भारत परिवार नियोजनः महिला स्वास्थ्य कार्यकर्तालाई रबरको नमुना लिङ्ग दिइएपछि महाराष्ट्र राज्यमा विवाद

तस्बिर स्रोत, BBC Marathi
भारतको पश्चिमी राज्य महाराष्ट्रमा स्थानीय स्वास्थ्यकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिङ्ग राखिएको कुराले विवाद उत्पन्न भएको छ।
विपक्षी सांसदहरूले त्यस्ता सामानले महिला स्वास्थ्य कार्यकर्ताहरू अप्ठेरोमा पर्ने भन्दै आपत्ति जनाएका छन्। प्रजनन स्वास्थ्य र परिवार नियोजनका उपायबारे जनचेतना फैलाउन उनीहरूले त्यस्तो किट प्रयोग गर्दै आएका छन्।
तर केही महिला स्वास्थ्य कार्यकर्ताहरूले आफूहरूले बिनासङ्कोच रबरले बनेको लिङ्गको नमुना प्रयोग गर्ने गरेको बताएका छन्।
उक्त किटमा रबरको गर्भाशय पनि हुन्छ। तर त्यसले कुनै प्रश्न उठेको छैन।
त्यस्ता किटहरू मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा सेविका) हरूलाई दिइएको छ। उनीहरू भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममा महत्त्वपूर्ण मानिएका छन्।
उनीहरू सर्वसाधारणलाई प्रजनन स्वास्थ्य र परिवार नियोजनका साधनबारे जानकारी दिन घरघरमा जान्छन्। यो काम गर्दा निकै संवेदनशीलता आवश्यक पर्छ किनभने यौन भारतका धेरै ठाउँमा अझै पनि छलफल गर्न वर्जित विषय हो।
महाराष्ट्रस्थित सार्वजनिक स्वास्थ्य विभागकी निर्देशक अर्चना पाटिलले लिङ्गको नमुनासहित करिब २५,००० वटा किट राज्यका ग्रामीण स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीहरूलाई वितरण गरिएको बीबीसी मराठीलाई जानकारी दिइन्।
उनका अनुसार लिङ्गको नमुनाबारे बुल्धाना जिल्लाबाट मात्रै नकारात्मक प्रतिक्रिया आएको हो।

तस्बिर स्रोत, BBC Marathi
बीबीसी मराठीले बल्धानाका सात महिला स्वास्थ्यकर्मलाई लिङ्ग र गर्भाशयको नमुना उपकरण बोक्दा उनीहरूलाई असजिलो भए नभएको विषयमा सोधेको थियो।
तीमध्ये दुई जनाले प्रतिक्रिया दिन अस्वीकार गरे भने अरू दुई जनाले गाउँमा लगेर त्यस्ता सामग्री देखाउन असजिलो भएको बताए।
बाँकी तीन जनाले प्रयोगबारे बुझाउन त्यस्ता सामग्री बोक्न आफूहरूलाई कुनै समस्या नभएको बताए। तर कुरा गरिएका कसैले पनि आफ्नो नाम प्रकाशित नगर्न अनुरोध गरे।
डा. पाटिलले उक्त नमुना बोक्न कसैलाई पनि दबाव नदिइएको बताइन्।
"स्वास्थ्यकर्मीले नै यस्ता विषयबारे खुलेर कुरा गर्न अप्ठेरो मान्ने हो भने कसरी काम हुन्छ?" उनको प्रश्न छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
यो प्रदेशमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीसहित केही राजनीतिक दलका नेताहरूले त्यसमा असहमति जनाउँदै आएका छन्।
बुल्धानाका भाजपा सांसद आकाश फुन्डकरले सरकारलाई त्यस्ता सामग्री फिर्ता लिएर स्वास्थ्यकर्मीहरूसँग क्षमा माग्न माग गरेका छन्।
यो प्रदेशमा पार्टीको उपसभापति रहेकी चित्रा वाघ सरकारले यौन उत्तेजक कामलाई प्रोत्साहन दिएको आरोप लगाएकी छन्।
महाराष्ट्रको सरकारमा गठबन्धन साझेदार रहेको शिव सेना पार्टीका प्रतिनिधिले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
पुणेस्थित एक महिला स्वास्थ्य कार्यकर्ताले आफूहरूले यसअघि पनि परिवार नियोजनका विभिन्न पक्षबारे मानिसहरूलाई बुझाउन त्यस्ता नमुना प्रयोग गर्ने गरेको बताइन्।
"हामीले यो किट मानिसहरूलाई दिँदैनौँ। हामी मानिसहरूलाई परिवार नियोजनबारे बुझाउन यसको प्रयोग गर्छौँ। हामीलाई यसबारे तालिमकै क्रममा बुझाइएको हुन्छ," नाम नखुलाउन आग्रह गर्दै उनले भनिन्।
यौनविद् सागर मुन्दादा साक्षरता भएका ग्रामीण क्षेत्रहरूमा त्यस्ता नमुनाको प्रयोग महत्त्वपूर्ण हुने बताउँछन्।
"यसले गलत धारणा फैलाउँछ भन्नु उचित होइन। हामीले खुलेर बोल्यौँ भने मात्र मानिसहरूले राम्रोसँग बुझ्छन्। यदि यौनका विषयमा छलफल भएन भने चाहिँ त्यसले मानिसहरूमा गलत बुझाइ निम्त्याउँछ," उनले भने।

यो पनि हेर्नुहोस्
















