भारत: मन्दिरमा इफ्तार भोज, त्यसपछि नमाज

इफ्तार

तस्बिर स्रोत, Getty Images

राम जन्मभूमि र बाबरी मस्जिद विवादका कारण पछिल्ला केही दशकमा भारतको अयोध्या नगर निकै चर्चामा रह्यो।

सन् १९९२ मा बाबरी मस्जिद भत्काइएपछि भारतका कैयौँ क्षेत्रमा साम्प्रदायिक हिंसाहरू भए र धेरैले ज्यान गुमाए। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।

यी र यस्ता केही नमीठा घटनाका बावजुद अयोध्यामा सोमवार सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुताको एउटा सुन्दर रूप देखियो।

अयोध्यास्थित सयौँ वर्ष पुरानो सरयू कुञ्ज मन्दिरका महन्त जुगलकिशोर शरण शास्त्रीले मुस्लिम बर्तालुका लागि इफ्तार भोजको आयोजना गरे।

सौहार्दपूर्ण

मुस्लिम व्रतालुहरूले रमजानको दैनिक व्रत समापन गर्दा साँझ खाने खानालाई इफ्तार भनिन्छ।

इफ्तारको निमन्त्रणा स्वीकारी कैयौँ मुस्लिम व्रतालुहरूले त्यहाँ गएर विधिपूर्वक आफ्नो व्रत पूरा गरे।

इफ्तारपछि उनीहरूले मन्दिर परिसरमै साँझको नमाज पढे।

इफ्तार

महन्त शास्त्रीले भने, "अयोध्यामा हिन्दू र मुस्लिम कसरी सौहार्दपूर्ण वातावरणमा बस्छन् भन्ने बुझाउनका लागि पनि इफ्तार पार्टीको आयोजना गरेका हौँ।"

"कैयौँ मुस्लिम दाजुभाइ यहाँ इफ्तारका लागि आउनुभयो। सन्तहरूले आफ्नै हातले उहाँहरूलाई खाना पस्किनुभयो।"

महन्त शास्त्रीले पहिलो पटक नभई तीन वर्षअघि पनि आफूले इफ्तार भोजको आयोजना गरेको बताए।

निरन्तरता

उनले भने, "तीन वर्षअघि मैले इफ्तार दिन थालेको थिएँ। तर बिरामी भएका कारण अघिल्लो वर्ष आयोजना गर्न पाइनँ। अब म निरन्तरता दिन्छु।"

देउतालाई भोग लगाइएका परिकारहरू व्रतालुहरूलाई खुवाइएको महन्त शास्त्रीले बताए।

"हामीले भगवान्‌को प्रसाद मुस्लिम व्रतालु दाजुभाइलाई खुवायौँ। हलुवा, पकौडा, केरा र खजुर लगायतका खानेकुरा थिए। धेरैलाई बोलाउन सकिएन, बोलाइएका सबै सय जना जति आउनुभयो।"

इफ्तार भोजमा अयोध्या र फैजाबादका मुस्लिमहरू बाहेक छ-सात जना साधुसन्तहरूलाई पनि निम्त्याइएको थियो।

इफ्तार

महन्त शास्त्रीका अनुसार मुस्लिम व्रतालुहरूसँगै मन्दिरका सन्त, कर्मचारी तथा निम्तालु साधुसन्तले पनि भोजन गरेका थिए।

सरयू कुञ्जस्थित उक्त मन्दिर राम जन्मभूमि-बाबरी मस्जिद परिसर नजिकै पर्दछ।

परम्परा

आफूहरू वैष्णव सन्त भएको बताउँदै उनले वैष्णव र सुफी परम्पराबाट सबै धर्म र सम्प्रदायबीच सहिष्णुता र दाजुभाइको जस्तो सम्बन्ध हुनुपर्ने कुरा सिकेको उल्लेख गरे।

इफ्तार भोजमा न कुनै राजनीतिक दललाई निम्त्याइएको थियो न कोही अतिविशिष्ट पाहुनालाई। महन्त शास्त्रीका अनुसार सञ्चारमाध्यमहरूलाई पनि बोलाइएको थिएन।

फैजाबादका स्थानीय पत्रकार अभिषेक श्रीवास्तवले महन्त शास्त्रीसँग भेटघाट गरिरहने सीमित पत्रकारहरूलाई मात्रै सो कार्यक्रमबारे जानकारी भएको बताए।

श्रीवास्तवका अनुसार अयोध्याको प्रसिद्ध हनुमानगढी मन्दिरका महन्त ज्ञानदासले यसअघि मन्दिर परिसरमा दुई पटक इफ्तार पार्टीको आयोजना गरेका थिए।

तर पछि उनले त्यसलाई निरन्तरता नदिएको श्रीवास्तवले बताए।