जहाँ हुन्छ मुस्लिमलाई हिन्दू तीर्थयात्रीको प्रतीक्षा

गुलाम रसुल

तस्बिर स्रोत, MAJID JAHANGIR

तस्बिरको क्याप्शन, गुलाम रसुल
    • Author, माजिद जहांगीर
    • Role, श्रीनगरबाट बीबीसी हिन्दीका लागि

५० वर्षीय मोहम्मद शफी कश्मीरको नुनवन आधार शिविरस्थित आफ्नो सानो कपडा पसलमा अमरनाथ तीर्थयात्रीहरूको प्रतीक्षा गरिरहेका छन्।

मैले शफीसँग उनको पसलमा कुरा गरिरहँदा अमरनाथका कैयौँ यात्रीहरू उनको पसलमा आइपुगे र सामान किन्न थाले।

भारत प्रशासित कश्मीरमा हरेक वर्षझैँ यो वर्षको अमरनाथ तीर्थाटन शुरू भइसकेको छ।

हुन त यो तीर्थाटन हिन्दूहरूको हो। तर त्यससँग सधैँझै यसपटक पनि हजारौँ कश्मीरी मुस्लिमहरू जोडिएका छन्।

निर्भर

शफी भन्छन्, "हामी वर्षभरि अमरनाथ तीर्थयात्रीहरूको प्रतीक्षा गर्छौँ। हाम्रो रोजीरोटी यहाँ आउने तीर्थयात्रीमै निर्भर छ।"

"कतिपयलाई लाग्छ हामीले पैसालाई लागि मात्रै यो गरेका हौँ। यथार्थमा हामी उहाँहरूलाई निकै सम्मान र माया गर्छौँ। तीर्थयात्रीहरूलाई हामीबारे तपाईँ सोध्न सक्नुहुन्छ।"

मोहम्मद शफी विगत २२ वर्षदेखि अमरनाथ तीर्थाटनसँग जोडिएका छन्।

मोहम्मद शफी

तस्बिर स्रोत, MAJID JAHANGIR

तस्बिरको क्याप्शन, मोहम्मद शफी

उनी अमरनाथ गुफा नजिकै पर्ने शेषनाग सरोवरसँगै त्रिपाल राख्ने काम पनि गर्छन्।

उनी भन्छन्, पहिलाको र अहिलेको अमरनाथ तीर्थाटनमा धेरै परिवर्तन आइसकेको छ।

"हामी सानो छँदा तीर्थाटनको छुट्टै आनन्द हुन्थ्यो। पहिला यति सुरक्षा हुँदैनथ्यो। जम्मु-कश्मीरका केही जवान मात्रै तीर्थयात्रीहरूसँग हुन्थे।"

पीरमर्का

४८ वर्षदेखि घोडचढी पेशामा संलग्न रहिआएका गुलाम रसुलका कैयौँ पुस्ता अमरनाथ तीर्थाटनसँग जोडिएका छन्।

२० वर्षको हुँदा उनले पहिलो पटक एकजना तीर्थयात्रीलाई घोडामा राखेर अमरनाथ गुफासम्म पुर्‍याएका थिए।

उनी भन्छन्, "तीर्थयात्रीहरूलाई पीरमर्का पर्दा हामी साथ दिन्छौँ। पानी पर्‍यो र उहाँहरूसँग टेन्ट भएन भने हामी आफ्नो घर लग्छौँ। अहिले पनि हाम्रो घरमा तीर्थयात्रीहरू हुनुहुन्छ।"

किनमेल

तस्बिर स्रोत, MAJID JAHANGIR

"आवश्यक पर्दा हामी उहाँहरूलाई पैसा पनि दिन्छौँ। कहिलेकाहीँ त घर फर्केपछि उहाँहरूले हाम्रो खातामा तिर्न बाँकी रकम पठाइदिनुहुन्छ।"

रसुल भन्छन्, हामीले अमरनाथ तीर्थयात्रीसँग राम्रो व्यवहार गर्दा उहाँहरूले अरूलाई त्यो सुनाउनुहुन्छ र हाम्रो ठेगाना पनि दिनुहुन्छ।

अनुभव

पहलगाम बटकोटका मोहम्मद अफजल मलिकका सात पुस्ता अमरनाथ तीर्थाटनसँग जोडिएका छन्।

अमरनाथ गुफा उनकै पूर्वजहरूले भेटाएको बताइन्छ।

दिल्लीका कृष्णकुमार विगत कैयौँ वर्षदेखि अमरनाथ तीर्थाटनमा आउने गरेका छन्।

कश्मीर आउँदा आफूलाई कुनै प्रकारको डर नलागेको उनी बताउँछन्।

नुनवन आधार शिविर

तस्बिर स्रोत, MAJID JAHANGIR

तस्बिरको क्याप्शन, नुनवन आधार शिविर

मध्यप्रदेशबाट आएका दिपक परमारले पनि धेरै वर्षदेखि अमरनाथको यात्रा गर्दै आएका छन्।

उनले भने, "यहाँबाट फर्केपछि म अरूलाई आफ्नो अनुभव सुनाउँछु। कश्मीरीहरू हाम्रो लागि सधैँ अघि अघि हुन्छन् भनेर सबैलाई सुनाउने गर्छु।"

सुरक्षा

कश्मीरमा सन् १९९० मा सशस्त्र आन्दोलन शुरू भएयता अमरनाथ तीर्थाटनलाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था गरिँदै आएको छ।

यो वर्ष २,९९५ तीर्थयात्रीको पहिलो टोली अमरनाथ गुफाका लागि हिँडिसकेको छ। जसमा २३३४ पुरुष, ५२० महिला, २१ बालबालिका र १२० जना साधु छन्।

कृष्ण कुमार, तीर्थयात्री

तस्बिर स्रोत, MAJID JAHANGIR

तस्बिरको क्याप्शन, कृष्ण कुमार, तीर्थयात्री

पहलगामबाट उक्त टोली अघि बढिसके पनि ठूलो पानी परेपछि तत्कालका लागि उनीहरूलाई रोकिएको छ।

यो वर्ष अमरनाथ तीर्थाटन जनैपूर्णिमासम्म चल्नेछ। तीर्थाटनका लागि अहिलेसम्म दुई लाखले तीर्थयात्रीले नाम दर्ता गराएका छन्।

गत वर्ष दुई लाख ६० हजार जनाले अमरनाथको यात्रा गरेको अधिकारीहरूले बताएका छन्।