हिन्दूहरूले दशैँमा बलि दिएजस्तै अरू धर्ममा पशुबलिको परम्परा कस्तो छ

तस्बिर स्रोत, Getty Images
- Author, अर्ची अतन्द्रिला
- Role, बीबीसी विश्व सेवा
आज बडादशैँअन्तर्गत महाअष्टमी पर्व। नेपालका विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। पूजासँगे केही व्यक्तिहरूले मन्दिर तथा आआफ्ना घरमा समेत आज पशुबलि चढाउने गर्छन्।
नेपालमा केही समूह तथा संस्थाहरूले बेलाबेला पशुबलिको परम्पराको विरोध गर्दै आएको पनि सुनिन्छ। तर यसको प्रतिरक्षा गर्नेहरू पनि उत्तिकै छन्।
अरू मुख्य धर्ममा पशुबलिबारे कस्तो परम्परा छ? यहाँ हिन्दू, इस्लाम, यहुदी र इसाईहरूको प्रचलनबारे चर्चा गरिएको छ।
हिन्दू धर्म

तस्बिर स्रोत, BBC/Madhuri Mahato
हिन्दू धर्ममा पशुबलिको विषयमा विवाद देखिन्छ। तर केही सम्प्रदायमा बलि दिने चलन छ।
भारत, नेपाल र बाङ्ग्लादेशमा दशैँ वा दुर्गापूजा वा कालीपूजाका बेला पशुबलि दिइन्छ।
"रामायण र महाभारतजस्ता धेरै प्राचीन ग्रन्थ अनि पुराणहरूमा पशुबलिको प्रसङ्गहरू उल्लिखित छन्," बाङ्ग्लादेशस्थित चिट्टगोङ यूनिभर्सिटीको संस्कृत विभागमा प्राध्यापन गर्ने डा कुशलवरण चक्रवर्ती भन्छन्।
"ऋग्वेदमा बलि दिइएको पशुले मुक्ति पाउँछ भनिएको छ।"
ईशापूर्व १५०० देखि ५०० सम्म वैदिक कालमा पशुबलि सामान्य भएको मानिन्छ। बलि दिइएका पशुको मासु देवतालाई अर्पण गरेर मानिसहरू प्रसादस्वरूप ग्रहण गर्थे। तर वर्तमान भारतका विज्ञहरू पशुबलिको परम्पराबारे भिन्न मत राख्छन्।
दक्षिण एशियाका केही प्राचीन मन्दिरहरूमा अझै बलि चढाउने चलन छ। डा चक्रवर्ती बाङ्ग्लादेशमा ढाकेश्वरीको मन्दिर र भारतमा त्रिपुरासुन्दरी, कामाख्या र कालीघाट काली मन्दिरमा बलि चढाउने परम्पराले निरन्तरता पाएको बताउँछन्।
यद्यपि धर्मशास्त्री डा रोहिनी धर्मपाल आधुनिक भारतमा पशुबलि त्यति व्यापक नभएको ठान्छिन्।
धार्मिक उद्देश्यले नभई अहिले आत्मसन्तुष्टि, प्रतिस्पर्धा र आसक्तिका कारण मानिसहरूले पशुबलि दिने गरेको डा चक्रवर्ती ठान्छन्। उनी बलिको परम्परामा पवित्रता घटेको देख्छन्।
भारतमा केही समूहले स्वेच्छापूर्वक बलि परम्परा परित्याग गरेका छन्।
नेपालमा पशुबलि रोक्नुपर्ने आवाज उठ्दै आएको छ। केही मानिसहरूले चाडपर्व र देवालीमा बलि दिने चलन छोड्न थालेको पाइन्छ।
श्रीलङ्कामा पशुबलि दिन हिन्दूहरूलाई रोक लगाइएको छ।

तस्बिर स्रोत, Getty Images
इस्लाम धर्म
इस्लाम धर्मावलम्बीहरूको पर्व 'ईद अल-अज्हा'लाई 'बलिको पर्व' पनि भनिन्छ।
पैगम्बर इब्राहिम आफ्नै छोराको बलिदान दिन तत्पर भएको प्रसङ्गको स्मरण गर्न यो पर्व मनाउन थालिएको हो। इब्राहिमलाई इसाई र यहुदी धर्ममा अब्राहम भनिन्छ।
पैगम्बर इब्राहिमले सपनामा अल्लाहबाट आफ्ना छोरा इस्माइलको बलि दिन आदेश पाएको ठानिन्छ। त्यो कुरा इस्माइललाई सुनाउँदा उनी त्यसका लागि तयार भए र आफ्ना बुवालाई त्यसको पालना गर्न आग्रह गरे। इब्राहिमले छोराको बलि दिनै लाग्दा अल्लाहले रोके अनि इस्माइलको साटो बलि दिन भन्दै एउटा भेडा दिए।
विश्वका विभिन्न स्थानमा मुस्लिमहरू विभिन्न प्रकारका घरपालुवा जनावरको बलि दिन्छन्। आर्थिक क्षमता बलिया भएका मानिसहरूले बलि चढाउनैपर्ने प्रचलन मुस्लिम समुदायमा छ।
यहुदी धर्म

तस्बिर स्रोत, Getty Images
इस्लाम धर्मको इतिहास यहुदी र इसाई धर्मको इतिहाससँगै धेरै मिल्छ।
यहुदी धर्मग्रन्थहरूमा विभिन्न प्रकारका बलिबारे चर्चा उल्लेख गरिएको अनि कुन बलि कहाँ र कहिले दिने भन्ने निर्दिष्ट गरिएको यूकेस्थित र्याबाइ ग्यारी सोमर्स बताउँछन्।
"तर हिजोआज हामी ती बलिहरू दिँदैनौँ किनभने तोकिएका मन्दिरहरू अस्तित्वमा छैनन्। बरु हामी प्रार्थना गरेर बलिदानको सम्झना गर्छौँ," उनी भन्छन्।
अमेरिकन जूइश यूनिभर्सिटीका उपाध्यक्ष र्याबाइ डा ब्र्याड्ली शभिट आर्ट्सन पशुबलिको परम्परा कसरी भङ्ग भयो भन्ने बताउँछन्। "रोमनहरूले सेकन्ड टेम्पल ध्वस्त पारेपछि यहुदी धर्ममा पशुबलिलाई मान्यता दिन छोडियो। धेरैलाई अहिले यसमाथि पूर्ण प्रतिबन्ध लागेको छ भन्ने लाग्छ भने कसैकसैलाई मसिहाको आगमन भएपछि उक्त परम्परा बिउँताइन्छ भन्ने लाग्छ।"
उक्त धार्मिक स्थलले टेम्पल माउन्टतिर सङ्केत गर्छन्। जेरुसलेमको ओल्ड टाउनस्थित उक्त ठाउँमा अहिले अल-अक्सा मस्जिद छ।
यहुदीहरू त्यहाँ फेरि मन्दिर बनाउन चाहन्छन्। त्यहाँ मन्दिर बनेपछि पशुबलिको परम्परा बिउँत्याउन सकिने उनीहरूको धारणा छ।

मन्दिर नभएकाले अधिकांश यहुदीहरूले पशुबलि नदिएपछि जेरुसलेममा बसोबास गर्ने सम्यारिटनजस्ता समुदायहरूले अझै 'पासओभर'का बेला पशुबलि दिन्छन्। अरूले बलि दिने पशुबराबरको पैसा दान दिन सक्छन्।
भेडा, भैँसी, गाई वा बाख्रा जेको बलि दिने भए पनि उक्त पशु 'कोशर' अर्थात् बलि दिन योग्य हुनुपर्ने बताइन्छ। इतिहासबारे चर्चा गर्दै डा आर्ट्सन भन्छन्, "केवल कोशर पशुहरूको बलि दिन पाइन्थ्यो। तीमध्ये केहीलाई बलिवेदीमा जलाइन्थ्यो, केही पुजारीका परिवारलाई दिइन्थ्यो र केही चाहिँ दाता र तिनका परिवारलाई खान दिइन्थ्यो।"
अहिले सोझै बलि दिने परम्पराले निरन्तरता नपाएको भए पनि धेरै चाडपर्वमा मासु खाने चलन अभिन्न जस्तै छ। यहुदीहरूमा पशुबलि दिने चलनमा विविधता छ र उद्देश्यानुसार त्यो फरक पर्छ।

तस्बिर स्रोत, Getty Images
तीर्थाटन गरिने तीन पर्व - पेसाह (पासओभर), शभूअट (फीस्ट अफ वीक्स) र सुकस (फीस्ट अफ ट्याबर्न्याकल्स) - का अवसरमा पहिला पशुबलि दिइन्थ्यो।
र्याबाई ग्यारी सोमर्सका अनुसार रोश हशानाह (यहुदी नववर्ष) र योम किपुर (डे अफ अटोन्मन्ट) मा पनि बलि दिइन्थ्यो।
यहुदी धर्मग्रन्थमा पनि अब्राहमले आफ्ना छोराको बलि चढाउन खोजेको प्रसङ्ग आउँछ। यद्यपि पशुबलि दिने चलन पछि आयो र यहुदीहरूका लागि त्यो अलि पृथक् छ।
इसाई धर्म

तस्बिर स्रोत, Getty Images
इसाई मतको जरा यहुदी धर्ममा छ। यहुदी धर्मग्रन्थ र बाइबलको 'ओल्ड टेस्टमन्ट' बीच धेरै समानता छ।
"ओल्ड टेस्टमन्टका ग्रन्थहरू, विशेष गरी लेभिटिकस १७ र ड्यूटेरोनमीमा पशुबलि कसरी दिने भनेर विस्तारपूर्वक बताइएको छ। विभिन्न चाडपर्वका अवसरमा प्रायः बिहान र बेलुका दिने कुरा," ढाकास्थित कफरुल क्याथोलिक चर्चका पादरी डा प्रशान्त टी रेबेरो भन्छन्।
प्राचीनकालमा पश्चात्तापमा र नकारात्मक प्रवृत्तिका लागि क्षमायाचना गर्न पशुबलि दिइन्थ्यो।
यद्यपि जीजस क्राइस्टको मृत्युलाई सर्वोच्च बलिदान मानिएकाले पशुबलि दिने चलनलाई धार्मिक महत्त्व दिन छोडियो। इसाई धर्ममा जीजसलाई "ईश्वरको भेडा" ठानिन्छ।

तस्बिर स्रोत, Getty Images
पशुबलि दिने धार्मिक प्रावधान नभए पनि कसैले "भाकल" हालेको छ वा ईश्वरलाई "वचन" दिएको छ भने फरक किसिमले पशुबलि दिने गरिएको छ।
यहुदी धर्मसँगको सम्बन्धबाहेक इसाई धर्ममा सृष्टिकर्तालाई बलि चढाउने अरू प्रचलन नभएको डा रोबेरो औँल्याउँछन्।
इसाई धर्ममा मासु खान रोकतोक छैन। धेरै देशमा यहुदी पर्व पासओभरका बेला भेडाको मासु खाने चलन छ। इटलीमा ईस्टर पर्वअगाडि भेडाको मासु खानैपर्ने चलन भएको डा रोबेरो बताउँछन्।
तर इसाई धर्ममा चाहिँ यहुदीहरूले जस्तो पशु 'कुर्बान' गर्नुपर्ने परम्परा देखिँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








