भारतः ताजमहलका बन्द कोठाहरूभित्र कस्तो रहस्य लुकेको होला?

तस्बिर स्रोत, AFP
- Author, सौतिक बिश्वास
- Role, भारत संवाददाता
भारतको एक विश्वप्रसिद्ध स्मारक ताजमहलमा रहेका कोठाहरूमा के कुनै रहस्यमय कुराहरू हुन सक्लान्?
भारतको एउटा उच्च अदालतका न्यायाधीशहरू त्यस्तो ठान्दैनन्।
बिहीवार उनीहरूले भारतको सत्ताधारी भारतीय जनता पार्टीका एक सदस्यले ताजमहलमा "स्थायी रूपमा" बन्द रहेका २० वटा भन्दा बढी कोठाहरू खोलिनु पर्ने माग गर्दै दायर गरेका निवेदन खारेज गरिदिएका छन्।
त्यो निवेदनको उद्देश्य उक्त स्मारकको "वास्तविक इतिहास पत्ता लगाउनु रहेको" दाबी गरिएको थियो।
रजनीश सिंहले त्यहाँका कोठाहरूमा हिन्दु देवता शिवको मन्दिर भएको हुनसक्ने भनी "इतिहासकारहरू र धार्मिक श्रद्धालुहरूले गरेका दाबी" परीक्षण गर्न खोजेको अदालतलाई बताएका थिए।
ताजमहल आगरा सहरमा नदी किनारमा अवस्थित १७औँ शताब्दीमा बनेको समाधिस्थल हो।
मुगल सम्राट् शाहजहाँले रानी मुमताजको सम्झनामा यसको निर्माण गराएको बताइन्छ।
मुमताजको १४औँ सन्तान जन्माउने क्रममा निधन भएको थियो। इट्टा, रातो ढुङ्गा र सेतो सिंहमरमरले बनेको उक्त आकर्षक स्मारक त्यसमा कुँदिएका मिहिन र जालीदार बुट्टाहरूको कारिगरीका लागि प्रसिद्ध छ र त्यो भारतको सबैभन्दा ठूलो पर्यटकीय आकर्षण हो।
तर अदालतमा निवेदन दिएका सिंहले हालसम्म स्वीकार्य इतिहासप्रति असहमति जनाएका छन्।
उनले अदालतमा भने, " त्यहाँका बन्द कोठाहरूमा के छ, त्यो हामी सबैले थाहा पाउनु पर्छ।"

तस्बिर स्रोत, HULTON ARCHIVE/ GETTY IMAGES
उनले अदालती निवेदनमा उल्लेख गरेकामध्ये अधिकांश कोठाहरू उक्त समाधिस्थलको भूमिगत तल्लामा रहेका छन्।
र उक्त स्मारकका बारेमा उपलब्ध भएका सबैभन्दा आधिकारिक विवरणहरूले समेत ती कोठाहरूमा त्यस्तो केही उल्लेखनीय नभएको बताउँछन्।
मुगलकालीन स्थापत्यकलाका एक अग्रणी अनुसन्धानकर्ता र ताजमहलसँग सम्बन्धित एक सम्मानित अनुसन्धान विवरणकी लेखिका एब्बा कोखले अनुसन्धानको क्रममा त्यहाँ रहेका कोठा र बाटोहरूको तस्बिर खिचेकी छन्।
ती कोठाहरू ताजमहलमा चर्को गर्मीको मौसममा प्रयोग गरिने तहखाना भनिने भूमिगत कोठाहरूको एक भाग थिए।
उक्त स्मारकको नदीतर्फ खुला रहेको भागमा अवस्थित ग्यालरीमा "लहरै केही कोठाहरू" रहेका छन्। लेखिका कोखले नदीतर्फ फर्किएका १५ वटा कोठाहरू लहरै रहेका र त्यहाँ जाने बाटो साँघुरो रहेको बताएकी छन्।
भिएना विश्वविद्यालयमा एशियाली कला विषयकी प्राध्यापक कोख भन्छिन्," ती कोठाहरू कुनै समय सुन्दर र हावा खेल्ने खालका हुनुपर्छ। र सम्राट् र उनका भ्रमण टोलीका जनानाहरू उक्त समाधिस्थलमा आउँदा शीतल अनुभव गर्न ती कोठाहरूको प्रयोग गर्ने हुन सक्छ।"
"अहिले ती कोठाहरूमा प्राकृतिक उज्यालो छिर्दैन।"
त्यस्ताखाले भूमिगत कोठाहरू मुगल स्थापत्यकलाका परिचित संरचनाहरू नै हुन्। पाकिस्तानको लाहोर सहरमा रहेको एक मुगलकालीन किल्लामा नदीतर्फ फर्केको भागमा लहरै त्यस्ता कोठाहरू रहेका छन्।
शाहजहाँले अक्सर यमुना नदीमा डुङ्गा चढेर ताजमहलको भ्रमण गर्ने गरेको बताइन्छ। नदी छेउमा ढुङ्गाले बनेको घाटमा डुङ्गाबाट ओर्लेर उनी ढुङ्गाकै सिँढी उक्लेर ताजमहलसम्म पुग्ने गर्थे।

तस्बिर स्रोत, AFP
आगरामा हुर्केका तर हाल दिल्ली बस्ने इतिहासकार राना साफ्भि पनि सन् १९७८ सम्म ताजमहलमा रहेका ती भूमिगत कोठाहरूमा आगन्तुक पर्यटकहरूलाई पनि प्रवेश गर्न दिने गरिएको सम्झन्छन्।
"उक्त स्मारकमा पानी पस्न थालेको, केही भूमिगत कोठाहरूमा माटो र बालुवाको लेदो जम्न पुगेको र भित्ताहरूमा चिरा समेत पर्न थालेको थियो। त्यसपछि अधिकारीहरूले त्यहाँ सर्वसाधारणको प्रवेशमा रोक लगाएका थिए," उनी भन्छिन्।
"ती कोठाहरूमा केही पनि छैन।"
ताजमहलमा विभिन्न कथाहरू
ताजमहलबारे प्रचलित कथामा शाहजहाँले अहिलेको ताज महलको ठिक अगाडि अर्को "कालो ताजमहल" बनाउने योजना गरेका थिए भन्ने पनि छ।
त्यस्तै ताजमहलको निर्माण युरोपेली कलाकारहरूले बनाएका हुन् भन्ने पनि छ।
केही पश्चिमा विद्वानहरूले मुस्लिम समाजमा महिलाहरू स्थान उच्च नहुने हुँदा एक जना महिलाको सम्झनामा त्यस्तो भव्य स्मारक बन्न नसक्ने दाबी पनि गर्छन्
तर इस्लामिक विश्वमा अन्यत्र पनि महिलाहरूको सम्मानमा भव्य समाधिस्थलहरू बनेको तथ्यसँग भने त्यस्तो धारणा मेल खाएको जस्तो देखिन्न।
अहिले पनि ताजमहलमा भेटिने गाइडहरूले उक्त स्मारक निर्माण गरेका कलाकार र मजदुरहरूलाई निर्माण सम्पन्न भएपछि शाहजहाँले मार्न लगाएका भन्ने कथाहरू सुनाउने गर्छन्।
ताजमहल पहिले एक हिन्दु देवता शिवको मन्दिर थियो भन्ने मिथकबारे लामो समयदेखि चर्चा हुँदै आइरहेको छ।
सन् १७६१ मा आगरामा जित हासिल गरेका एक हिन्दु राजा सुरज मललाई दरबारका पण्डितले ताजमहललाई मन्दिरमा परिणत गर्न सुझाव दिएका भन्ने पनि बताइन्छ।
सन् १९६४ मा भारतको इतिहास पुनर्लेखन गर्नु पर्छ भन्दै एक संस्था स्थापना गरेका पीएन ओकले लेखेका एउटा पुस्तकमा ताजमहल वास्तवमा एक शिव मन्दिर थियो भनेर दाबी गरेका छन्।
सन् २०१७ मा एकजना बीजेपी नेता संगीत सोमले ताज महललाई "देशद्रोहीहरूले निर्माण गरेका"ले त्यो भारतीय संस्कृतिमा "एक धब्बा" भनेका थिए।
हालै मात्र बीजेपी सांसद दिया कुमारीले शाहजहाँले एक हिन्दु शाही परिवारको "जग्गा हडपेर" त्यस स्थानमा ताजमहल बनाएको दाबी समेत गरिन्।
यस्ता दाबीहरूले विगतको दशकदेखि केही दक्षिणपन्थी खेमामा बिस्तारै ताजा स्थान बनाउँदै गएको इतिहासकार साफ्भी बताउँछिन्।
उनी भन्छिन्,"दक्षिणपन्थीहरूको एक खण्ड मिथ्या समाचार, इतिहासको गलत व्याख्या र हिन्दु पराजय र पीडितपनको भावनाबाट ग्रसित छ।"
लेखिका कोखको अनुसन्धानमा गरिएको टिपोट अनुसार: " ताजमहलका बारेमा भएका गम्भीर प्राज्ञिक अनुसन्धानहरूभन्दा धेरै कथा र कहानीहरू बढी चर्चामा रहेका छन्।"









