्यमा लुकाइए जसरी राखिएका हुन्छन्।

प्रायःजसो त्यस्ता चेतावनीका शब्द अङ्ग्रेजीमा राखिएका हुन्छन् जुन आमदर्शकहरूले नबुझ्ने सम्भावना हुन्छ।

अल्ट न्यूजले गरेको तथ्य जाँचका अनुसार बुर्का लगाएको मानिस देखिने मूल भिडिओ (जुन पछि कन्टेन्ट क्रिएटरले हटाए) मा वास्तवमा यो "काल्पनिक काम" भएको जनाइएको थियो। तर त्यो एक सेकेन्डसम्म मात्र देखिन्थ्यो।

अन्य कन्टेन्ट क्रिएटरहरूले पनि त्यस्ता भिडिओलाई थप यथार्थपरक देखाउन सीसीटीभी टेम्पलेटहरू राख्ने गरेका छन्।

सन् २०२१ को डिसेम्बरमा भाइरल भएको यस्तै एउटा भिडिओलाई विभिन्न भाषामा प्रमाणबिना 'मुस्लिम पुरुषले हिन्दु महिलाहरूको खानामा नशालु पदार्थ मिसाइदिन खोजेको' दाबीसहित साझा गरिएको थियो।

भिडिओमा आएका प्रतिक्रियाअनुसार अधिकांश प्रयोगकर्ताहरूले त्यो दृश्य सत्य भएको विश्वास गरे। उनीहरूमध्ये धेरैले त्यसलाई इस्लाम विरोधी, इस्लामोफोबिक भएको टिप्पणी गरेका थिए। “लभ जिहादबाट सावधान रहनुहोस्” एक जना प्रयोगकर्ताले टिप्पणी गरेका छन्।

मुस्लिम पुरुषले हिन्दु महिलालाई प्रलोभनमा पारेर उनीहरूलाई धर्मान्तरण गराइरहेको दाबी गर्ने षडयन्त्रको आशङ्कालाई “लभ जिहाद” भनिन्छ।

हैदरावादका एकजना युट्युब प्रयोगकर्ता वेङ्कट सीपानाले बनाएका अधिकांश भिडिओमा रेकर्डिङ भइरहेको सङ्केत वा समय अङ्कित गर्ने चिह्नजस्ता सीसीटीभी क्लिपहरू हुन्छन्। उनको युट्युब च्यानल करिब १२ लाख पटक सब्सक्राइब भएको छ र ४०० भन्दा बढी भिडिओ छन्।

सिपनाले बनाएको भिडिओको दृश्य

तस्बिर स्रोत, YouTube

तस्बिरको क्याप्शन, महिलामाथि दुर्व्यवहार गरेको देखाउने भिडिओ
हिन्दु पुरुषले मुस्लिम महिलालाई विवाह गरेको देखाउने भिडिओहरूका दृश्य

तस्बिर स्रोत, Twitter

तस्बिरको क्याप्शन, हिन्दु पुरुषले मुस्लिम महिलालाई विवाह गरेको देखाउने भिडिओहरूका दृश्य

एउटा भिडिओमा हिन्दु धर्मसँग सम्बन्धित भनिने केशरी रङ्गको पहिरन लगाएका एक व्यक्तिले आफूले बहिनीसँग विवाह गर्न लागेको दाबी गर्छन्।

अर्को भिडिओमा पहिलो भिडिओमा देखिएकी महिला बुर्का लगाएर ती पुरुषको छेउमा उभिएकी हुन्छिन्। तिनै महिलालाई हिन्दु धर्ममा धर्मान्तरण गर्नका लागि आफूले उनीसँग विवाह गर्न लागेको पुरुषले बताउँछन्।

ट्विटरमा केही प्रयोगकर्ताले ती क्लिपहरू प्रयोग गरेर भिडिओमा देखिएका व्यक्ति हिन्दु भएको र उनले आफ्नी बहिनीलाई मुस्लिम भएको नाटक गर्न अह्राएको दाबी गरेका छन्।

यी दुई भिडिओमा देखिएका पुरुष र महिला दुवै अन्य विभिन्न भिडिओमा पनि देखिएका छन् तथा फरक–फरक पात्रको चरित्र निर्वाह गरेका छन्।

त्यस्ता मूल भिडिओहरू चार लाखभन्दा बढी फलोअर्स भएको एक युट्युब च्यानलमा देख्न सकिन्छ जसले सामान्यतया नाटक गरेर बनाइएका भिडिओहरू राखिएको हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रातो मच्छिन्द्रनाथ: हिन्दू र बौद्ध धर्मका साझा देवता

बीबीसीले उक्त च्यानल सञ्चालन गर्ने विक्रम मिश्रलाई सम्पर्क गरी आफूले बनाएका भिडिओहरूलाई मानिसहरूले वास्तविक ठान्ने गरेकोबारे उनलाई कुनै जानकारी छ कि छैन भनेर प्रश्न गरेको थियो। उनको उत्तर थियो, "हामी सबै हिट हुन चाहन्छौँ। म समाजको ट्रेन्डअनुसार चर्चित हुने भिडिओ बनाउँछु।“

उनको “समूहका १२ जनाको जीविकोपार्जन युट्युब च्यानलबाट हुने आम्दानीमा निर्भर रहेकाले मनोरञ्जन र भ्यूजका लागि मात्र त्यस्ता भिडिओ बनाएको” मिश्रले बताए।

बीबीसीले अभिनय गरेर बनाइएका त्यस्ता भिडिओहरूका सम्बन्धमा तिनीहरूको नीति कस्तो छ भनेर प्रश्न गर्न विभिन्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूसँग पनि सम्पर्क गर्‍यो।

मेटाका एक प्रवक्ताले “फेसबुकमा हिंसा भड्काउने सामग्रीलाई निषेध गर्न स्पष्ट नियम रहेको” र ती नियमलाई उल्लङ्घन गर्ने कुनै पनि भिडिओ हटाइने बताए।

युट्युबले पनि “हिंसात्मक वा बीभत्स सामग्री निषेध गर्ने” र “भ्रामक सूचना वा गलत सामग्रीलाई हटाउने” कडा नीति रहेको बतायो।

यसअघि ट्विटरको रूपमा चिनिने एक्सले भने यस विषयमा प्रतिक्रिया जनाइसकेको छैन।

नाटकीय भिडिओ कसरी चिन्ने?

काल्पनिक कथामा आधारितजस्तो देखिने वा महसुस हुने धेरै भिडिओहरू मध्ये केही भारत बाहिरबाट पनि उत्पादन र साझा भएका हुन्छन्। भारत र अन्य एशियाली देशहरूमा सञ्चालित फ्याक्ट क्रेसेन्डोका प्रबन्ध सम्पादक हरिश नायरले भने, "तर त्यस्ता भिडिओहरूलाई भारतीयले विश्वास गर्छन् र देशभर भाइरल हुन्छन्। किनकि ती ‘अधिक रूढिवादी दर्शकहरूलाई लक्षित गरेर सम्प्रेषण गरिन्छ।’

भारतीयहरूले सार्वजनिक हितमा जारी गरिएको ठानेर त्यस्ता भिडिओहरू साझा गर्ने गरेको उनले ठानेका छन्।

उनका अनुसार त्यस्ता भिडिओहरू भारतमा प्रचलित मिथ्या सूचनाजस्तो प्रवृत्तिका होइनन्। तर तिनीहरूले "समाजमा ठूलो प्रभाव पार्छन् किनकि त्यस्ता भिडिओले पूर्वाग्रही विचार र भावनालाई प्रमाणित गर्छन्।“

दिल्लीस्थित डिजिटल अधिकारका लागि पैरवी गर्ने समूह इन्टरनेट फ्रिडम फाउन्डेसनका नीति निर्देशक प्रतीक वाघरे पनि उनको कुरामा सहमति जनाउँछन्। "यो समस्याको एक कारण मिडिया साक्षरता कम हुनु हो तर यो त्यस्तो समाजमा भइरहेको छ जहाँ सामाजिक विभाजनहरू छन् र मानिसहरू पहिले भिडिओमा देखाइए जसरी सोच्न बाध्य छन्।“

त्यस्ता भिडिओ वास्तविक हुन् वा नाटक गरेर बनाइएका भनेर जाँच गर्ने विभिन्न तरिकाहरू छन्।

भारतस्थित बहुभाषिक तथ्य जाँच गर्ने मिडिया न्यूजचेकरकी प्रबन्ध सम्पादक रुबी ढिङ्गराका अनुसार दर्शकले क्यामेराको कोण, घटना भएकोजस्तो देखिने स्थान, त्यसमा आएका प्रतिक्रिया र पात्रहरूको संवादमा प्रयोग गरिएको भाषालाई ध्यान दिनुपर्छ। यी पक्षहरूले दृश्यमा देखिएका मानिसहरू क्यामेरा अगाडि छन् वा क्यामेरा केन्द्रित भएको, उनीहरू बनावटी ढङ्गमा बोलिरहेको, अस्वाभाविक व्यवहार गरेको र आवश्यकताभन्दा बढी अभिनय गरेको बुझ्न मद्दत गर्छन्।

पूरा घटनाक्रम फरकफरक कोणबाट पूरै अवधिभर कुनै अवरोधबिना खिचिएको हुनु पनि “अति अस्वाभाविक” देखिने कुरा रहेकोमा ढिङ्गराले जोड दिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।