अधिकमासः दशैँ कसैले भदौमा मनाए, कसैले असोजमा -‍ तर यसपालि धेरैको टीका किन कात्तिकमा

चङ्गा उडाउँदै बालकहरू
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

भदौमा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएलगत्तै असोजमा घटस्थापना, अनि त्यसको दशौँ दिनमा विजयादशमी...। दशैँबारे सोच्नेबित्तिकै धेरैको मनमा आउने कुरा यही हो।

तर यसपालि? "अँ, सोह्रश्राद्ध सकिएको धेरै भइसक्यो तर अझै दशैँ आएको छैन," तपाईँलाई यस्तै लाग्दो हो।

हो, यसपालि पोहोरभन्दा दशैँ ढिलो छ। सरकारले छापेको भित्तेपात्रो र प्रचलनमा रहेका अधिकांश पञ्चाङ्गमा पोहोर असोज २१ गते दशैँको टीका थियो, यसपालि कात्तिक १ गते घटस्थापना र कात्तिक १० गते टीका परेका छन्। तिहार त झन् मंसिरमा पुगेको छ।

त्यसको कारण हो- सोह्रश्राद्ध र दशैँको बीचमा 'अधिकमास' पर्नु।

नेपालमा अधिकांश सांस्कृतिक र धार्मिक पर्वहरू तिथिका आधारमा मनाइने भएकाले यसपालि दशैँ र तिहार एक महिना पछाडि सरेका हुन्।

अधिकमास के हो?

अधिकमासलाई मलमास वा पुरुषोत्तम महिना पनि भन्छन्।

अधिकमास परेका वर्ष प्राय: भदौ महिनामा सोह्रश्राद्ध र कात्तिकमा दशैँ मनाइने गर्छ।

त्यसको कारणबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्षसमेत रहेका प्राध्यापक डा. माधव भट्टराई भन्छन्, "हाम्रो पञ्चाङ्गमा चन्द्रमान र सौर्यमान दुवै अनुसार गणना गरिन्छ। चन्द्रमानका आधारमा तिथिको चलन छ, सूर्यमान अनुसार गतेको।"

"यी दुईटा विधिअनुसार गरिने गणनामा हरेक वर्षका दिनहरू कम र बढी हुन्छन्। ती दिनहरू तीन वर्षमा जोडिएर एक महिना पुग्छ। त्यसलाई मिलाउनका लागि अधिकमास वा क्षयमास राख्नुपर्ने हुन्छ।"

ज्योतिषशास्त्रीहरूका भनाइमा सूर्यमानअनुसार एक वर्षमा ३६५ दिन १५ घडी र ३१ पला हुन्छ।

पिङ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

चन्द्रमानअनुसार भने एक वर्षमा ३५४ दिन २२ घडी र १ पला हुन्छ। त्यस आधारमा सूर्यमान तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी ३० पला फरक पर्छ।

त्यसलाई अर्को भाषामा भन्दा वर्षमा लगभग ११ दिन अन्तर आउँछ। त्यसलाई हिसाब गर्दा तीन वर्षमा लगभग ३३ दिनको अन्तर पर्छ।

त्यसलाई मिलाउँदा हरेक तीन वर्षमा अधिक वा क्षयमास पर्न जाने प्रा. भट्टराई बताउँछन्।

अधिक र क्षयमासमा के फरक छ?

अधिक होस् वा क्षय यस्तो महिनालाई चलनचल्तीमा मलमास नै भनिन्छ।

यो महिनामा 'पुरुषोत्तम'को व्रत लिइने भएकाले र केही धार्मिक कथाहरू जोडिएकाले धार्मिक तथा सांस्कृतिक रूपमा यसलाई 'पुरुषोत्तम' महिना भन्ने चलन पनि छ।

हिन्दू धार्मिक कथाहरू अनुसार 'पुरुषोत्तम' भनेका विष्णुको आठौँ अवतार कृष्णको अर्को नाम हो। तर अधिक र क्षयमासमा निकै फरक रहेको भट्टराई बताउँछन्।

"जस्तो यो वर्ष अधिकमास परेकाले असोज महिनाभित्र दुईवटा औँसी तिथि पर्‍यो। क्षयमासमा त्यस्तो हुँदैन," उनले भने।

"जुन वर्ष एकै महिनामा कुनै तिथि दुई पटक पर्छन् भने त्यसलाई अधिकमास भनिन्छ। कुनै महिनामा कुनै तिथि एक पटक पनि भएन भने त्यसलाई क्षयमास भनिन्छ। क्षयमास चाहिँ निकै दुर्लभ हुन्छ।"

धार्मिक मान्यता के छ?

अधिकमासमा शुभकार्य गर्नु हुँदैन भन्ने मान्यता छ।

रामलीला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

त्यसले यस महिना विवाह, व्रतबन्धलगायतका कार्य नगरिने गरिएको संस्कृतिविद्हरू बताउँछन्।

यसै महिनामा 'पुरुषोत्तम'को व्रत बस्ने र मालपुवा दान गर्ने चलन छ।

हिन्दू धर्मका भगवान् कृष्णसँग जोडिएको एउटा कथामा आधारित भएर यो व्रत सुरु भएको विश्वास गरिन्छ।

अधिकमासबारे किन विवाद?

अधिकमास गणनाबारे ज्योतिषविद्‌बीच विवाद देखिने गरेको छ।

विशेषगरी दृग्गणितवादी भनेर चिनिएका ज्योतिषीहरूले विभिन्न काल र समयको गणना सूर्यमानअनुसार मात्र गर्नुपर्ने भन्ने मान्यता राख्दै आएका छन्।

पूर्वीय पञ्चाङ्ग चलाउने समुदायका यो दृष्टिकोण राख्ने ज्योतिषहरूले लामै समयदेखि हाल चलनचल्तीमा रहेको पञ्चाङ्गको विरोध गर्दै आएको जानकारहरूको भनाइ छ।

विसं २०२० सालमा पनि त्यस्तै विवाद भएको ज्योतिषका ज्ञाता समेत रहेका इतिहासकार नयराज पन्तले लेखेका छन्।

संशोधन मण्डलले नै प्रकाशित गर्ने पूर्णिमाको २५ पूर्णाङ्कमा त्यस वर्ष पञ्चाङ्ग विवेचक समिति र दृग्गणितवादीबीच विवाद भएको उनले लेखेका हुन्।

पोखराको प्रसिद्ध मन्दिर विन्ध्यवासिनी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

त्यस क्रममा इतिहासशिरोमणि बाबुराम आचार्य पनि दृग्गणितवादीका पक्षमा उभिएको उनले उल्लेख गरेका छन्।

त्यसबाहेक नेपालमा वैदिक पञ्चाङ्गअनुसार काल गणना गरेर चलाउनुपर्छ भन्ने मान्यता राख्ने र पर्वको समय सच्याउनुपर्छ भन्नेहरूले पनि अहिले प्रचलनमा रहेको पात्रोलाई 'अशास्त्रीय र अशुद्ध' मान्दै आएका छन्।

उनीहरूका भनाइमा "वैज्ञानिक रूपमा ऋतु र महिनाहरू अघि सार्नुपर्ने" अवस्था आइसकेको छ।

त्यसै अनुसार पर्वहरूको सुधार गर्नुपर्ने माग पनि यो पक्षका ज्योतिषहरूले राखेका छन्।

वैदिक पञ्चाङ्गवादीहरूको तर्क के हो?

वैदिक पञ्चाङ्ग प्रयोगको अभियान चलाइरहेका र सोही पात्रो प्रयोग गर्दै आएका वाल्मीकि क्याम्पसका सहप्राध्यापक एवम् पूर्वमीमांसा तन्त्र विभागका विभागाध्यक्ष प्रमोदवर्धन कौण्डिन्न्यायन वैदिक पञ्चाङ्ग 'प्राचीन र ऐतिहासिक' भएकाले त्यसको महत्त्व रहेको बताउँछन्।

त्यस्तै गणनामा गल्तीका कारण अहिले चलिरहेको पात्रोमा कतिपय अशुद्धिहरू रहेकाले त्यसलाई सच्याउन पनि वैदिक पञ्चाङ्ग चलाउनुपर्ने उनको तर्क छ।

भित्तेपात्रो

तस्बिर स्रोत, doinepal.gov.np

हिन्दू धर्मको मूल ग्रन्थ मानिने वेदका छ अंगहरू छन्- शिक्षा, कल्प, व्याकरण छन्द र ज्योतिष।

उनी भन्छन्, "ज्योतिष पनि वेदाङ्ग भएकाले यसलाई वेदजस्तै गरेर अध्ययन गर्ने चलन रह्‍यो। तर पछि त्योअनुसार गणना पद्धति बसेन र अर्को पद्धति आयो त्यसलाई सिद्धान्त वा गणित ज्योतिष भनियो, जुन अहिले प्रचलनमा छ।"

"सिद्धान्त ज्योतिषमा ग्रहहरूको गणना गरेर चन्द्रमा र अरुको हिसाब निकालेर मान्ने चलन चल्यो। वेदाङ्गमा चाहिँ सूर्य र चन्द्रमाको गतिलाई लिएर गणना गर्ने र प्रयोग गर्ने बेलामा आकाशमा चन्द्रमाको गतिलाई हेरेर नै गर्ने चलन चल्यो।"

नेपालमा वैदिक पात्रोको प्रयोग कति?

वैदिक पञ्चाङ्ग वेदकै अङ्गका रूपमा आएको र नेपालमा लिच्छविकालसम्म लोकव्यवहारमा पाइएको दाबी यसको वकालत गर्नेहरूको छ।

कौण्डिन्न्यायन भन्छन्, "नेपालमा लिच्छविकालमा पाँचौँदेखि १०औँ शताब्दीसम्म वेदाङ्ग ज्योतिष मसिएको र त्यसैअनुसार अधिकमास मानिएको पाइन्छ।"

"मल्लकालमा चाहिँ यसको उल्लेख भएको पाइन्छ।"

उनका अनुसार ऐतिहासिक रूपले नेपालमा पछिसम्म यस्तो पञ्चाङ्गको निर्माण हुने गरेको तथ्य भेटिएकाले यो ऐतिहासिक पद्धति हो।

तर यसबारे उनका पिता वेदाङ्गज्योतिषविद् शिवराज आचार्य कौण्डिन्न्यायनले लामो अध्ययन गरेर पछि स्वाध्यायशालामा त्यसबारे पढाइ पनि भएको उनी बताउँछन्।

विसं २०५३ सालदेखि यो पात्रोबारे प्रचारप्रसार गरिएको र २०६७ सालबाट वैदिक पञ्चाङ्गको प्रकाशन पनि सुरु गरिएको उनले जानकारी दिए।

अहिले पनि वैदिक पञ्चाङ्ग मान्नेहरूले सोही पात्रोका तिथिमिति अनुसरण गर्ने गरेका छन्। तर उनीहरूको सङ्ख्या न्यून छ।

प्रचलनमा रहेका पञ्चाङ्गमा के फरक छ?

कौण्डिन्न्यायनका अनुसार हाल चलिरहेको पञ्चाङ्ग र वैदिकमा दुई/तीनवटा कुरामा सैद्धान्तिक रूपले नै भिन्नता रहेको छ।

अहिलेको चल्तीको पात्रोमा माघ १ गतेलाई उत्तरायण (सूर्य उत्तरतर्फ पर्ने) मान्छ भने साउन १ गतेलाई दक्षिणायन (सूर्य दक्षिणतर्फ पर्ने) मान्छ।

तर यो गणना १,५०० वर्षअघिको आधारमा गरिएकाले अहिले ठ्याक्कै नमिल्ने वैदिक पञ्चाङ्ग पक्षधरको भनाइ छ।

उनीहरूका अनुसार माघ १ गते सुरु हुने भनिएको उत्तरायण पुस ७ गते नै सुरु हुन थालिसकेको छ।

जमरा

तस्बिर स्रोत, Keshav P. Koirala / BBC

त्यसको प्रभाव ऋतु, महिनादेखि तिथिसम्ममा परेको उनीहरूको तर्क छ।

त्यसैले अहिलेको पात्रोलाई २४ दिन अघि सारेर तिथिमिति मिलाउनु पर्ने वैदिक पञ्चाङ्ग पक्षधरहरूले बताउँदै आएका छन्।

त्यस्तै तिथिमिति मिलाउने क्रममा अहिलेको पात्रो अनुसार कुनैबेला दशैँका तिथिहरू जस्तो फूलपाती र महअष्टमी वा महानवमी र विजयादशमीजस्ता तिथिहरू एकैदिन पर्ने पनि गरेका छन्।

कहिलेकहीँ एक दिन पछि सर्ने पनि गरेका छन्। वैदिक पञ्चाङ्गले भने यस्ता तिथिलाई खप्ट्याउने वा दुई दिन एउटै तिथि बनाउने गर्नु हुँदैन भन्ने सिद्धान्त बोकेको कौण्डिन्न्यायनले बताए।

अहिलेकै पात्रो पछ्याउने काठमाण्डू उपत्यकाका नेवार समुदायले पनि सो कुरालाई अहिलेसम्म पछ्याइरहेको उनी बताउँछन्।

वैदिक पात्रोमा कहिले हुन्छ अधिकमास?

अधिकमास कति वर्षमा आउँछ भन्नेमा पनि वैदिक पात्रो मान्ने र चलनचल्तीको पात्रो मान्नेबीच मतभिन्नता रहेको छ।

वैदिक ज्योतिषहरूले हरेक साढे दुई वर्ष वा ३६ महिनामा अधिकमास मिलान गर्ने गर्छन् भने अहिले चलनमा रहेको पात्रो मान्नेहरूले हरेक तीन वर्षमा।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जसलाई न दशैँ, न तिहार

त्यही फरकले गर्दा यसपालिको अधिकमास वैदिक पात्रो मान्नेले चाहिँ गत साल नै मानेका छन्।

उनीहरूका अनुसार गत वर्ष २०७६ सालको मंसिर ११ गतेदेखि पुष ९ गतेसम्म अधिकमास परेको थियो।

गत वर्ष नै अधिकमास परेको मानेकाले वैदिक पात्रो मान्नेहरूले यस पटकको दशैँ मनाइसकेका छन्।

वैदिक पात्रोअनुसार गत असोज १० गते विजयादशमी परेको थियो।

पर्व सुधार गर्न चाहनेहरू के भन्छन्?

पर्व सुधार गर्नुपर्ने माग गर्नेहरूले अरूले मनाउने समयभन्दा अगाडि नै दशैँ र अन्य पर्व पनि मनाउँदै आएका छन्।

उनीहरूका तर्कमा पर्व सुधार गर्दा मलमास परेकै वर्षबाट गणना गरेर सुधार गर्नुपर्छ।

पर्व सुधारको अभियान चलाउँदै आएका अभियानकर्मी हरिनारायण मल्ल भन्छन्, "वैज्ञानिक हिसाबले पनि हरेक ७२ वर्षमा एक दिन सर्ने रहेछ। त्यस हिसाबले करिब २,००० वर्षमा एक महिना पछि सर्ने देखिन्छ।"

"नेपालमा अहिले चलिरहेको पञ्चाङ्गको समय पनि निकै अघिदेखि चलिरहेको छ। पहिले माघे सङ्क्रान्तिलाई वर्षको सबैभन्दा छोटो दिन भनिन्थ्यो। अहिले त्यो छोटो दिन पुषको ६/७ गते आइसक्यो। त्यसैले हामीले एक महिनाअघि सार्नुपर्छ भनेको मतलब पुस १ गतेलाई नै माघ १ गते मान्नुपर्छ।"

उनी त्यसरी पर्व र महिना सार्नका लागि चाहिँ अधिकमास परेकै वर्षदेखि सुरु गर्नुपर्ने बताउँछन्।

टीका

आफूले चाहिँ सात वर्षअघिकै मलमासलाई आधार मानेर पहिले नै दशैँ मनाउँदै आएको मल्लको भनाइ छ।

उनले यो वर्षको दशैँ भदौमै मानिसकेको बताए।

"हरेक तीन वर्षमा अधिकमास मिलाउँदा पनि समय पूरा मिलिसकेको हुँदैन रहेछ। त्यो २,००० वर्ष पुगेपछि एक महिना फेरि अधिक हुने रहेछ। अनि त्यो समायोजन गर्ने कार्यलाई 'मन्वन्तर' भनिँदो रहेछ। त्यस्तै एक-एक महिना सारेर १२ महिना सर्नलाई २६,००० वर्ष लाग्दो रहेछ त्यसलाई एक कल्प भन्छन्।"

त्यसैलाई आधार मानेर अहिले भन्ने गरिएको मन्वन्तर नै परिवर्तन भइसकेको उनको दाबी छ।

त्यसबारे २०६५ सालमा नै सरकारले निर्णय समेत गरिसकेकाले अब आगामी मलमास आउने वर्षदेखि त्यसको कार्यान्वयन गर्नुपर्ने बताए।

त्यसबेला सरकारले गरेको निर्णय विवादमा परेको थियो र पञ्चाङ्ग निर्णायक समितिले पर्वहरू एक महिना अघि सार्ने सरकारी निर्णयअनुसार पञ्चाङ्ग बनाएको थिएन।

टीका

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कति वैज्ञानिक, कति शास्त्रीय?

उक्त विवादका बेला उक्त समितिका अध्यक्ष रहेका भट्टराई चाहिँ पर्व वा महिना अघि सार्नुपर्छ भन्ने मानिसहरूको मत वैज्ञानिक नभएको बताउँछन्।

"उहाँहरूको कुरा शास्त्रीय रूपमा पनि मिलेको छैन, वैज्ञानिक पनि छैन," उनले भने।

"मन्वन्तर सर्‍यो भन्ने उहाँहरूको मान्यता छ। त्यस अनुसार अहिलेसम्म २२/२३ दिन बढी भयो भन्ने छ। एक महिना अघि सार्नु भन्ने उहाँहरूकै मतअनुसार पनि वैज्ञानिक देखिएन नि!"

तर पञ्चाङ्गबारे अहिले खासै विवाद नरहेको र विश्वभरि सबै हिन्दूहरूले मान्ने गरेको अहिलेको पञ्चाङ्ग नै ठिक रहेको उनी बताउँछन्।

तर पर्व सुधारका अभियानकर्मी मल्ल आफ्नो कुरा वैज्ञानिक भएको दाबी गर्छन्।