भारत निर्वाचन परिणाम: जितपछि मोदीले मतदातालाई धन्यवाद दिँदै के भने

मोदी र अमित शाह

तस्बिर स्रोत, Getty Images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति 'ऐतिहासिक जनादेश' दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन्।

बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए।

"हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु," भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने।

"आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्नेछैन।"

मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले झन्डै ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ।

सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको छ।

हार स्वीकार

भारतमा छ हप्तासम्म विभिन्न चरणमा भएको मतदानलाई मोदीको हिन्दू राष्ट्रवादी राजनीतिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो।

राहुल गान्धी र प्रियंका गान्धी

तस्बिर स्रोत, Getty Images

Presentational white space

मतदानमा कुल ९० करोडमध्ये ६० करोड मतदाताले सहभागिता जनाएका थिए।

भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्।

दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा दशकौँदेखि गान्धी परिवारको वर्चस्व थियो।

कङ्ग्रेसले नेतृत्व गरेको गठबन्धनले निर्वाचनमा एक सयभन्दा कम सीट जित्ने अपेक्षा गरिएको छ।

चुनावी हिसाब

मोदी

तस्बिर स्रोत, .

Presentational white space

कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तीमा २७२ सीट चाहिन्छ।

सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो।

उक्त निर्वाचनमा भाजपाको गठबन्धनले संसद्‌मा कुल ३३६ सीट ओगट्न सफल भएको थियो।

सन् २०१४ मा कङ्ग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धनसहित जम्माजम्मी ६० सीट पुगेको थियो।

भाजपा समर्थक

तस्बिर स्रोत, AFP

Presentational white space

हालको निर्वाचनमा भाजपाले निकै महत्त्वपूर्ण मानिने उत्तर प्रदेश राज्यमा पनि ५० प्रतिशत सीट जित्ने आकलन गरिएको छ।

असी सिट भएको उक्त राज्यमा दुईवटा क्षेत्रीय दलहरू मिलेर भाजपाविरुद्ध उभिएका थिए।

त्यस्तै पश्चिम बङ्गालमा पनि भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ।

भारतका पाँच राज्यमध्ये चार दक्षिणी राज्य आन्ध्र प्रदेश, तेलङ्गना, तमिलनाडू र केरलामा भने भाजपाको प्रदर्शन राम्रो हुन सकेन।