सहिष्णुताका 'प्रतीक' चार धर्मका चार साथी

तस्बिर स्रोत, SHAHBAZ/BBC
- Author, शहबाज अनवर
- Role, बीबीसी हिन्दी
भारत उत्तर प्रदेशको बिजनौर जिल्लाका चार साथी 'हिन्दू, मुस्लिम, सिख-ईसाई, आपसमा हुन् भाइभाइ' भन्ने नारालाई साँच्चिकै व्यवहारमा उतार्न लागिपरेका छन्।
फरक धर्मका अनुयायी यी चार साथीहरू भारतमा एकताको सन्देश फैलाउन चाहन्छन्।
चार साथी र उनीहरूका परिवारका सदस्यहरूलाई न मन्दिर जान आपत्ति छ न मस्जिद।
चाहे गिर्जाघर होओस् अथवा गुरूद्वारा, सबै उनीहरूका लागि उस्तै पवित्र स्थल हुन्।
पुरानो मित्रता
यहाँसम्म कि धार्मिक सहिष्णुता र एकताको सन्देश दिने उद्देश्यका साथ उनीहरूले हालै एकसाथ केदारनाथ र बद्रीनाथको यात्रा पनि गरे।
धार्मिक सद्भावको उदाहरण बनेका यी चार साथी हिन्दू, इस्लाम, सिख र ईसाई धर्मका अनुयायी हुन्।
नजिबाबादका हाजी अब्दुल मलिक मुस्लिम हुन् भने दिलबाग सिंह सिख हुन्।
अर्का दुई साथी रामनिवास पाल हिन्दू र प्रमोद मसीह ईसाई हुन्। र, यी चारैजना करिब ३० वर्षदेखिका साथी हुन्।

तस्बिर स्रोत, SHAHBAZ/BBC
अब्दुल भन्छन्, "हामी चारैजना सन् १९८० को दशकमा दिल्लीस्थित मदनगिर गभर्नमेन्ट सीनियर सेकेण्डरी स्कूलमा सात कक्षामा सँगै पढ्थ्यौँ।"
"बिस्तारै हाम्रो मित्रता बढ्दै गयो र हामी एकअर्काको परिवारसँग नजिक हुन पुग्यौँ।"
यी चार साथीका परिवारहरू एकअर्कासँग यति नजिक भइसकेका छन् कि सबैजना सहभागी नभइ कुनै चाडपर्व मनाउने प्रश्न नै उठ्दैन।
चाडपर्व
रामनिवास भन्छन्, "ईदको पूर्वसन्ध्यामा अब्दुललाई सबैभन्दा पहिला हामी शुभकामना दिन्छौँ र सबैजना उसको परिवारका सदस्यलाई एकएक गरी ईदको शुभकामना दिन्छौँ।"
"ईदमा सबै साथीहरू र परिवारका सदस्यहरू भेला हुँदा त्यसको रमाइलो दोब्बर भएजस्तो लाग्छ। भाउजूले खानेकुरा ल्याउन लाग्दा खानलाई हामी आतुर हुन्छौँ।"
ईद होओस् वा दिपावली अथवा क्रिसमस वा प्रकाश पर्व नै किन नहोओस्, चारैजना साथी र उनीहरूका परिवार मिलेर खुशीका साथ मनाउँछन्।
दिलबाग सिंह भन्छन्, "हाम्रो देशमा साम्प्रदायिक दङ्गा किन हुन्छ हामीले कहिल्यै बुझ्न सकेनौँ। हामीले साम्प्रदायिक एकताको एउटा उदाहरण पेश गर्ने प्रण गरेका छौँ।"

तस्बिर स्रोत, SHAHBAZ/BBC
यी चार साथी देशमा साम्प्रदायिकताका भावना बढ्नुमा नेताहरू जिम्मेवार रहेको ठान्दछन्।
प्रमोद मसीह भन्छन्, "हामी चारैजना फरक धर्म मान्दछौँ। हामी साथी भएको ३० वर्ष जति भइसक्यो। तर हामीले एकअर्काको धर्मलाई हाम्रो बीचमा कहिल्यै आउन दिएनौँ।"
अब्दुलकी श्रीमती शगुफ्ता भन्छिन्, "मेरा लागि दिलबाग, रामनिवास र प्रमोद मसीह भाइजान साखै देवर-जेठाजु जस्तै हुनुहुन्छ।"
सम्मान
"हामीले उहाँहरूबीच धर्मको विषयमा विवाद गरेको कहिल्यै देखेनौँ। हाम्रो नमाज पढ्ने समयको ख्याल उहाँहरूले पनि गर्नुहुन्छ।"
"म जहिले पनि रामनिवास भाइजानको घर जाँदा अथवा बाँकी दुईजनाको घर जाँदा म त्यहीँ प्रार्थना गर्ने गर्छु। मेरो लागि नमाजअघि हातखुट्टा धुन उहाँका श्रीमतीहरूले पानी दिनुहुन्छ।"
मलिक निर्माण कार्यमा संलग्न छन् भने दिलबाग किसान हुन्।

तस्बिर स्रोत, SHAHBAZ/BBC
प्रमोद मसीह दिल्लीस्थित एउटा निजी कम्पनीमा काम गर्छन् भने रामनिवासको दिल्लीमा रेष्टुराँ छ।
सबैभन्दा रमाइलो कुरा के हो भने यी चारजनाले जातीय सद्भावको सन्देश दिन आफ्ना परिवारसँगै केदारनाथ र बद्रीनाथको यात्रा शुरू गरे।
अब्दुल भन्छन्, "हामीबीच ३० वर्षदेखि माया र सम्मानको भावना छ। देशमा साम्प्रदायिक दङ्गासम्बन्धी समाचारहरू सुन्दा एकदम नराम्रो लाग्छ।"
"हामीले हाम्रो मित्रतामार्फत राम्रो सन्देश पुर्याउने अठोट लिएका छौँ। एक दिन मैले श्रीमतीलाई सामान मिलाउन भनेँ र हामी सबैजना परिवारलाई लिएर केदारनाथ र बद्रीनाथको यात्रामा निस्किहाल्यौँ।"
यात्रामा नमाज
यी चार साथीले परिवारसँगै जुन २० मा नजिबाबादबाट केदारनाथ र बद्रीनाथका लागि यात्रा शुरू गरे।
रामनिवास भन्छन्, "विगत ३० वर्षयता हामी चारैजना र परिवारका अन्य सदस्य देशभरिका कैयौँ मन्दिर, मस्जिद, गुरूद्वारा र गिर्जाघर पुग्यौँ। तर केदारनाथ र बद्रीनाथको यात्रा सँगै गर्ने कुरा मलाई निकै मन पर्यो।"
"हाजी अब्दुल पनि परिवारसँगै आए। हामीले सोच्यौँ हाम्रो मित्रताबाट देशलाई पनि केही फाइदा पुगोस्।"

तस्बिर स्रोत, SHAHBAZ/BBC
यात्रामा निस्किएका चार साथी र उनीहरूका परिवारका सदस्य पनि निकै रमाए।
अब्दुल भन्छन्, "शुक्रवार मैले र मेरो छोराले मस्जिदमा साप्ताहिक प्रार्थना गर्नुपर्ने थियो र त्यतिबेला हामी जोशीमठमा थियौँ। मस्जिद खोज्न साथीहरूले सघाए अनि मैले मस्जिदमा प्रार्थना गरेँ।"
"मेरो प्रार्थना सकेपछि हामीले फेरि यात्रालाई अगाडि बढायौँ।"
करिब पाँच दिनपछि चारै साथी र उनीहरूका परिवार केदारनाथ र बद्रीनाथ यात्राबाट फर्किए।








