नेपालगञ्जमा दशैँ: १५२ वर्षदेखि निरन्तर रामलीलाको रौनक

रामलीला
    • Author, ‏विमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली

दशैँको समयमा नेपालगञ्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि रामलीला मञ्चन हुँदै आएको छ।

राती मञ्चन हुने रामायणमा आधारित नाटक हेर्न भारतको विभिन्न जिल्लाबाट समेत हजारौँ दर्शकहरू आउने गरेका छन्।

भारतको मथुरा, दरबङ्गा र बनारसबाट कलाकारहरू आएर रामलीला मञ्चन गर्ने रामलीला सञ्चालक समितिले जनाएको छ।

यो वर्ष भारतको वृन्दावनका कलाकारहरू रामलीला नाटक मञ्चन गरिरहेका छन्।

नाटक मञ्चन

"यो वर्ष वृन्दावनका २२ जना कलाकारहरूको नाटक मञ्चन गरिरहेका छन्," समितिका प्रचारमन्त्री विष्णुलाल कुम्हाल बताउँछन्।

"यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए। नेपालको जनकपुरबाट पनि केही वर्ष अघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको थियो।"

नेपालगञ्जमा रामलीलाको इतिहास धेरै पुरानो रहेको अवध संस्कृतिका जानकारहरू बताउँछन्।

कुम्हालका अनुसार जंगबहादुर राणाले नेपालगञ्ज शहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो।

रामलीला

गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको कुम्हाल बताउँछन्।

रामलीलामा श्रीरामको जीवन चरित्र देखाइने कलाकारहरू बताउँछन्।

भगवान राम र सीताको जीवनलीलालाई कलाकारहरूले घटस्थापनादेखि प्रत्येक दिन राती ८ बजेदेखि १२ बजेसम्म मञ्चन गर्ने गर्छन्।

विजया दशमीको दिन रावणवध गरी एकादशीको रात भरतसँगको मिलाप र त्रयोदशीको रात रामको राज्याभिषेक गरी नाटक अन्त्य गरिन्छ।

नेपाली र भारतीय दर्शक

बाँकेको आसपासका जिल्ला दाङ, बर्दिया र सुर्खेतसहित भारत उत्तर प्रदेशबाट समेत हजारौँ दर्शक आउने गरेको पाइन्छ।

भारतको श्रावस्ती जिल्लाबाट रामलीला हेर्न आएका दर्शकहरूले १०/१२ वर्षदेखि निरन्तर अवलोकन गर्दै आएको बताउँछन्।

रामलीला

भारतको श्रावस्ती जिल्ला मल्हीपुर, लक्ष्मणपुरबाट आएका सन्जयकुमार भार्गव, जगतपाल भर्गव र गूर्दिन प्रसादले प्रत्येक वर्ष नेपालगञ्ज आएर रामलीला हेर्ने गरेको बताए।

नेपालगञ्जकी चन्दा सिंहले एकपटक हेरेपछि पनि वर्षैपिच्छे अब के हुन्छ भन्ने जिज्ञासा लागिरहने बताइन्।

रावणवध गरेको दिन दर्शकहरूको सङ्ख्या उल्लेख्य रहेकाले मैदान भरिभराउ हुने गरेको आयोजक बताउँछन्।

लाखौँ खर्च गरेर कलाकार

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ।

तर त्यही खर्चमा स्थानीय कलाकार उत्पादन गर्न सकिने अवध सांस्कृतिक परिषद्का अध्यक्ष सचितानन्द चौबेको धारणा छ।

उनले भने, "भारतीय कलाकारलाई खर्च गरिने पैसा स्थानीय कलाकारलाई दिए राम्रो अभिनय गर्न सक्छन्।"

रामलीलाका लागि सरकारको तर्फबाट कुनै आर्थिक सहयोग प्राप्त नभएको सञ्चालक समितिको गुनासो छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सरकारी मूल्यले खसीबोका व्यवसायी आक्रोशित