हिन्दू मुस्लिम सद्‌भाव: बाँकेका तीन स्थान जहाँ मुस्लिम मजारमा हिन्दूको पनि मेला लाग्छ

मुसबेट्वा बाबाको मजार
    • Author, विमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

बाँके जिल्लाका तीन स्थान खासगरी हिन्दू र मुस्लिम समुदायका मानिसहरूको आस्थाको केन्द्र बिन्दु रहँदै आएका छन्।

बाँकेको नरैनापुर गाउँपालिकामा खलिफा नुर अहमद शाहको मजार, डुडुवा गाउँपालिकामा हजरत बाबा कम्मर शाहको मजार र खजुरा गाउँपालिकामा मुसबेटवा बाबाको सम्झनामा प्रत्येक बर्ष मेला लाग्दै आएको छ।

जहाँ सबै धर्मका मानिसहरूले च्यादर चढाउने र भाकल गर्दै आएको बताइन्छ।

मुसबेट्वा बाबाको मजार

बाँकेको खजुरा गाउँपालिकास्थित मुसबेटवा बाबाको मजारमा प्रत्येक बर्षको बसन्त पञ्चमीमा तीन दिन मेला लाग्ने गर्दछ।

मुस्लिम बाबाको मजार तर उनको सम्झना बसन्त पञ्चमीमा गरिन्छ।

मेला उद्घाटनका दिन हिन्दू र मुस्लिम समुदायका र श्रद्धालुहरूले मुसबेटवा बाबाको मजारमा संयुक्त रूपमा नयाँ च्यादर ओढाउने गर्छन्।

त्यहाँ मुसबेटवा बाबासँगै हिन्दू धर्मका बाबाको पनि मजार बनाइएको छ।

खजुराका स्थानीय युवा सतिस निरौलाका अनुसार हिन्दू धर्मका बाबा र मुस्लिम धर्मका बाबा सदियौँदेखि मिलेर बस्ने र घुम्ने गरेका र पछि दुबैजनाको देहान्त भएपछि एकै ठाउँमा मजार बनाएर राखिएको हो।

४० बर्षीय निरौलाले भने, 'म जन्मेदेखि खजुरामा दुबै धर्मका मानिसहरूले एकै ठाउँमा च्यादर ओढाएको देख्दै आएको छु।'

उक्त मेला भर्न बाँके, बर्दिया र छिमेकी देश भारतबाट पनि मानिसहरू आउने गरेका छन्।

मेला सञ्चालक समितिका सदस्य निर्मल खनालले मेलाले गर्दा दुई धर्मबीच भाइचाराको सम्बन्ध बलियो हुँदै आएको बताए।

दुबै धर्मावलम्बीले एकै पटक श्रद्धा व्यक्त गर्ने स्थान बिरलै देखिने भएकोले यसको ऐतिहासिक महत्त्व रहेको र सधैँ एकताको सन्देश दिने गरेको स्थानीयवासीको भनाइ छ।

पहिले पाँच दिन लाग्दै आएको मुसबेटवा बाबा मेला सशस्त्र द्वन्द कालदेखि तीन दिन मात्र लाग्दै आएको बताइएको छ।

खलिफा नुर अहमदको मजार

१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि नरैनापुरमा पनि मेला लाग्दै आएको छ।

नरैनापुर गाँउपालिका वडा नम्बर २ को गङ्गापुर मियाँपुर्वामा सामाजिक तथा धार्मिक सद्भाव बढाउन मेलाले ठूलो भूमिका खेल्दै आएको स्थानियवासी बताउँछन्।

विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा बसन्त पञ्चमीदेखि १० दिनसम्म मेला सञ्चालन हुँदै आएको छ।

मेलामा सबै धर्मका मानिसहरू सहभागी हुने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

"मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा जादु खेल लगायत हुने गरेको छ," उनले भने, "कव्वाली सुन्न थुप्रै मानिस आउने गर्छन्।"

मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शनार्थीहरू आउने गरेको गाउँपालिका अध्यक्ष शाहले बताए।

हजरत कम्मर शाह बाबा मजार

हजरत कम्मर शाह बाबा मजार

बाँकेको डुडुवा गाउँपालिका ५ स्थित हजरत कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय स्थलमा पनि नरैनापुरमा जस्तै हरेकबर्ष पुस महिनामा धार्मिक सद्भाव झल्काउने मेला लाग्छ।

मेलामा भारतका साथै बाँकेका विभिन्न स्थानबाट हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरू सहभागी हुने गर्छन्।

कम्मर शाह बाबाले सैयौँ बर्षपहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दी लगायतका गाउँबाट गाइ भैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीयवासीहरू बताउँछन्।

यादवहरूको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या दूर हुने गरेको उनीहरूको विश्वास छ।

त्यसपछि कम्मर शाह बाबा त्यहाँबाट अन्यत्र जाने भनेपछि स्थानीयवासीले सोही स्थानमा बस्न बिन्ती गरेकाले ती बाबाले आफू गएपनि आफ्नो प्रतिकको रूपमा एउटा कम्बल छोडेर गएको र सबैले त्यही कम्बललाई कम्मर शाह बाबा मान्दै आएको स्थानीयवासी सकिल खाँले बताए।

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादव लगायत विभिन्न समुदायका मानिसहरूले प्रत्येक बर्ष च्यादर ओढाउने, भाकल गर्नेलगायतका कार्य गर्दै आएको स्थानीयवासी सुनिल यादवले बताए।

उनले भने, "मेरो हजुरआमा, आमा सबै जानुहुन्छ मन्नत माग्न म पनि मेलाको रमाइलो हेर्न कहिल्यै छुटाउँदिन।"

कव्वाली सुन्न जम्मा भएका मानिसहरू

यस्तै मजारमा भाकल गर्न पुगेकी नेपालगञ्जकी पूजा केसीले हिन्दूहरूको मन्दिर जस्तै मजारमा पनि आत्मा शान्तिको महसुस भएको बताइन्।

"जुन धर्मको आस्था केन्द्र भएपनि एउटै हुँदो रैछ मलाई कुनै फरक महसुस भएन", उनले भनिन्।

उक्त मजारमा पनि स्थानीय श्रद्धालु मात्र नभएर छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट पनि हजारौं श्रद्धालु आउने गरेका छन्।

सरकारले ओझेलमा परेका पर्यटकीय स्थलको प्रवर्धनका लागि दुई बर्षअघि एक सयवटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने क्रममा कम्मर शाह बाबाको मजारलाई पनि सूचीकृत गरिसकेको छ।