हिन्दुहरु मात्र भएको गाउँमा मुस्लिम पर्व

तस्बिर स्रोत, Satish Kumar
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसैनले शहादत प्राप्त गरेको सम्झनामा मुस्लिमहरुले मुहर्रमको दिन शोक मनाउँछन्।
नेपालका कतिपय ठाउँमा पनि मुहर्रममा मुस्लिमहरुसँगै हिन्दुहरु सहभागी हुने गर्छन्।
तर भारतको बिहारमा केही यस्ता गाउँ पनि छन्, जहाँ कुनै मुस्लिम परिवार नभए पनि हरेक वर्ष मुहर्रम मनाइन्छ।
बिहारको नवादा जिल्लाका चारवटा गाउँका हिन्दुहरुले मुहर्रम मनाउने गरेका हुन्।
मनोकांक्षा
घोराही गाउँका धर्मेन्द्र राजवंशी भन्छन्, "मैले मेरा बुवा र हजुरबुवाले मुहर्रम मनाएको देखेको छु र त्यसलाई हामीले अहिलेसम्म निरन्तरता दिइरहेका छौँ। एउटा मनोकांक्षा पूरा भएपछि उहाँहरुले मुहर्रम मनाउन थाल्नुभएको थियो।"
पेशाले चालक रहेका धर्मेन्द्र त्यो मनोकांक्षा चाहिँ सम्झिन सक्दैनन् तर यसपटक पनि मुहर्रम मनाउने तयारी उनले पूरा गरिसकेका छन्।

तस्बिर स्रोत, Satish Kumar
उनी थप्छन्, "मैले ताजिया पनि तयार गरिसकेको छु। आइतवार गाउँलेहरु मिलेर ताजियालाई परिक्रमा गराउँछौँ। कागजबाट बनाइएको ताजियामा मिठाई चढाउँछन् र त्यसपछि मुस्लिम धर्मगुरुलाई बोलाएर खुला मैदानमा विसर्जन गराउँछन्।"
धर्मेन्द्रका फुपूका छोरा मनोज राजवंशी मुहर्रममा पैकार अर्थात् मयुर जस्तो सजिएर गाउँमा घुम्छन्।
मनोजले भने, "म पनि धर्मेन्द्र दाइकै सेवामा जुटेको छु। शुक्रवार र शनिवार गरी छ-सातवटा गाउँ घुमिसक्यौँ।"
फरक
घोराही गाउँदेखि अलि पर नजामत-कटहरा गाउँ छ।
गाउँलेहरुका अनुसार कुनैबेला मुस्लिम जमिनदार थिए तर अहिले सो गाउँमा एउटा पनि मुस्लिम परिवार छैन।
गाउँका दलितहरु पूरै श्रद्धाका साथ मुहर्रम मनाउँछन्।

तस्बिर स्रोत, Satish Kumar
स्थानीय किसान रामविलास राजवंशीले भने, "यसपटक हामीले १२ फिट अग्लो ताजिया बनाएका छौँ। हामी सबैले पैसा हालेर ताजिया बनाउँछौँ र मुहर्रम बनाउँछौँ।"
कटहरा गाउँका कामेश्वर पण्डितको मुहर्रम मनाउने कहानी चाहिँ अलि फरक छ।
जुलुस
पेशाले कुम्हाले कामेश्वर भन्छन्, "हजुरबुवाले मुहर्रम मनाउने गर्नुहुन्थ्यो तर बुवाले मनाउन छाड्नुभयो। पछि मलाई नराम्रो लाग्न थाल्यो र मुस्लिम गुरुज्यूले भनेपछि मैले मुहर्रम मनाउन थालेँ।"
करिब २० वर्षदेखि कामेश्वरले मुहर्रम मनाउँदै आएका छन्।

तस्बिर स्रोत, Satish Kumar
आफूले मुहर्रम मनाउन थालेपछि आँखाको ज्योतिमा सुधार आएको उनी बताउँछन्।
भाइसँग मिलेर मुहर्रमको तयारी गर्ने गरेको बताउने कामेश्वरका अनुसार ताजिया विसर्जन गर्ने दिन गाउँलेहरु श्रद्धाका साथ जुलुसमा सामेल हुन्छन्।








