दुई धार्मिक समूह बीचको विवादका कारण वीरगन्जमा पनि कर्फ्यू

दुई धार्मिक समूहबीच विवाद उत्पन्न भएको भन्दै दक्षिणी नेपालस्थित भारतसँग सीमा जोडिएको वीरगन्ज सहरमा स्थानीय प्रशासनले सोमवार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको आदेशमा सोमवार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको उल्लेख छ।
उक्त आदेशमा भनिएको छ, “…कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ।”
पर्साको छिमेकी रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको थियो।
त्यस्तै प्रकृतिको विवाद वीरगञ्जमा पनि देखिएपछि 'अवस्था संवदेनशील बनेको' स्थानीय प्रशासनको भनाइ छ।
कताकता लाग्यो कर्फ्यू?

दुई धार्मिक समुदायबीचको तनावका कारण रौतहटमा गत पाँच दिनदेखि कर्फ्यू जारी छ।
स्थानीय प्रशासनले जारी गरेको आदेशमा वीरगन्जको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा भन्सारको मितेरी पुलसम्म महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ।
यसअघि सोमवार दिउँसो प्रदर्शनकारीहरूले बजार बन्द गराउँदै हिंडेपछि ठाँउठाँउमा प्रहरीसँग झडप भएको थियो।
पसलहरूमा तोडफोड भएको र साम्प्रदायिक तनाव बढेकाले प्रहरीले हस्तक्षेप गरेको प्रजिअ भुसालले बताएका छन्।
तनावमाझ प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेको र भिड तितरबितर पार्न सुरक्षाकर्मीले १० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको बताइएको छ।

रौतहटको पछिल्लो अवस्था
पाँच दिनअघि दुई पक्षबीच विवाद भएर कर्फ्यू जारी भएको रौतहटमा अहिले अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।
यद्यपि अझै दुई पक्षबीच झडप र विवाद उत्पन्न हुनसक्ने सम्भावना देखिएकाले सतर्कतास्वरूप कर्फ्यू जारी राखिएको जिल्ला प्रशासन कार्यालय रौटहटका सूचना अधिकारी मणिभूषण शाहले बीबीसीलाई बताए।
उनले भने, “आज मूर्ति सेलाउने काम चाहिँ शान्तिपूर्ण रूपमा सम्पन्न भयो तर सतर्कतास्वरूप कर्फ्यू जारी राखिएको हो।”
“भोलि जिल्ला सुरक्षा समितिको बैठक बसेर परिस्थितिको मूल्याङ्कन गरेर मात्र हामी निर्णय गर्छौँ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








