पञ्चाङ्ग कसरी बनाउने भन्नेमा मतभेद, तिथिमिति र चाडपर्वमा कस्तो असर पर्ला

हातमा कलम बोकेर जन्मकुण्डली बनाउँदै एक ज्योतिषी, अगाडि पञ्चाङ्ग पनि देखिन्छ

तस्बिर स्रोत, BBC/Ashok Dahal

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

सर्वसाधारण नेपालीहरूले दिनानुदिन प्रयोग गर्ने पात्रोमा तिथिमितिको गणना गर्ने विधि अहिले ज्योतिषशास्त्रका विद्वान्‌हरूमाझ विवादको विषय बनेको देखिन्छ।

एकथरी ज्योतिषीहरू पहिलादेखि चल्दै आएको विधिबाट दायाँबायाँ गर्न नहुने मत राख्छन् भने अर्काथरी विद्वान्‌ चाहिँ खगोलीय पिण्डहरूको गति तथा अवस्था भौतिक रूपमै अवलोकन गरेर गणना गर्दा थप यथार्थपरक हुने तर्क गर्छन्।

पञ्चाङ्ग अर्थात् पात्रो निर्माणमा अकस्मात् परिवर्तन गरिँदा र अहिले उत्पन्न विवादका कारण तिथिमिति यताउता हुने र सांस्कृतिक चाडपर्वमै धक्का पुग्ने हो कि भन्ने संशय पनि केही सर्वसाधारण मानिसमा उत्पन्न भएको छ।

नेपालमा सूर्यसिद्धान्तलाई मुख्य आधार मान्ने ज्योतिषीय गणनाको विधिबाट पञ्चाङ्ग निर्माण गर्ने पुरानो परम्परा छ। केही आधुनिक मानिने केतकी सिद्धान्तअनुसार अन्तरिक्षमा ग्रहहरूको वास्तविक चाल र अवस्थितिको अवलोकन र मापनका आधारमा ज्योतिषीय गणना गरिन्छ।

पञ्चाङ्ग निर्माण तथा धार्मिक र सांस्कृतिक पर्वहरूबारे निर्णय गर्ने नेपाल सरकारको आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति हो। नेपालमा पात्रो र भित्तेपात्रो प्रकाशन गर्न उक्त निकायले स्वीकृति दिनुपर्छ भने उसैले दशैँ र तिहारजस्ता चाडपर्वमा शुभसाइत निकाल्दै आएको छ।

विवाद किन

ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करणसहितका पाँच अङ्ग भएको पात्रोलाई पञ्चाङ्ग भनिन्छ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी २०८३ सालको पात्रो २०८२ कै अनुरूप बनाइने जनायो। यद्यपि केही समयअघि एउटा सूचना जारी गर्दै समितिले २०८३ सालको पञ्चाङ्ग (पात्रो) केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेस गर्न निर्देशन दिएको थियो।

"२०८२ सालको पात्रोमा पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही र अन्य ग्रहहरू 'ज्योतिर्गणितम्' तथा 'केतकी ग्रहगणितम्'का आधारमा गणना गरी प्रकाशित गरिएको थियो," विज्ञप्तिमा भनिएको छ।

"विविध कारणबाट पञ्चाङ्ग रुजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने र थप छलफल गर्नुपर्ने देखिएकाले" भन्दै उसले २०८३ सालको पात्रो निर्माणमा साविककै शैली अपनाइने उल्लेख गरेको छ।

ज्योतिषशास्त्रसम्बन्धी हस्तलिखित ग्रन्थ

तस्बिर स्रोत, Getty Images

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका हालै नियुक्त कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले विगतमा सूर्य र चन्द्रमालाई सूर्यसिद्धान्तको आधारमा रहेर अनि बाँकी सात ग्रहलाई केतकी ग्रहगणितको आधार मानेर गणना गरिएको बताए।

"२०८३ सालको पात्रो चाहिँ सबै ग्रहका निम्ति सूर्यसिद्धान्तभन्दा केतकी सिद्धान्तको आधारमा गर्ने भन्ने समितिको निर्णय थियो। तर पछिल्लो समयमा पञ्चाङ्गकारहरूको गणना रुजु गर्ने क्रममा एकरूपता नभएको अवस्था देखियो। त्यसमा थप छलफल गर्नुपर्ने अवस्था आयो," पन्थीले बताए।

"तर सर्वसाधारण मानिसहरूलाई आगामी वर्षका मुहूर्तहरू आवश्यक भइसकेका हुनाले अहिलेलाई साविककै शैली अपनाउने निर्णय भएको हो।"

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्योतिषशास्त्रीहरूको भेला गराएर विस्तृत परामर्श गरेर अघि बढ्ने आफ्नो योजना रहेको उनले सुनाए।

फलित ज्योतिषमा अभ्यास गर्दै आएकी प्रीति आत्रेय ज्ञवाली सानो परिवर्तनले पनि धेरै फरक पार्ने हुनाले नयाँ प्रणाली अपनाउनुअघि सचेत हुनुपर्ने ठान्छिन्।

"हामीले यहाँ नेपालमा पढ्दै आएको अनि अभ्यास गर्दै आएको भनेको सूर्यसिद्धान्त नै हो। यसमा केही त्रुटिहरू छन् भने सुधार गर्दै जानुपर्छ। तर एकैचोटि अर्को प्रणाली अँगाल्दा जटिलता निम्तिन सक्छ," उनले भनिन्।

केतकी ग्रहगणित के हो?

अहिले केतकी ग्रहगणितको विषय विवादमा परेको छ। पुराना भारतीय ज्योतिषाचार्य वेङ्कटेश केतकरको नामबाट बनेको यो प्रणालीअन्तर्गत आकाशका पिण्डहरूको गति र अवस्था हेरेर पञ्चाङ्ग गणना गरिन्छ।

"विगतदेखि नै चन्द्रग्रहण, सूर्यग्रहण, शुक्रको उदय र अस्तजस्ता विषय सूर्यसिद्धान्तबाट गणना गर्दा केही फरक पर्ने भएकाले अनि केतकीय सिद्धान्तबाट गणना गर्दा अझ मिलेको अवस्था रहेछ। सूर्यसिद्धान्तमा मात्र भर पर्दा औँसी-पूर्णिमामा पर्ने सूर्य-चन्द्र ग्रहण प्रतिपदामा पुग्ने अवस्था रहेछ," पन्थीले भने।

तर केतकी सिद्धान्तको प्रयोग गर्न वेधशाला अनि सक्षम मानवस्रोत पनि आवश्यक पर्ने उनले बताए।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका भूतपूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी केतकी सिद्धान्त बढ्ता यथार्थपरक हुने बताउँछन्। उनकै पालामा आगामी पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गर्ने गरी समितिमा पेस गर्न सूचना जारी भएको हो।

उनका अनुसार अहिले नै पनि कैयौँ विषयहरू केतकी सिद्धान्तमै आधारित भएर गणना गर्न थालिसकिएकोमा अब "मानिसहरूलाई गुमराह"मा नराखेर त्यसलाई अँगाल्न खोजिएको हो।

मन्दिरमा दर्शन गर्न लामबद्ध भक्तालुहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गणना प्रणाली फरक हुँदा तिथि र चाडपर्वमा प्रभाव पर्छ कि भन्ने आशङ्का केही ज्योतिषीहरूले गरेका छन्

"पञ्चाङ्गमा तिथि, योगजस्ता अदृष्ट कुराहरू हामीले सूर्यसिद्धान्तका आधारमा राख्यौँ। तर आँखैले देखिने कुराहरू जस्तै - ग्रहण अनि दुई ग्रहहरूको योग गणना गर्न केतकी सिद्धान्तले बढी परिस्कार गरेको छ," प्राध्यापक अधिकारीले भने।

ग्रहहरूका उदय र अस्त अनि तिनको योगबारे व्यवहारमा नै फरक अवस्था देखा परेको समस्या उनले औँल्याए। उदाहरण दिँदै उनले बुध र सूर्य एकै ठाउँमा आएको भनियो तर यथार्थमा चार-पाँच दिनपछि मात्रै आकाशमा त्यस्तो देखिने स्थिति आएको बताए।

"त्यसकारण नदेखिने तिथि, नक्षत्र, योग, वार चाहिँ सूर्यसिद्धान्तबाट गन्ने अनि अरू देखिने विषयमा त केतकीमा नगईकन सुखै छैन भनेको हो," उनले बताए।

व्यवहारमा के फरक?

जनै पूर्णिमामा गुरुसँग जनै फेरिरहेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

नयाँ प्रणाली अपनाउँदा केही न केही सांस्कृतिक तथा व्यावहारिक प्रभाव पर्ने जानकारहरू बताउँछन्।

"सूर्यसिद्धान्तबाटै फलादेशहरू गणना गर्दै आइएको छ। अर्को प्रणालीमा जाँदा फरक त परिहाल्छ," ज्योतिषी प्रीति आत्रेय ज्ञवालीले भनिन्।

प्राध्यापक अधिकारी पनि प्रणाली परिवर्तन गर्दा तिथिमितिमा अलिकति घटबढ त भइहाल्ने बताउँछन्।

"किनभने सूर्यसिद्धान्तबाट गणना गरेको आकाशसँग मिल्दैन। आकाशसँग मिल्ने भनेको त केतकी सिद्धान्त नै हो। तर व्यवहार र संस्कृतिमा धेरै फरक पर्दैन। कुनैकुनै बेला एक-दुई घडीको फरकले पनि चाडपर्वमा फरक पर्न जान्छ। उदाहरणका लागि, एशिया र युरोपको सीमामा जानुभयो भने त त्यहाँ एकै मिटरको फरकले पनि महादेश फरक पर्न जान्छ। हो, त्यस्तो सन्धि समयमा फरक पर्ला, नत्र धेरै फरक पर्दैन।"

कैयौँ जानकारहरूचाहिँ चलिआएको पद्धतिबाटै पात्रो बनाउनु उपयुक्त हुने धारणा राख्छन्।

"सार्वजनिक वृत्तमा बहस र विवाद भएको देखिन्छ। तर समितिमा पञ्चाङ्ग बिगार्ने नियत वा नीति केही पनि छैन। हामीले अर्को प्रणाली अँगाल्ने हो भने पनि पर्याप्त छलफल अनि वेधशाला, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानजस्ता संस्थासँग समन्वय गरेर गरिन्छ," समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले भने।

केतकी सिद्धान्त भारतबाट आएको भए पनि त्यहाँ विभिन्न राज्य तथा स्थानहरूमा विभिन्न प्रकारले पञ्चाङ्ग गणना गर्ने चलन रहँदै आएको जानकारहरू बताउँछन्।

नेपालमा सरकारी स्तरमै पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको पात्रो देशभरि लागु हुने स्थिति छ।

विक्रम संवत् १९४६ मा पण्डित तोयानाथ पन्तले पहिलो पटक नेपाली पात्रो छपाएको मानिन्छ। उनका वंशजले अहिले पनि तोयानाथ पन्तको पञ्चाङ्ग प्रकाशन गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।