भारतः नरेन्द्र मोदीले विदेशी नेताहरूलाई किन गुजरातमा निम्त्याउँछन्?

मोदी जनसन

तस्बिर स्रोत, PA Media

    • Author, तेजस वैद्य
    • Role, बीबीसी संवाददाता

मङ्गलवार जामनगरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को परम्परागत औषधिसम्बन्धी विश्वव्यापी केन्द्रको शिलान्यास समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयसस सहभागी भए।

बिहीवार आफ्नो भारत भ्रमणको पहिलो दिन यूकेका प्रधानमन्त्री बोरिस जोनसनले पनि अहमदाबादको भ्रमण गरेका छन्। उनले त्यहाँ केही उद्योगको अवलोकन गर्ने र अरू कार्यक्रममा पनि भाग लिनेछन्।

एक सातामा दुईवटा देशका प्रधानमन्त्रीहरू प्रधानमन्त्री मोदीसँगै गुजरात आएका छन्। तर यो गुजरातका लागि नयाँ होइन।

तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, जापानी प्रधानमन्त्री शिन्जो आबे, चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अन्य नेताहरूले पनि गुजरातको भ्रमण गरेका छन्।

सन् २०१४ यता धेरै देशका प्रधानमन्त्री र राष्ट्रपति गुजरात गएका छन् र त्यहाँ भ्रमण गर्ने अरू देशका सरकार प्रमुखको सङ्ख्या पनि बढ्दो छ।

यसबाट प्रधानमन्त्री नरेन्द्र मोदीले अरू देशका नेताहरूलाई गुजरातमा किन निम्त्याउँछन् भन्ने प्रश्न पनि उठेको छ।

सी जिन्पिङदेखि बोरिस जोनसनसम्म

यूकेका प्रधानमन्त्री बोरिस जोनसन बिहीवार अहमदाबाद पुगेका छन्। केही कार्यक्रम र बैठकमा भाग लिएर उनी दिल्ली जानेछन्।

सन् २०१७ मा जापानी प्रधानमन्त्री शिन्जो आबेले अहमदाबादको दुईदिने भ्रमणमा गरेका थिए।

सी जिनपिङ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सी जिन्पिङले सन् २०१४ मा गुजरातको भ्रमण गरेका थिए

सन् २०२० को फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी दुईदिने भारत भ्रमणमा आउँदा उनीहरू अहमदाबादमा अवतरण गरेका थिए। त्यसपछि उनीहरू आगरा र दिल्ली गएका थिए।

सन् २०१४ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले भारतको भ्रमण गर्दा उनी पहिला अहमदाबाद र त्यसपछि दिल्ली गए।

सन् २०१८ मा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि अहमदाबादको भ्रमण गरेका थिए। उनले दिल्ली र मुम्बईको पनि भ्रमण गरेका थिए।

परम्परामा परिवर्तन

यदि हामीले विगतका भ्रमणहरूलाई हेर्‍यौँ भने विदेशी नेताहरूको यात्रा दिल्लीवरपर केन्द्रित रहने गरेका थिए। मुम्बई आर्थिक राजधानी भएका नाताले कतिपय नेताहरू त्यहाँ पनि जाने गरेका थिए।

तर अहिले अवस्था फेरिएको छ। नरेन्द्र मोदीले धेरै देशका प्रमुखहरूलाई गुजरातमा बोलाएका छन्।

विदेशी नेताहरूलाई स्वागत गर्न झाँकीसहितका कार्यक्रमहरू हुने गरेका छन्।

सन् २०२० मा डोनल्ड ट्रम्पले गुजरातको भ्रमण गर्दा एउटा रोड शो र "नमस्ते ट्रम्प" कार्यक्रम मोटेरा क्रिकेट रङ्गशालामा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको आलोचना पनि भयो।

नेतान्याहू

तस्बिर स्रोत, Getty Images

जापानी प्रधानमन्त्री शिन्जो आबेको भारत भ्रमण पनि सीधै गुजरातबाट सुरु भयो। उनको भ्रमणलाई विज्ञहरूले "महत्त्वपूर्ण" को सङ्ज्ञा दिए।

त्यो बेला गुजरातमा "५० वटा जापानी कम्पनी" स्थापना भएका थिए।

सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र उनकी श्रीमतीलाई स्वागत गर्न साबरमती नदीमा लोकनृत्यले प्रस्तुत गरिएको थियो।

कतिपय राजनीतिक विश्लेषकहरूले यो नयाँ परम्पराको आलोचना गरेका छन्।

नयाँदिल्लीस्थित राजनीतिक विश्लेषक विनोद शर्मा भन्छन्, "प्रधानमन्त्रीले विदेशी राष्ट्रपति वा प्रधानमन्त्रीलाई आफ्नो गृहराज्यमा बारम्बर यसरी कहिल्यै पनि भेटेका थिएनन्। यो उचित होइन।"

यो बीचमा कतिपय देशका प्रमुख नयाँदिल्लीको भ्रमण गरेका छन्।

सन् २०२१ को अक्टोबरमा डेनमार्कका प्रधानमन्त्री म्याट फ्रेडरिकसनले दिल्ली भ्रमण गरेका थिए।

सन् २०२० को फेब्रुअरीमा म्यान्मारका राष्ट्रपतिले दिल्ली र आगराको भ्रमण गरेका थिए। इटलीका प्रधानमन्त्रीले सन् २०१७ को अक्टोबरमा नयाँदिल्लीको भ्रमण गरेका थिए।

श्रीलङ्का, भुटान र पोर्चुगलका प्रधानमन्त्रीहरू सन् २०१८/२०१९ को भ्रमण गरेका थिए। उनीहरू दिल्ली गएका थिए।

यदि कुनै नेता गुजरात आउँदैछन् भने त्यसको कारण के हुनसक्छ? प्रधानमन्त्री भए पनि नरेन्द्र मोदीले अरू राज्यको तुलनामा गुजरातलाई बढी प्राथमिकता दिन्छन्।

गुजरात

तस्बिर स्रोत, Getty Images

गुजरातको व्यापार मोडल हेर्ने उद्देश्य?

बेलाबेलामा उद्यमीहरूसँग भेटघाट हुन्छ र लगानीबारेका घोषणाहरू पनि गरिन्छन्।

गुजरातको मुख्यमन्त्रीका नाताले नरेन्द्र मोदीले भाइब्रेन्ट गुजरात सम्मेलन आयोजना गर्नन थालेका थिए। त्यसले देशभित्र र बाहिरका लगानीकर्ताहरूलाई आकर्षित गर्छ। भारतीय जनता पार्टीले गुजरातलाई व्यापारिक मोडलका रूपमा प्रवर्धन गर्दै आएको छ।

गुजरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका सभापति हेमन्त शाह भन्छन्, "विदेशी नेताको गुजरात भ्रमणले उद्योगहरूलाई ठूलो फाइदा पुर्‍याएको छ।"

"अहिले विश्वको मानचित्रमा गुजरातको महत्त्वपूर्ण स्थान छ।"

जापानी प्रधानमन्त्री

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जापानी प्रधानमन्त्री शिन्जो आबे

उनले भने, "विदेशी पाहुनाहरू आउँदा उनीहरूले राज्यलाई बुझ्न पाउँछन् जसबाट दीर्घकालीन लाभ हुन्छ। यसका आधारमा उनीहरूले लगानीको योजना बनाउँछन्।"

"प्रधानमन्त्री गुजरातका हुन् र यदि त्यसले गुजरातलाई लाभ पुर्‍याउँछ भने त्यो राम्रो हो।"

यद्यपि लेखक तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक घनश्याम शाह त्यो तर्कसँग सहमत छैनन्।

"लगानीकर्ताहरूको कुनै पनि देश हुँदैन। नरेन्द्र मोदी मुख्यमन्त्री वा प्रधानमन्त्री नभएको समयमा पनि गुजरातमा विदेशी लगानी थियो।"

"अहमदाबाद टेक्सटाइल मिलका लागि प्रसिद्ध थियो र उक्त राज्यको व्यापारिक परिचय भारतीय जनता पार्टीको सरकारभन्दा पनि पुरानो हो।"

राजनीतिक लाभका लागि

डोनल्ड ट्रम्प, नेतान्याहू र शिन्जो आबेका भ्रमणका क्रममा आयोजत रोड शोमा हजारौँ मानिस सहभागी भएका थिए। त्यस बेला ती कार्यक्रमको पनि आलोचना हुने गरेको थियो।

कैयौँ विज्ञहरूले त्यस्ता कार्यक्रम "राजनीतिक लाभ प्राप्तिको प्रयासस्वरूप' आयोजना गरिएको धारणा राख्दै आएका छन्। त्यसबाहेक लोकतन्त्रका निम्ति पनि ती घातक भएको भन्ने गरिएको छ।

यस विषयमा नयाँदिल्लीस्थित राजनीतिक विश्लेषक विनोद शर्मा भन्छन्, "सङ्घीय राजनीतिमा सबैको समान हैसियत हुन्छ त्यही भएर कुनै एउटा राज्यले मात्रै महत्त्व पाउनु घातक हुन्छ।"

"जब नरेन्द्र मोदी प्रधानमन्त्री बने उनले 'टीम इन्डिया' भने। तर जब टोलीको कुरा आउँछ, सबै खेलाडीहरूले खेल्ने मौका पाउनुपर्छ। केन्द्रीय सरकारले कुन राज्यसँग विदेशी लगानी आकर्षित गर्ने स्रोतहरू छ भनेर हेर्नुपर्छ।"

मोदी ट्रम्प

तस्बिर स्रोत, Getty Images

उनले सबै राज्यलाई समान अवसर र रचनात्मक रूपमा प्रतिस्पर्धाको मौका दिनु केन्द्र सरकारको उत्तरदायित्व भएको बताए।

गुजरातका वरिष्ठ पत्रकार रमेश ओझा भन्छन्, "नरेन्द्र मोदी प्रधानमन्त्रीको जिम्मेवारीको निष्पक्षताका बारेमा चिन्तित छैनन्। आफ्नो राज्यमा एक वा दुई पटकसम्म कार्यक्रम गर्नु ठिकै हो तर बारम्बार गर्नु ठिक होइन।"

"मलाई लाग्दैन कि कुनै पनि अरू प्रधानमन्त्रीले आफ्नो राज्यलाई नरेन्द्र मोदीले जति प्राथमिकता दिएका छन्। मैले त्यसमा दुईवटा कुरा देखेँ। एउटा प्रधानमन्त्रीको आफ्नो राज्यप्रतिको लगाव र अर्को गुजरात उनका लागि सहज स्थान हो।"

गुजरातलाई प्रवर्धन गर्ने लक्ष्य

कुनै नेताले अर्को देश भ्रमण गर्दा उनले साधारणतया त्यो देशको राजधानीको भ्रमण गर्ने अभ्यास पाइन्छ। कतिपय अवस्थामा पाहुनाहरू राजधानीबाहेक अरू सहरमा जाने गरेका छन्।

बोरिस जोनसनको भ्रमणको सन्दर्भमा पनि विज्ञहरूले ठूला विदेशी नेताहरूलाई गुजरात भ्रमण गराइएकोमा प्रश्न गर्छन्।

गुजरातको काउन्सिल अफ असोशिएटिड च्याम्बर्स एन्ड इन्डस्ट्री अफ इन्डियाकी पूर्वअध्यक्ष तथा उद्यमी भाग्येश सोनेजी भन्छिन्, "भारतका प्रधानमन्त्री र भारतका गुजराती प्रधानमन्त्री हुनुबीचको फरक नरेन्द्र मोदीबाट स्पष्ट देखिन्छ।"

उनले थपिन्, "प्रोटोकल पनि दिल्लीको जस्तो छ जुन अरू राज्यको संरचनामा पाइँदैन। विदेशी नेताहरू दिल्ली आउने गर्थे र त्यहाँबाट अन्यत्र जाने गर्थे। अहिले उनीहरू सुरुमा गुजरातमा आउँछन् र त्यसपछि अरू राज्यमा जान्छन्।"

घनश्याम शाहका अनुसार सन् २००९ मा भाजपा नेता लालकृष्ण आडवाणी प्रधानमन्त्रीका उम्मेदवार बन्दा उनका निर्वाचन अभियानका प्रचारक रहेका मोदीले आडवाणीलाई गुजरातका 'प्रतिनिधि' का रूपमा प्रस्तुत गरेका थिए।

त्यस बेला लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न आडवाणी गान्धीनगरबाट आएका थिए।

शाह सन् २०१७ को प्रधानमन्त्री मोदीको भाषण पनि सम्झिन्छन्। मोदीले भनेका थिए , "गुजराती अहिले कहाँ छ? विगतमा कुनै पनि गुजराती दिल्लीमा थिएन। अहिले म तपाईँलाई चिया खान निम्तो दिइरहेको छु।"

शाह भन्छन्, "नरेन्द्र मोदी गुजरातलाई प्रवर्धन गर्ने अवसर कहिल्यै छुटाउँदैनन्। उनीहरू गुजरात भारतकै लागि नमुना हो भन्ने सन्देश दिन चाहन्छन्।"