भारत: ३०० वर्ष पहिले मृत्यु भएका मुगल सम्राट् औरङ्गजेब अहिले किन चर्चामा आए?

औरङ्गजेब

तस्बिर स्रोत, Getty Images

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज हिन्दी

तीन सय वर्ष पहिले मृत्यु भएका एक जना मुगल सम्राट् हालैका वर्षमा भारतमा चर्चाको विषय बनेका छन्।

अन्तिम मुगल सम्राट्का रूपमा चिनिने औरङ्गजेबले सन् १६५८ देखि १७०७ सम्म करिब ५० वर्ष भारतमा शासन गरे तर इतिहासकारहरूका नजरमा उनी राम्रा व्यक्ति थिएनन्।

उनको शासनको सुरुवात नै आफ्ना पितालाई थुनेर र दाजुको हत्या गरेर भएको मानिन्छ।

अन्य मुगल शासकहरूको तुलनामा उनले गरेका कार्यका लागि पनि उनको आलोचना गरिन्छ।

उनका जिजुबाजे अकबर धर्म निरपेक्ष शासन सुरु गर्नेका रूपमा चिनिएका थिए भने उनका हजुरबुबा जहाँगीर कला र वास्तुकलाका पारखीको रूपमा परिचित भए।

उनका बुबा शाहजहाँ ताजमहल निर्माण गर्ने रसिक व्यक्ति थिए। तर मुगल साम्राज्यका छैटौँ शासक औरङ्गजेब धर्मनिष्ठ मुस्लिम थिए।

उनलाई एक विस्तारवादी र निर्दयी शासकको रूपमा वर्णन गरिएको छ।

उनले हिन्दु बासिन्दाहरूलाई संरक्षणका लागि लिइने भेदभावपूर्ण जिज्या कर लगाउने पुरानो सरिया कानुन लागु गरे।

उनलाई सङ्गीत र कला मन नपराउने शासनको रूपमा वर्णन गरिएको छ।

साथै धेरै मन्दिरहरू नष्ट गर्न आदेश दिएको आरोप पनि उनीमाथि छ।

उनका यस्ता गतिविधि मध्य युगका थिए तर यी सबै कामका लागि उनले हालै आएर अभूतपूर्व घृणा पाइरहेका छन्।

किन अहिले चर्चामा?

यसको सुरुवात चाहिँ वाराणसीमा ज्ञानवापी मस्जिदको पुन: निर्माणको थालनीबारेको विवादसँगै भएको हो।

यो मस्जिद औरङ्गजेबको आदेशमा सन् १६६९ मा नष्ट गरिएको हिन्दु मन्दिर विश्वनाथको भग्नावशेषमा निर्माण भएको थियो।

अहिले उनको नाम हजारौँ अपमानजनक सन्दर्भहरूसहित सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ।

उनको नाम अदालतका फाइलहरूमा पनि भेटिन्छ र वर्तमान हिन्दु राष्ट्रवादी शासकहरूले पनि लिइरहेका छन्।

गत डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले "औरङ्गजेबको अत्याचार र आतङ्क"बारे वाराणसीमा भएको एक कार्यक्रममा बोले।

के भने भारतीय प्रधानमन्त्रीले?

"उनले तरबारको बलमा सभ्यता परिवर्तन गर्न खोजे। उनले संस्कृतिलाई कट्टरताले पेल्न खोजे," मोदीले भने।

धर्म परिवर्तन गर्न अस्वीकार गरेका कारण टाउको काटिएका सिख गुरु तेग बहादुरको ४००औँ जन्मजयन्तीमा गत महिना पनि मोदीले तिनै मुगल सम्राट्को नाम लिए।

"औरङ्गजेबले जति धेरै टाउको काटे पनि हाम्रो आस्था डगमगाउन सक्दैनन्," मोदीले भने।

मोदीको भाषणले एक जना क्यानेडेली-अमेरिकी पत्रकारलाई समेत चकित पारेको जस्तो देखियो।

उनले ट्विटरमा सोधे: "भारतीय प्रधानमन्त्रीले किन ३०० वर्षअघि मृत्यु भएका मुगल सम्राट्लाई गाली गर्दै लामो भाषण गरिरहेका छन्?"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ट्वीट लहरोमा इतिहासकार अड्री ट्रस्कीले यसको जवाफ दिएकी छिन्।

उनले हिन्दु राष्ट्रवादीहरूले विश्वास गर्ने कुराबारे भनेकी छिन्, "मुस्लिमहरूले हिन्दुहरूलाई सयौँ वर्षसम्म थिचोमिचो गरेका कारण विगतको बदला स्वरूप अहिले उनीहरूले पनि दमन सहनुपर्छ।"

उनले औरङ्गजेबको नाम "अहिलेका मुस्लिमहरूमाथि घृणा गर्न र हिंसा गर्न स्वीकार्य छ भन्ने सङ्केतको रूपमा" प्रयोग भएको बताएकी छिन्।

ट्विटरको यो बहसपछि औरङ्गजेबमाथि थप घृणा बढेको छ।

आगरा सहरका मेयरले उनलाई एक "कसाई"को उपमा दिँदै उनका सबै निशानहरू सार्वजनिक स्थानबाट हटाइनुपर्ने धारणा राखेका छन्।

ट्विटरमा उनलाई सबै हिन्दुहरूलाई समाप्त पार्न चाहने एक आक्रमणकारीको संज्ञा दिइएको छ।

एक जना ट्विटर प्रयोगकर्ताले हिन्दुका पूजास्थलहरूमा बनाइएका सबै मुगल स्मारकहरूमा डोजर चलाइनुपर्ने माग गरेका छन्।

पश्चिमी राज्य महाराष्ट्रमा बिहीवारबाट उनको चिहान अवलोकनका लागि बन्द गरिएको छ।

क्षेत्रीय राजनीतिज्ञहरूले यसको अस्तित्वको आवश्यकताबारे प्रश्न उठाउँदै नष्ट गर्न भनेपछि बन्द गरिएको बताइएको छ।

मस्जिद

तस्बिर स्रोत, Getty Images

अलीगढ मुस्लिम विश्वविद्यालयका मध्ययुगीन इतिहासका लेखक प्राध्यापक नदीम रेजवी पछिल्ला वर्षहरूमा हिन्दु भिडबाट हिंसा भोगिरहेका अल्पसङ्ख्यक भारतीय मुस्लिमहरूको दानवीकरणका लागि औरङ्गजेब एक देखाउने नाम भएको बताउँछन्।

रेजवीका अनुसार यी मुगल सम्राट्ले धेरै हिन्दु मन्दिरहरू भत्काउनुका साथै हिन्दुहरूमाथि भेदभावपूर्ण कर लगाए पनि उनी सम्पूर्ण रूपमा खराब व्यक्ति भने थिएनन्।

"उनले हिन्दु मन्दिरहरूका लागि सबैभन्दा धेरै अनुदान दिएका थिए। उनी आफैँ पनि रगतका नाताले दुईतिहाइ हिन्दु थिए। किनभने उनका जिजुबाजे अकबरले हिन्दु राजपूतसँग विवाह गरेका थिए र उनको शासनकालमा अरू मुगल सम्राट्हरूको तुलनामा उच्च तहमा धेरै राजपूतहरू थिए," उनी भन्छन्।

चर्चित धारणाको विपरीत प्राध्यापक रेजवी औरङ्गजेब कट्टरपन्थी नभएको बताउँछन्।

"उनले रक्सी पिउँथे र हिन्दु देवीले बजाउने वीणा बजाउँथे। उनको शासनकालमा अरू कुनै मुगलहरूको शासनकालमा भन्दा धेरै सङ्गीतका पुस्तकहरू लेखिए," रेजवी भन्छन्।

भारतका वर्तमान नेताहरूजस्तै औरङ्गजेबले पनि आफ्नो असफलता ढाक्न र शक्ति सञ्चय गर्न धर्मको सहारा लिएको उनी बताउँछन्।

"उनी एक तानाशाह नै भए पनि ३०० वर्ष अघिको कुरा हो जुन समय लोकतन्त्र र मार्गदर्शक संविधान थिएन," रेजवी भन्छन्।

"अहिले हामी भारतको संविधान र संसद्ले बनाएको कानुनबाट निर्देशित छौँ। अहिले पनि हामीले १६औँ वा १७औँ शताब्दीका कामको नक्कल गर्न सुहाउँछ?"

अहिले पनि १७औँ शताब्दीको राजनीति प्रति मोह गर्नु औरङ्गजेबले गरेको भन्दा ठूलो अपराध हुने उनको जिकिर छ।