इसाई धर्मावलम्बीले पनि 'अल्लाह' शब्द प्रयोग गर्न पाउने मलेशियाली उच्च अदालतको आदेश

तस्बिर स्रोत, Getty Images
ईश्वरलाई सम्बोधन गरिने "अल्लाह" शब्द इसाई धर्मावलम्बीले प्रयोग गर्न नपाउने एउटा नियमलाई मलेशियाको उच्च अदालतले उल्टाइदिएको छ।
एक दशकभन्दा लामो समयको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो।
"अल्लाह" शब्द प्रयोग गरिएका आफ्ना सामग्रीहरू जफत गरिएपछि एक इसाई महिलाद्वारा अदालतमा चुनौती दिइएको मुद्दाको यो एउटा पाटो हो।
मलेशियामा गैरमुस्लिमले "अल्लाह" शब्द प्रयोग गरेको विषयले विगतमा तनाव तथा हिंसा निम्त्याएका उदाहरण छन्।
मलेशियाको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मुस्लिम छन्। तर इसाई समुदायको पनि त्यहाँ ठूलै सङ्ख्यामा बसोबास रहेको छ।
"अल्लाह" शब्द अरेबिक हुँदै मलाया भाषाबाट आफूहरूमाझ ईश्वरलाई सम्बोधन गर्न शताब्दीऔँदेखि प्रयोगमा रहेको इसाई समुदायको तर्क छ।
मलेशियाको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ। यद्यपि पछिल्ला वर्षहरूमा त्यहाँ धार्मिक तनावहरू बढेका छन्।
'अवैध र असंवैधानिक'
सन् २००८ मा जिल आयरल्यान्ड लवरेन्स बिल नाम गरेकी एक इसाई महिलाबाट मलाया भाषामा "अल्लाह" शब्द प्रयोग भएका कम्प्याक्ट डिस्कहरू विमानस्थलबाट जफत गरिएको थियो।
त्यसपछि बिलले प्रकाशन सामग्रीमा इसाई धर्मावलम्बीहरूले "अल्लाह" शब्द प्रयोग गर्न नपाउने नियमलाई कानुनी उपचार खोज्न शुरू गरिन्।
एक दशकभन्दा बढी समयपछि बुधवार क्वालालम्पुर उच्च अदालतले आस्थाको आधारमा विभेद झेल्न नपर्ने उनको अधिकार भएको आदेश सुनायो।
आफ्नो आदेशमा न्यायाधीश नोर बीले "अल्लाह" सँगै अरेबिक भाषाबाट आएका "काबा" (मक्कास्थित मुस्लिमहरूको पवित्रतम स्थल), "बैतुल्लाह" (ईश्वरको घर), "सलात" (प्रार्थना) शब्द पनि इसाईहरूले प्रयोग गर्न पाउने आदेश दिएकी छन्।
न्यायाधीश नोर बीले गैरमुस्लिमको हकमा ती चारवटा शब्दको प्रयोगमाथि प्रतिबन्ध लगाउने नियम "अवैध" र "असंवैधानिक" भएको ठहर गरेकी छन्।









