भारत-चीन सीमा विवाद: गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी भारतद्वारा अस्वीकार

गलवान उपत्यका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९६२ को युद्धपछि सोमवार राति भारत र चीनबीच पहिलो पटक सैनिकहरूको ज्यान जानेगरी भिडन्त भएको हो

चीन र भारतबीच हिंसक सङ्घर्ष भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ।

सोमवार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीचको भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

उक्त घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको छ।

भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ।

दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाका सम्बन्धमा आ-आफ्नो विरोध जनाइसकेका छन्।

आरोप-प्रत्यारोप

चीनले आफ्नो क्षतिका बारेमा बताएको छैन तर भारतीय सञ्चारमाध्यमहरूले कम्तीमा ४० चिनियाँ सैनिकको ज्यान गएको दाबी गरेका छन्।

भारतका केही सैनिकहरू हराइरहेको बताइएको छ। बुधवार चीनले एउटा सैन्य विज्ञप्तिलाई इङ्गित गर्दै गलवान उपत्यका आफ्नो भएको बताएको छ।

गलवान उपत्यका

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशका विदेशमन्त्रीहरूले फोनवार्ता गरेका र 'स्थितिलाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्न सहमत भएको' बताएका छन्।

प्रेस ट्रस्ट अफ इन्डियाले श्रीवास्तवले 'अतिरञ्जित र अस्वीकार्य दाबी सहमतिविपरीत भएको' बताएको उल्लेख गरेको छ।

दुई देशका विदेशमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भारतले चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यकाको सीमामा चीनले निर्माण गर्न प्रयास गरेपछि सङ्घर्ष भएको दाबी गरेको छ।

भारतले त्यसलाई 'हिंसा र मानवीय क्षतिका लागि जिम्मेवार योजनाबद्ध कार्य' भन्दै चीनलाई यसलाई सच्याउन भनेको छ।

तर चिनियाँ विज्ञप्तिमा विदेशमन्त्री वाङ यीको भनाइ राख्दै लेखिएको छ: "चीनले घटनाका सम्बन्धमा विरोध जनाउँदै भारतलाई विस्तृत अनुसन्धान गर्न... र यस्ता घटना दोहोरिन नदिन उत्तेजित बनाउने कार्य नगर्न माग गरेको छ।"

लद्दाख जाने राजमार्गमा खटिएका एक भारतीय सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, लद्दाख जाने राजमार्गमा खटिएका एक भारतीय सुरक्षाकर्मी
बुधवार लद्दाखतिर जाँदै भारतीय सेनाका गाडीहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बुधवार लद्दाखतिर जाँदै भारतीय सेनाका गाडीहरू
उच्च हिमाली क्षेत्रमा अवस्थित लद्दाखमा हिउँदमा तापक्रम -२० डिग्रीसम्म पुग्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उच्च हिमाली क्षेत्रमा अवस्थित लद्दाखमा हिउँदमा तापक्रम -२० डिग्रीसम्म पुग्छ