विज्ञापनमा महिलालाई गाईका रूपमा देखाएपछि दक्षिण कोरियाली दुग्ध उत्पादक माफी माग्न बाध्य

तस्बिर स्रोत, Seoul Milk
एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको सबैभन्दा ठूलो डेरी ब्रान्ड माफी माग्न बाध्य भएको छ।
सउल मिल्कद्वारा बनाइएको उक्त भिडिओमा एक जना पुरुषले चउरमा रहेका महिलाहरूको समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ। पछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन्।
उक्त विज्ञानपन सार्वजनिक भएपछि कम्पनीले सार्वजनिक आलोचना खेप्नुपर्यो।
त्यसपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो। तर इन्टरनेट प्रयोगकर्ताहरूले पुन: भिडिओ अपलोड गरेपछि त्यो भाइरल बनेको थियो।
केही मानिसहरूले विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई "मोल्का" प्रवृत्तिसँग तुलना गरेका छन्।
"मोल्का" भनेको गैरकानुनी रूपमा अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नु हो।
"गत महिना २९ तारिखमा सार्वजनिक भएको दूधको विज्ञापनबाट असहज महसुस गर्ने सबैसँग हामी माफी माग्छौँ," सउल मिल्कको माउ कम्पनी सउल डेरी कोअपरेटिभ्सले अनलाइनमा माफी माग्दै एउटा पोस्ट गरेको छ।
"हामीले उक्त कुरालाई गम्भीर रूपमा लिइरहेका छौँ र हामी आन्तरिक समीक्षा पनि गर्नेछौँ तथा आगामी दिनमा त्यस्तैखाले घटना नहोस् भनेर थप सजगता अपनाउनेछौँ। हामी क्षमा माग्दै हाम्रो शिर झुकाउँछौँ।"
उक्त भिडिओ एक जना क्यामेरा बोकेको मान्छे ग्रामीण इलाकामा घुमिरहेको दृश्यबाट सुरु हुन्छ।
"अन्तत: हामीले उनीहरूलाई पुरानो स्वच्छ स्थानमा क्यामेरामा कैद गर्न सफल भयौँ," भिडिओमा पुरुष आवाजमा भनेको सुनिन्छ।
त्यसपछि उसले महिलाहरूको एउटा समूहलाई लुकेर पछ्याइरहन्छ।
ती महिलाहरूले प्राकृतिक रूपमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा पुगेर योग गरेको देखिन्छ।
उनीहरूका गतिविधिलाई लुकेर उक्त व्यक्तिले क्यामेरामा कैद गरिरहेको हुन्छ।
अचानक उक्त व्यक्तिले दुर्घटनावश एउटा ढुङ्गामा आफ्नो पाइला राख्न पुग्छ।
त्यसपछि उसले योग गर्दै गरेका महिलाहरू गाईमा परिवर्तन भएको देख्छ।
उक्त विज्ञापन "स्वच्छ पानी, अर्ग्यानिक खाना, शतप्रतिशत सउल मिल्क। चोङ्गयाङ्को मनोहर प्राकृतिक स्थलको अर्ग्यानिक गाई पालन केन्द्रबाट अर्ग्यानिक दूध" भन्ने शब्दहरूका साथ टुङ्गिन्छ।
यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
YouTube पोस्ट समाप्त
उक्त विज्ञापनले विभेदयुक्त लिङ्गवाद र लैङ्गिक संवेदनशीलताबारे देशव्यापी बहस निम्त्याएको थियो।
तर उक्त बहसको विषय महिलालाई गाईका रूपमा प्रस्तुत गरिएकोमा मात्र सीमित थिएन।
केही मानिसहरूले लुकेर महिलाको समूहको भिडिओ खिच्ने पुरुषबारे पनि प्रश्न उठाए।
उनीहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियामा स्पाई क्यामेरासँग सम्बन्धित अपराध बढेको भन्दै त्यस्तो चिन्ता व्यक्त गरेका थिए।

तस्बिर स्रोत, Seoul Milk
मोल्का शब्दको शाब्दिक अर्थ "लुकाएर भिडिओ वा तस्बिर खिच्ने क्यामेरा" भन्ने हुन्छ।
मोल्का प्रवृत्ति दक्षिण कोरियाली महिलाका निम्ति एउटा समस्या बन्दै आएको छ।
सउल मिल्क नकारात्मक कार्यका कारण समाचारमा आएको यो पहिलो पटक भन्ने होइन।
सन् २००३ मा उक्त कम्पनीले सार्वजनिक मञ्चमा एउटा कार्यक्रम गरेको थियो। त्यसमा उसले नग्न मोडेलहरूलाई एकअर्कालाई दही छ्याप्न लगाएको थियो।
त्यस बेला कम्पनीका बजारीकरण प्रमुख र कार्यक्रममा हिस्सा लिएका मोडेलहरूलाई अश्लीलता फैलाएको आरोपमा जरिवाना लिइएको थियो।
[बीबीसी कोरियन सेवाका ह्योजङ्ग किमद्वारा अतिरिक्त रिपोर्टिङ गरिएको। ]









