भारत: सबै धर्मका अनुयायीको प्रजनन दरमा 'ठूलो ह्रास', ७० वर्षमा धार्मिक संरचनामा 'सामान्य परिवर्तन मात्र' - अध्ययन

तस्बिर स्रोत, AFP
- Author, सौतिक बिस्वास
- Role, भारत संवाददाता
प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनमा भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको देखाएको छ।त्यसले गर्दा सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा "सामान्य मात्र परिवर्तन" देखिएको छ।
भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन्।
बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन्।
भारतमा प्रत्येक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस) को तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो।
औपनिवेशिक भारतको सन् १९४७ मा हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तानमा विभाजन भएपछि जनसङ्ख्या तीन गुनाभन्दा बढी भएको छ।
सन् १९५१ मा भारतको जनसङ्ख्या ३६ करोड १० लाख थियो भने सन् २०११ मा त्यो बढेर एक अर्ब २० करोडभन्दा बढी भयो।
सन् १९५१ देखि स्वतन्त्र रूपमा जनगणना हुन थालेको भारतमा पछिल्लो पटक सन् २०११ मा जनगणना भएको थियो।
उक्त अध्ययनले सो अवधिमा भारतका सबै धर्मका अनुयायीको जनसङ्ख्यामा वृद्धि पाएको छ।
हिन्दूको जनसङ्ख्या ३० करोड ४० लाखबाट बढेर ९६ करोड ६० लाख, मुस्लिमको जनसङ्ख्या तीन करोड ५० लाखबाट बढेर १७ करोड २० लाख र आफूलाई इसाई भनेर चिनाउने भारतीयको सङ्ख्या ८० लाखबाट बढेर दुई करोड ८० लाख पुगेको छ।


तस्बिर स्रोत, AFP
कुन धर्म मान्नेको जनसङ्ख्या कति?
- सन् २०११ को जनगणना अनुसार भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा हिन्दू ७९.८ प्रतिशत छन्। विश्वका हिन्दूमध्ये ९४ प्रतिशत भारतमा बस्छन्।
- कुल भारतीयमध्ये १४.२ प्रतिशत मुस्लिम छन्। भारत विश्वमा धेरै मुस्लिम जनसङ्ख्या हुने मुलुकमध्येमा पर्छ। इन्डोनेशियापछि भारतमा सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या छ।
- इसाई, सिख, बौद्ध र जैनहरू सबैको गरेर भारतमा ६ प्रतिशत जनसङ्ख्या छ।
- सन् २०११ मा करिब ३० हजार भारतीयले मात्र आफूलाई नास्तिक बताएका थिए।
- करिब ८० लाख मानिसहरूले आफूहरू कुनै पनि ठूला छवटा समूहभित्र नपर्ने बताएका थिए।
- भारतमा ८३ वटा साना धार्मिक समूह थिए र तिनका कम्तीमा १०० जना अनुयायी थिए।
- प्रत्येक महिना भारतमा करिब १० लाख निवासी थपिन्छन्। सोही गतिमा यो वृद्धि भइरहे सन् २०३० मा भारत चीनलाई उछिन्दै विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्नेछ।
(स्रोत: २०११ को जनगणना, प्यू रिसर्च सेन्टर)

कसको प्रजनन दर कति?
मुस्लिमहरूको प्रजनन दर अहिले पनि उच्च छ। सन् २०१५ को विवरणअनुसार एक मुस्लिम महिलाले २.६ बच्च जन्माउँछिन्।
त्यसपछि हिन्दूहरूको प्रजनन दर उच्च छ। एक हिन्दू महिलाले २.१ बच्चा जन्माउने दर देखिएको छ।
जैनको प्रजनन दर भने सबैभन्दा कम छ। एक जैन महिलाले बच्चा जन्माउने दर १.२ रहेको छ।
उक्त अध्ययनअनुसार सन् १९९४ मा र अहिले प्रजनन दरको सामान्य स्वरूप उस्तै छ।
त्यस बेला पनि मुस्लिमहरूको प्रजनन दर उच्च (४.४) थियो भने दोस्रोमा हिन्दूहरू (३.३) थिए।

तस्बिर स्रोत, AFP
"तर बच्चा जन्माउने अन्तर भारतका धार्मिक समूहहरूमा सामान्यतया पहिलेको तुलनामा एकदमै झिनो छ," उक्त अध्ययनले भनेको छ।
अनि विगतका दशकहरूमा जनसाङ्ख्यिक वृद्धि हिन्दूको भन्दा अधिक देखिएका सीमान्त समूहहरूमा अहिले त्यस्तो वृद्धि निकै सुस्त भएको स्पष्ट देखिएको छ।
धार्मिक अनुसन्धानमा विशेषज्ञता भएकी प्यू रिसर्च सेन्टरकी एक वरिष्ठ अनुसन्धाता स्टेफनी क्रेमरका अनुसार रोचक कुरा के हो भने मुस्लिमहरूमा एकै पुस्तामा २५ वर्ष मुनिका प्रतिमहिला दुई बच्चाको प्रजनन दरमा कमी आएको छ।
भारतमा एक महिलाले बच्चा जन्माउने औसत दर सन् १९९० को आरम्भतिर ३.४ रहेकोमा सन् २०१५ मा घटेर २.२ भएको छ।
उक्त दर मुस्लिमहरूमा ४.४ बाट घटेर २.६ भई अझ तीव्र बनेको देखिएको छ।
साठी वर्षको समयमा भारतमा मुस्लिम जनसङ्ख्याको अंश चार प्रतिशतले बढेको र त्यत्तिकै सङ्ख्यामा हिन्दू जनसङ्ख्या घटेको देखिएको छ।
अन्य समूह लगभग स्थिर देखिएका छन्।
क्रेमर भन्छिन्, "जनसाङ्ख्यिक मात्राको यो सामान्य परिवर्तन हेरेर के भन्न सकिन्छ भने कम्तीमा केही अघिसम्म औसत भारतीय महिलाको तुलनामा मुस्लिम महिलाहरूका बच्चा अधिक भए।"
उक्त अध्ययनमा परिवारको आकारलाई प्रभावित गर्ने विभिन्न कारणहरू हुने भएकाले धार्मिक आस्थाले प्रजननमा कति प्रभाव पारेको छ भनेर निर्क्योल गर्न नसकिने उल्लेख छ।
अन्य कैयौँ देशहरूमा जस्तो भारतमा धर्म परिवर्तन वा आप्रवासनका कारण जनसाङ्ख्यिक परिवर्तन नगण्य रहेको अध्ययनले देखाएको छ।
भारतमा देखिएको सामान्य धार्मिक परिवर्तनको सबैभन्दा ठूलोको कारण प्रजनन दर नै रहेको देखिएको छ।
भारतमा रहेका युवा जनसङ्ख्यामा बच्चा जन्माउने उमेरमा प्रवेश गर्ने महिलाको सङ्ख्या पहिलेको तुलनामा बढी भएकाले पनि पहिलेको तुलनामा जनसङ्ख्या वृद्धि चाँडो भएको देखिएको छ।
उक्त अध्ययनका अनुसार सन् २०२० मा हिन्दूहरूमा मध्य उमेर २९, मुस्लिममा २४ र इसाईमा ३१ वर्ष देखिएको छ।

तस्बिर स्रोत, Reuters
भारतमा जनसङ्ख्या वृद्धि गराउने अन्य कुरामा महिलाको शिक्षाको स्तर पनि रहेको देखिएको छ।
त्यहाँ उच्च शिक्षित महिलाहरू ढिलो बिहे गर्ने र अन्य महिलाको तुलनामा ढिलै पहिलो बच्चा जन्माउन थालेका छन्।
त्यस्तै धन सम्पत्ति पनि बच्चा जन्माउने अर्को कारक तत्त्व हो। गरिब महिलाहरू उनीहरूको घरायसी खर्चमा सन्तानले मद्दत गर्न सकून् भनेर धेरै बालबच्चा जन्माउँछन्।
उक्त अध्ययनको निष्कर्ष खासै आश्चर्यजनक भने होइन किनकि हालैका दशकहरूमा भारतमा प्रजनन दर तीव्र रूपमा घटिरहेको छ।
भारतमा एक महिलाले औसतमा आफ्नो जीवनमा २.२ सन्तान जन्माउने अपेक्षा गर्छन्।
त्यो अमेरिका (१.६) जस्तो देशको तुलनामा बढी हो भने भारतकै सन् १९९२ (३.४) र १९५० (५.९) को तुलनामा कम हो।
उक्त अध्ययनको एउटा रोचक तथ्य के हो भने एकदमै थोरै मात्र भारतीयले कुनै पनि धार्मिक समूहको सदस्य नभएको बताएका छन्।
विश्वव्यापी रूपमा हेर्ने हो भने इसाई र मुस्लिमपछि कुनै पनि धार्मिक समूहमा नरहेको बताउनेहरू तेस्रो स्थानमा आउँछन्।










