भारत-चीन तनावबीच चिनियाँ सञ्चारमाध्यमले भारतलाई के सुझाव दिए

चीन-भारत

तस्बिर स्रोत, TAUSEEF MUSTAFA/GETTYIMAGES

    • Author, पद्मजा वेंकटरमन
    • Role, बीबीसी मोनिटरिङ

गत वर्षदेखि भारत र चीनबीच जारी सीमासम्बन्धी विवादको समाधान खोज्न तथा सैन्य गतिविधि रोक्ने उद्देश्यका साथ सुरु हुन लागेको १४औँ चरणको वार्ताअघि द्विपक्षीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन चिनियाँ सञ्चारमाध्यमले अपील गरेका छन्।

तर १४औँ चरणको यो उच्चस्तरीय बैठक कहिले हुन्छ भन्ने विषय चाहिँ तय भइनसकेको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

पछिल्लो छलफल निष्कर्षविहीन

भारत र चीनबीच पूर्वी लद्दाखमा लाइन अफ कन्ट्रोल (एलओसी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी विवाद समाधान गर्नका लागि भएको वरिष्ठ सैन्य कमान्डर स्तरको अघिल्लो वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो।

यो बैठकपछि चीन एलओसीमा पूर्ववत् अवस्थामा फर्कन तयार नरहेको भारतले बताएको थियो।

चीन भारत

तस्बिर स्रोत, TAUSEEF MUSTAFA

हाल पूर्वी लद्दाखको एलओसीमा दुवै देशबीच हट स्प्रीङ्ग्स, डेप्साङ्ग बल्ज र चार्डिङ्ग नाला जङ्कसनबारे विवाद छ।

उता चीनले जारी गरेको बयानमा भारतले अनुचित माग उठाएका कारण समस्या देखिएको जनाइएको थियो।

चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको थियो।

ग्लोबल टाइम्स पत्रिकाको चिनियाँ संस्करणले भारतले दुई देशबीच सैन्य कमान्डर स्तरको १४औँ वार्ता प्रस्ताव गरेको उल्लेख गरेको छ।

ग्लोबल टाइम्सको रिपोर्टमा यो महिनाको १५ तारिखमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटीनबीच इन्टरनेटमार्फत् भएको बैठकपछि पुटिनका सहयोगी युरी उशाकोवले चीन, रुस र भारतबीच जुन बैठक आयोजनाको प्रस्ताव गरेका छन् त्यो दुवै पक्ष 'सीमाबाट पछि हट्ने र टकरावको स्थिति शान्त' भए मात्रै सम्भव रहेको भारतीय सञ्चारमाध्यमहरूको मान्यता रहेको उल्लेख गरिएको छ।

ग्लोबल टाइम्सको रिपोर्टमा दुवै देशले सीमा मामिलाबारे परामर्श र समन्वय गर्नका लागि आधिकारिक स्तरको २३औँ बैठक गरेको र त्यसमा दुवै देशले कूटनीतिक अनि सैन्य स्तरमा संवाद जारी राख्ने सहमति जनाएको उल्लेख छ।

दुवै पक्षले कमान्डर स्तरको १४औँ बैठक चाँडै आयोजना गर्नुपर्ने विषयमा पनि सहमति जनाएका थिए।

भारत चीन

तस्बिर स्रोत, SEUNGYEON KIM

अङ्ग्रेजी चिनियाँ सरकारी पत्रिका चाइना डेलीको डिसेम्बर २७ तारिखको संस्करणमा यो वर्ष दर्जनौँ चिनियाँ एपमाथि लगाइएको प्रतिबन्ध र भारतमा चीनमा उत्पादन भएका सामग्री बहिष्कारबारे व्यापक रूपमा चर्चा गरिएको छ।

सम्पादकीयमा भारतमा काम गरिरहेका चिनियाँ कम्पनीहरूमाथि हालै गरिएको आयकर छापाबारे पनि विस्तारमा चर्चा गरिएको छ।

भारत सरकारको उक्त कदमले कसरी उत्पादन र व्यावसायिक गतिविधिहरू प्रभावित भएका छन् भन्ने विषय पनि उल्लेख गरिएको छ।

सीमासम्बन्धी तनावबाट टाढिने विषयबारे दुवै देशबीच भएको १३औँ बैठक भारतको अनुचित अनि अवास्तविक मागका कारण नतिजामा पुग्न नसकेको पनि उल्लेख गरिएको छ।

त्यस्तै ग्लोबल टाइम्सले २६ डिसेम्बरमा प्रकाशन गरेको एउटा टिप्पणीमा चीन र भारतबीच राम्रो अनि गहिरो व्यापारिक सम्बन्ध हुनु दुवै देशको हितमा रहेको उल्लेख गरिएको छ।

भारतीय पत्रिकाका रिपोर्ट खारेज

ग्लोबल टाइम्सको अर्को एक रिपोर्टमा भारतको अङ्ग्रेजी दैनिक हिन्दुस्तान टाइम्समा २४ डिसेम्बरमा प्रकाशित एउटा खबरलाई खारेज गरिएको छ।

उक्त रिपोर्टमा चिनियाँ अधिकारीहरूले तिब्बतका बालबालिकालाई विशेष सैन्य तालिम दिनका लागि शिविरमा पठाइरहेको गोप्य प्रतिवेदनसम्बन्धी समाचार अज्ञात सूत्रलाई उद्धृत गर्दै प्रकाशमा ल्याइएको थियो।

भारत चीन

तस्बिर स्रोत, Getty Images

ग्लोबल टाइम्सले शिन्ह्वा विश्वविद्यालयमा न्याश्नल स्ट्रयाटेजिक इन्स्टिच्युटका निर्देशक कियान फेङ्गलाई उद्धृत गर्दै लेखिएको छः ''भारतीय सञ्चारमाध्यममा कुनै पनि यस्तो चीज प्रयोग गर्नमा कुनै लाज छैन जसको प्रयोगले चीनमाथि हमला गर्न सकिन्छ। जस्तो कि उसले तिब्बती स्काउट्सको तालिम दिने मामिलामा गरेको छ।''

डिसेम्बर २७ मा चीनको विदेश मन्त्रालयले पनि यो रिपोर्ट पूर्ण रूपमा गलत रहेको जनाएको थियो।

भारत-चीन तनाव

भारत-चीन सीमानाकामा पछिल्लो वर्ष मे महिनामा गम्भीर स्थिति उत्पन्न भएको थियो।

सन् २०२० को मे १ मा दुवै देशका सैनिकबीच पूर्वी लद्दाखमा झडप भएको थियो। उक्त घटनामा दुवै पक्षका दर्जनौँ सैनिक घाइते भएका थिए।

जुन १५ मा गलवान उपत्यकामा एक पटक फेरि दुवै देशका सैनिकबीच झडप भयो जसमा दुवै देशका कैयौँ सेनाको मृत्यु भयो।

उक्त घटनापश्चात् दुवै देशका प्रतिनिधिहरूबीच कैयौँ पटक छलफल भयो।

अन्ततः यो वर्षको फेब्रुअरीमा दुवै देशका विदेशमन्त्रीको बैठकमा भएको सहमतिपश्चात् सीमासम्बन्धी विषयबाट टाढिने प्रक्रिया सुरु गरिएको थियो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीन-भारत जल द्वन्द्व