'यसपालि हजमा जान मसँग पर्याप्त पैसा भएन'

मक्कामा भेला भएका तीर्थयात्रीहरू

तस्बिर स्रोत, Getty Images

    • Author, सैली नबिल
    • Role, बीबीसी न्यूज अरेबिक, कायरो

साउदी अरबको मक्कामा मुस्लिमहरूको वार्षिक तीर्थाटन हज आइवारबाट सुरु भएको छ। यस वर्ष उक्त यात्रामा लाखौँ तीर्थालु सहभागी हुने अपेक्षा गरिएको छ। तर विश्वव्यापी महँगीका कारण यो धार्मिक अनुष्ठान विश्वभरि धेरै मुस्लिमका लागि धान्न नसक्ने हुँदै छ।

“यो वर्ष उल्लेख्य रूपमा बुकिङ घटेको छ। धेरैका लागि यो निकै महँगो बनेको छ,” कायरोस्थित एक निजी यात्रा व्यवस्थापकले भने।

मुलुकको आर्थिक अवस्थाबारे गरेको टिप्पणीलाई लिएर हुनसक्ने आलोचनाका कारण उनले नाम खुलाउन चाहेनन्।

इजिप्टबाट साउदी अरबको यात्राका लागि सरकारद्वारा प्रायोजित सबैभन्दा सस्तो दर झन्डै ६,००० अमेरिकी डलर छ। यो गत वर्षको भन्दा दोबर हो।

अरब विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश इजिप्टका हज गर्न चाहने धेरै मानिस पवित्र सहर मक्कासम्मको यात्रामा लाग्ने खर्च तिर्न सङ्घर्षरत छन्।

हज इस्लामका पाँच आधार स्तम्भमध्ये एक हो। यस वर्ष जुनको २६ तारिख देखि जुलाईको १ तारिखसम्म हज हुँदै छ।

शारीरिक र आर्थिक रूपले सक्षम प्रत्येक मुस्लिमले आफ्नो जीवनकालमा एकचोटि हज गर्न अनिवार्य मानिन्छ।

‘हज मेरो सपना हो’

हज

स्थानीय मुद्राको अवमूल्यनका कारण इजिप्टमा महँगी निकै बढेको छ।

सन् २०२२ को मार्च महिनायता अमेरिकी डलरको तुलनामा इजिप्टको पाउन्डको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ।

परिणामस्वरूप इजिप्टमा जीवनयापनको खर्च अकासिएको छ जहाँ करिब ३० प्रतिशत जनसङ्ख्या ‘हातमुख जोड्ने’ समस्यामा छ।

अवकाशप्राप्त निजामती कर्मचारी फरिदा (परिवर्तित नाम) हज यात्राका लागि पाँच वर्षदेखि बचत गर्दै आएकी छन्।

“हज यात्राका लागि मैले जोगाएको पैसा नै पर्याप्त भएन। त्यसमा लाग्ने खर्च विवरण हेरेर म त स्तब्ध भएँ,” उनले भनिन्।

पाँच सन्तानकी आमा फरिदा एकल महिला हुन्। महँगीबारे गरेको टिप्पणीलाई लिएर हुनसक्ने सम्भावित आलोचनालाई लिएर उनले पनि वास्तविक नाम खुलाउन चाहिनन्।

तपाईँ किन हज यात्रा गर्न चाहनुभएको हो भन्ने जिज्ञासामा उनले भनिन्, “त्यो मेरो सपना हो। हजले आत्माको शुद्धीकरण गर्छ।”

उनका सबै सन्तान विवाहित छन्। “सामाजिक र आर्थिक दायित्वबाट अब मुक्त भइसकेकी छु,” उनले भनिन्। “अब मेरो लागि हज गर्ने समय भएको छ।”

यसअघि फरिदाले चार पटक 'उमराह' गरिसकेकी छन्। हज वर्षमा एक पटक निश्चित समयमा गरिने भए पनि उमराह जुनसुकै बेला गर्न सकिन्छ।

“हज भिसा पाउनुको सट्टा मैले तीन महिनाका लागि पर्यटक भिसा पाएँ र हज सुरु हुनुभन्दा एक महिनाअघि मक्का पुगेकी थिएँ।”

मक्कासम्मको सम्पूर्ण यात्राको खर्च अहिले हजमा लाग्ने खर्चभन्दा ८० प्रतिशतले कम भएको उनले बताइन्।

हज अनुदान

हजयात्रा वार्षिक रूपमा संसारमा हुने ठूला धार्मिक जमघटमध्ये एक हो।

हजका लागि हरेक वर्ष १५ देखि २० लाख मानिसहरू साउदी अरब पुग्ने गर्छन्।

सन् २०२० चाहिँ अपवादको रूपमा रह्यो। त्यसको कारण के हो भने त्यसबेला कोभिड महामारीका कारण प्रतिबन्धहरू घोषणा गरिएको थियो।

हजका लागि हरेक वर्ष १५ देखि २० लाख मानिसहरू साउदी अरब पुग्ने गर्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हजका लागि हरेक वर्ष १५ देखि २० लाख मानिसहरू साउदी अरब पुग्ने गर्छन्

साउदी अरबले प्रत्येक देशका लागि हजयात्रीको कोटा निर्धारण गर्ने गरेको छ।

सबैभन्दा ठूलो कोटा इन्डोनेशियाले पाउने गरेको छ। उक्त देशको जनसङ्ख्या २७ करोड छ र त्यहाँ विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसङ्ख्या छ।

जाकार्ताले दुई लाख २०,००० जनाको कोटा पाउने गरेको छ।

हजयात्राका लागि गत वर्ष झन्डै ६० प्रतिशत अनुदान दिएको इन्डोनेशियाले यसपालि घटाएर ५० प्रतिशतमुनि पुर्‍याएको छ।

यसपालि प्रत्येक हज यात्रीले करिब ३,००० अमेरिकी डलर खर्च गर्नुपर्ने भएको छ।

यमनका तीर्थालु

यो पवित्र यात्राका निम्ति विश्वभरि धेरै मुस्लिमका लागि आर्थिक पक्ष एउटा तगारोको रूपमा रहेका बेला युद्धग्रस्त यमनका जनताका लागि झन् जटिल विषय भएको छ।

सन् २०१५ यता साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान समर्थित हूथी विद्रोहीविरुद्ध यमनमा लडाइँ गर्दै आएको छ।

युद्धका कारण यमनमा विश्वकै सबैभन्दा ठूलोमध्ये एउटा मानवीय सङ्कट निम्त्याएको छ।

दुवै पक्षबीच युद्ध सुरु भएयता पहिलो पटक यमनका तीर्थालुहरू हजका लागि सीधै साउदी अरब पुगेका छन्।

युद्धका कारण दुई देशबीच व्यावसायिक उडानहरू सञ्चालनमा छैनन्।

राजधानी साना सन् २०१४ को सेप्टेम्बरयता नै हूथी विद्रोहीको नियन्त्रणमा रहिआएको छ।

यमनमा हजका लागि प्रतिव्यक्ति औसत खर्च ३,००० अमेरिकी डलर रहेको छ।

“अहिले लाग्ने खर्चभन्दा आधाभन्दा कममा म सन् २०१६ मा हज यात्रामा गएको थिएँ। अहिले मेरो लागि यो धेरै नै महँगो हो,” यमनका एक पत्रकारले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।