नरेन्द्र मोदीः सुरक्षा त्रुटिका कारण भारतीय प्रधानमन्त्री पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिए

तस्बिर स्रोत, ANI
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिएपछि उनको सुरक्षा व्यवस्थामा त्रुटि भएको बताइएको छ।
उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेका मोदी किसानहरूको प्रदर्शनका कारण बीच बाटोमै रोकिनुपरेको थियो।
किसानहरूको मृत्युमा एकजना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए।
"यो प्रधानमन्त्रीको सुरक्षामा प्रमुख कमजोरी हो," भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मोदीले राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो।
तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनकारीहरूले कनिष्ठ गृहमन्त्री अजय मिश्रको राजीनामा माग गरिरहेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उनका छोरा गत अक्टोबरमा आठ जनाको ज्यान जानेगरी भएको एउटा घटनामा आरोपित छन्।
मिश्रसँग सम्बन्धित एउटा कार उत्तर प्रदेश राज्यमा प्रदर्शन गरिरहेका किसानहरूमाथि जोतिँदा चार जनाको मृत्यु भएको थियो।
किसानहरूले घटनामा मन्त्रीका छोरा अनिश मिश्रको संलग्नता रहेको आरोप लगाए पनि मिश्रले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
प्रधानमन्त्री मोदी बुधवार बिहान बठिँडा विमानस्थलमा पुगेका थिए।
उनी त्यसपछि राष्ट्रिय सहिद स्मारक र चुनावी सभामा हेलिकप्टरमार्फत् जाने भनिएको थियो।
तर मौसमका कारण उडान हुन नसकेपछि उनी सडक मार्ग हुँदै अघि बढेका थिए।

तस्बिर स्रोत, Getty Images
तर उनी स्मारक भन्दा ३० किलोमिटर वरै प्रदर्शनका कारण रोकिनुपरेको थियो।
गृह मन्त्रालयले गम्भीर सुरक्षा त्रुटिबारे पञ्जाब सरकारसँग विस्तृत विवरणहरू माग गरिएको जनाएको छ।
"सुरक्षा कार्यविधि अनुसार उनीहरूले आवश्यक सुरक्षा र सामग्रीको प्रबन्धसहित आकस्मिक वैकल्पिक योजना पनि तयारी गर्नुपर्थ्यो," मन्त्रालयले भनेको छ।
केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै घटनालाई लापरबाही भन्दै दोषीलाई उत्तरदायी बनाइने बताएका छन्।
मोदीको भारतीय जनता पार्टीका एक नेताले पञ्जाबको कांग्रेसको सरकारलाई प्रधानमन्त्रीको कार्यक्रममा अवरोध पुर्याएको आरोप लगाएका छन्।

यो पनि पढ्नुहोस्












