पैगम्बर मोहम्मद: के इस्लाम धर्मका संस्थापकको तस्बिर बनाउन सधैँ वर्जित गरिएको थियो

तस्बिर स्रोत, Getty Images
- Author, जन मकमानस
- Role, बीबीसी न्यूज
पैगम्बर मोहम्मदलाई सम्मानसहित चित्रण गर्न मिल्छ कि मिल्दैन भनेर इस्लाम धर्ममा जटिल विवाद रहेको छ।
धेरै मुसलमानहरूका अनुसार मोहम्मद वा अन्य कुनै इस्लामका पैगम्बरको तस्बिर बनाउन पूर्णतः निषेध छ। तस्बिर वा सालिकले मूर्तिको पूजालाई प्रोत्साहन गर्ने ठानिन्छ।
यो इस्लाम विश्वको अधिकांश ठाउँमा विवादरहित विषय हो। ऐतिहासिक रूपमा कुनै मुहार आकृतिभन्दा पनि ज्यामितीय वा कलात्मक लेखाइ इस्लामिक कलामा प्रभावशाली रहँदै आएको छ।
मुस्लिमहरूले कुरानमा लेखिएको एउटा पङ्क्ति उल्लेख गर्ने गर्छन् जसमा इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मान्ने गरेका इब्राहिमको धारणा समेटिएको छ।
पैगम्बर इब्राहिमले आफ्ना पिता र उनका मानिसहरूलाई सोधे, "तिमीहरूले यो के नचाहिने चिजको पूजा गरेको हो?"
जवाफमा उनीहरूले भने, "हाम्रा पूर्वजहरूले ती चीजहरूको पूजा गरेको हामीले देखेका छौँ।"
पैगम्बर इब्राहिमले भने, "नि:सन्देह तिमीहरू र तिमीहरूका पूर्वजहरू ती चीजलाई पूजा गर्न लायक ठान्ने कुरालाई लिएर भ्रममा छन्।"
तर कुरानमा प्रस्ट रूपमा नै पैगम्बरको तस्बिर उतार्न प्रतिबन्ध लगाइएको निर्णय कतै उल्लेख नभएको एडिनवरा विश्वविद्यालयकी प्राध्यापक मोना सिद्धिकी बताउँछिन्।
बरु उक्त अवधारणा हदिश नामक ग्रन्थबाट लिइएको थियो जसमा मोहम्मदको मृत्युपछि उनको जीवन र भनाइहरू समावेश छ।
मोहम्मदका चित्रहरू मुसलमान कलाकारहरूले कोरेको उदाहरण मङ्गोल र अट्टोमन साम्राज्य कालदेखि रहेको सिद्धिकी बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
कतिपयमा मोहम्मदको वर्णका विशेषताहरू लुकाइएका छन् तर त्यो उनी नै भएको प्रस्ट छ।
भक्तिबाट प्रेरित भएर मानिसहरूले ती चित्रहरू बनाएको उल्लेख गर्दै सिद्धिकीले मूर्ति पूजाको उद्देश्य राखेर त्यसो नगरिएको बताइन्।
चित्र कोर्न मिल्छ कि मिल्दैन्
उसो भए कहिलेबाट मोहम्मदको चित्र कोर्नु हराम वा वर्जित भयो?
मिशिगन विश्वविद्यालयको इस्लामवादी कलाका एशोसिएट प्रोफेसर क्रिस्टेन ग्रुबरले मूर्ति पूजा गर्ने अभ्यासबाट अलग गर्न १,३०० को वर्षदेखि मोहम्मदका धेरै तस्बिरहरू निजी रूपमा मात्रै हेर्न मिल्ने उद्देश्य राखिएको बताए।
उनले भने, "एक अर्थमा त्यो सम्भवतः गन्ने मान्ने मानिसहरूको पुस्तकालयमा राखिएका विलासिताका वस्तुहरू बन्न पुगे।"
ग्रुबरका अनुसार १८ औँ शताब्दीमा छापा माध्यमको व्यापक वितरण हुन थालेपछि त्यसले चुनौती थप्यो।
कतिपय मुसलमान भूमिमा युरोपेली शक्तिहरूको उपनिवेशीकरणले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन्।
इस्लामबाट त्यस्तो प्रतिक्रिया आउनुको मुख्य कारण आफ्नो धर्मलाई इसाई धर्मबाट अलग देखाउन जोड दिनु पनि रहेको उनी तर्क गर्छिन्।
मोहम्मदको चित्र त्यसपछि हराउँदै गयो र त्यसरी तस्बिर बनाउन नमिल्ने नयाँ बहसहरू व्यक्त गर्न थालिए।
तर यूकेको ठूलो मध्येको एउटा लिड्स मक्का मस्जिदका इमाम कारी आसिम त्यस्तो उल्लेख्य परिवर्तन भएको कुरा अस्वीकार गर्छन्।
हदिशले कुनै पनि जीवित बस्तुको तस्बिर कोर्न प्रतिबन्ध लगाएको उनी बताउँछन्। जस कारण मोहम्मदको तस्बिर बनाउन पनि निषेध लगाइएको उनले जानकारी दिए।
तर मध्ययुगीन समयमा बनाइएका तस्बिरलाई एउटा सन्दर्भमा हेर्नुपर्ने उनले बताए।
उनले भने, "ती मध्ये अधिकांश तस्बिरहरू अल्लाहको दर्शनका लागि स्वर्गको यात्रामा गएको प्रसङ्गसँग जोडिन्छन्। उनी घोडा वा त्यस्तै केहीमा हुन्छन्। क्लासिकल प्राज्ञहरूले त्यस्तो चित्रणलाई पनि कडा रूपमा निन्दा गरेका छन्। तर ती अस्तित्वमा छन्।"
स्पष्ट रूपमा ती मोहम्मदको चित्र होइनन्। असिम त्यस्ता चित्रमा कैयौँ विषयहरू अस्पष्ट रहेको उल्लेख गर्छन्।
उनका अनुसार ती आकृतिहरू मोहम्मदलाई चित्रण गर्न वा त्यही घटनामा संलग्न नजिकको मित्रलाई देखाउन कोरिएकाबारे प्रश्नहरू रहेका छन्।
युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक ह्यु गोडार्ड अवस्थामा परिवर्तन देखिएको बताउँछन्।
उनका अनुसार आधारभूत स्रोतहरू जस्तै कुरान र हदिशमा नै एकमत छैनन्।
अरब मामिला विज्ञ मोहम्मद बिल अब्द अल वाहावको शिक्षाले सुन्नी इस्लामको एउटा मूल साउदी अरेबियामा विकास गर्न प्रमुख भूमिका खेलेको थियो।
गोडार्डका अनुसार वाहावको अभियानसँगै उक्त बहस अझ चर्किएको छ। त्यसमा अल्लाहबाहेक अरू कसैको पूजा गर्नुलाई शङ्कास्पद रूपले लिने गरिएको उनी उल्लेख गर्छन्।
फरक-फरक अभ्यास
पछिल्लो २०० देखि सम्भवतः ३०० वर्षसम्म उल्लेख्य परिवर्तन देखिएको उल्लेख गर्दै उनले मूर्ति वा अन्य कुनै किसिमको प्रतिनिधित्वमा निषेध सधैँ प्रस्ट भएको बताए।
सिद्धिकीका अनुसार तस्बिरप्रतिको त्यस्तो अरुचिका कारण कुनै पनि जीवित मानव वा जनावरको तस्बिर घरमा राख्न समेत अस्वीकार गर्ने समेत देखिएको छ।

तस्बिर स्रोत, Getty Images
तर यस्तो निषेध सबैतिर भने देखिदैँन। कैयौँ शिया मुसलमानहरूले केही फरक दृष्टिकोण राख्ने गरेका छन्।
मोहम्मदका आधुनिक तस्बिरहरू अझै पनि मुसलमान विश्वका विभिन्न ठाउँमा उपलब्ध रहेको हाल जर्मनीमा रहेका एक जना पूर्वइरानी धर्मगुरु हसन युसेफी इस्काभरी बताउँछन्।
उनले बीबीसीलाई बताए अनुसार मोहम्मदका तस्बिरहरू अहिले पनि कैयौँ इरानीहरूका घरमा झुन्ड्याइएका छन्।
मुसलमानहरूबीचको फरक परम्परागत शिया र सुन्नी मान्यता अनुसार देखिन्छ।
तर ग्रुबर ऐतिहासिक रुपमा नै प्रतिबन्ध थियो भनेर दाबी गर्नेहरू गलत रहेको बताउँछन्।
तर त्यो तर्क धेरै मुसलमानहरूले स्वीकार गर्दैनन्।
इन्स्टिच्युट अफ इस्लामिक पोलिटिकल थटका पूर्व प्रमुख डा. आजम तमिमि भन्छन्, "कुरान स्वयंले केही पनि भनेको छैन। तर सबै इस्लामवादी निकायहरूले पैगम्बर मोहम्मद र अरू पैगम्बरहरूको चित्र कोर्न नहुने र तस्बिर बनाउन नहुने कुरा स्वीकार गरेका छन्।"
"इस्लामको आस्था अनुसार उनीहरू आदरणीय व्यक्तित्व र रोल मोडलहरू हुन्। त्यही भएर कुनै पनि हिसाबले उनीहरूको सम्मानमा आँच आउने ढङ्गले प्रस्तुत गरिनुहुँदैन।"
मध्यकालमा मोहम्मदको चित्रणमाथि पूर्ण निषेध गरिएको भन्ने तर्कप्रति उनी सहमत छैनन्।
उनले भने, "यदि त्यस्तो थियो भने पनि इस्लामका ज्ञाताहरूले त्यसको निन्दा गर्थे।"








