कुतुब मिनार: भारतको सबैभन्दा अग्लो धरहरा किन विवाद किन अदालत पुग्यो

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
भारतको राजधानी दिल्लीमा २४० फिट अग्लो गगनचुम्बी कुतुब मिनार एक प्रतिष्ठित धरोहर मानिन्छ।
भारतको एक अदालतले शताब्दीअघि यो धरोहर बनाउनका लागि भत्काइएका मन्दिरहरू पुनः बनाउनुपर्ने माग गरिएको मुद्दामा अहिले फैसलाको तयारी गरिरहेको छ।
विश्व सम्पदा सूचीमा रहेको कुतुब मिनार दिल्लीका पहिलो सुल्तान कुतुबुद्दीन ऐबकले सन् ११९२ मा हिन्दु शासकमाथि जित हासिल गरेपछि विजयको प्रतीकका रूपमा निर्माण गरेका थिए।
रातो र बदामी रङ्गको बलौटे ढुङ्गाबाट निर्माण गरिएको यो धरोहर अफगानी कलाबाट प्रभावित ठानिन्छ र देशमा मुस्लिम शासनको सुरुवाती संरचनामध्ये एक हो।
सुल्तानका तीन उत्तराधिकारीले यसको पुन:निर्माण गर्दै उचाइ अझै बढाएका थिए। अहिले पाँच तल्ला रहेको यो मिनारको टुप्पोसम्म ३७९ खुड्किलाहरू छन्।
यो मिनार रहेको परिसरबारे विभिन्न इतिहासहरू पाइन्छन्।
यहाँ हिन्दु र जैनका २७ वटा मन्दिरहरू रहेको र तिनीहरूलाई भत्काएर भग्नावशेषहरूबाट त्यही ठाउँमा दिल्लीकै पहिलो मस्जिद निर्माण गरिएको थियो।
भारतको पुरातत्त्व सर्वेक्षणका एक वरिष्ठ अधिकारीले सन १९२६ मा उल्लेख गरेका विवरण अनुसार तीमध्ये एक मन्दिरको जगमा प्रयोग गरिएको विशाल स्तम्भ टुक्राटुक्रा पारेर मस्जिदमा प्रयोग गरिएको थियो।
करिब ८०० वर्षपछि भारतीय अदालतहरू भत्काइएका २७ वटा मन्दिरहरूको पुन:निर्माणका लागि आएका निवेदनको ओइरोसँग पौँठेजोरी खेलिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
गत नोभेम्बरमा एक अदालतले भारत विभिन्न समयमा भिन्नभिन्न वंशले शासन गरेको र विगतमा गरिएका गल्तीहरू "वर्तमान र भविष्यको शान्ति बिथोल्ने आधार हुन नसक्ने" भन्दै निवेदन अस्वीकृत गरिदिएको थियो।
निवेदकले अहिले उक्त अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन दिएका छन्।
"त्यहाँ मस्जिदभन्दा पहिले मन्दिरहरू थिए भने तिनीहरू किन फेरि बनाउन सकिँदैन?" उक्त मिनार क्षेत्रमा अझैसम्म हिन्दु देवीहरू रहेको विश्वास गर्ने हरिशङ्कर जैन प्रश्न गर्छन्।
पुरातत्त्वविद्हरू सङ्घीय कानुन अनुसार संरक्षित धरोहर रहेको उक्त भवन क्षेत्रबारे स्पष्ट छन्।
उनीहरूका अनुसार यो अब पुरानै अवस्थामा फर्काउन नसकिने अवस्थामा छ।
तर हिन्दु समूहहरूले समर्थन गरेका यस्तै विवादहरू वाराणसी र मथुरामा पनि हिन्दु मन्दिरहरू भत्काएर बनाइएका मस्जिदबारे विवादहरू बढ्दै गइरहेका छन्।
इतिहासविद्हरूका अनुसार १२औँ शताब्दीपछिका मुस्लिम राजाहरू र सातौँ शताब्दीपछिका हिन्दु राजाहरूले शत्रु राजाहरूले बनाएका मन्दिर वा स्मारकहरूमा लुटपाट, तोडफोड वा स्वरूप परिवर्तन गरेका थिए।
"हरेक शासकहरूले सबैभन्दा ठूलो धार्मिक प्रतीकहरू नष्ट गरेर आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्ने प्रयास गरे। सबै भत्काइएका होइनन् तर राजनीतिक महत्त्वका केही मन्दिरहरू भत्काइए," इतिहासकार राणा सफवी भन्छन्।

तस्बिर स्रोत, Getty Images
त्यो मजबुत मिनार दुई पटक चट्याङ र भूकम्पमा परेर समेत भत्किएन।
एक पटकको चट्याङमा भने चौथो तल्लामा क्षति पुगेपछि सुल्तानले त्यसअघि प्रयोग गरिएको ढुङ्गाको ठाउँमा मार्बल र ढुङ्गा राखेर अझै दुई तल्ला अग्लो बनाए। उनले त्यसमाथि १२ फिट अग्लो गुम्बज समेत थपे।
तर गुम्बज भने भूकम्पमा परेर भत्कियो।
अहिले कुतुब मिनार एक ऐतिहासिक धरोहर मात्र नभएर दिल्लीको पहिचान पनि भएको छ। यो दिल्लीमा लामो समय बसोबास गरेका हरेक मानिसहरूको स्मृतिमा कुँदिएको छ।
मिनार भत्काउन अदालतमा निवेदन दिएका जैनले गत साताको बहसमा भत्किएको मन्दिरले "उसको विशेषता, दैवी गुण र पवित्रता गुमाउन नसक्ने" बताए।
उनले आफूलाई कुतुब मिनारमा पूजा गर्ने संवैधानिक अधिकार रहेको दाबी गरे।
बहसमा आफ्नो राय दिँदै न्यायाधीशले भने: "देवी पूजा नगरिनै ८०० वर्षसम्म बाँचेकी छन् भने उनलाई त्यसरी नै बाँच्न दिऊँ।"
यो मुद्दामा अदालतले केही साताभित्रै आफ्नो फैसला सुनाउने तयारी गरिरहेको छ।








