नेपालको जनसङ्ख्या तीन करोड पुगेपछि कस्ता छन् चुनौती र अवसरहरू

जनगणना

तस्बिर स्रोत, CBS Nepal

    • Author, विनीता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पछिल्लोपटक विक्रम संवत् २०६८ मा गरिएको गणनाअनुसार जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कका आधारमा केन्द्रीय तथ्याङ्क विभागले देशको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको छ। त्यति बेला भएको एघारौँ जनगणना अनुसार नेपालको जनसङ्ख्याको वृद्धिदर १.३५ प्रतिशत रहेको थियो।

हरेक १० वर्षमा जनगणना गर्दै आएको विभागले २०७८ सालमा बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ गर्दैछ।

त्यसरी जनगणना गर्दा जनसङ्ख्यामा परिवर्तन गराउने कारण मानिने जन्मदर, मृत्युदर र बसाइँसराइ तीनवटा पक्ष हेर्दा जनसङ्ख्यामा वृद्धि हुने देखिएको यस क्षेत्रका विज्ञहरू बताउँछन्।

वृद्धि हुने कारण

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक उत्तम नारायण मल्ल भन्छन्, "कोरोनाभाइरसका कारण १० लाख युवाहरू भित्रिने सरकारको ठम्याइ छ। ती सबै युवाहरू भित्रिँदा त्यसले जन्मदरमा वृद्धि गर्छ र तीमध्ये धेरै युवा नेपालमा बस्ने अवस्था देखिएकोले अबको जनगणनामा वृद्धि हुने देखिन्छ।"

बाल मृत्युदर र मातृ मृत्युदरमा पनि दक्षिण एशियाली मुलुकमध्ये नेपालमा सुधार देखिएकोले जनसङ्ख्या वृद्धि हुने अर्को कारण पनि रहेको उनले बताए।

कालिकोटको एउटा नगरपालिकाले रोजगार ब्याङ्कको अवधारणा अघि बढाएको हो
तस्बिरको क्याप्शन, कालीकोटको एउटा नगरपालिकाले रोजगार ब्याङ्कको अवधारणा अघि बढाएको छ

तर विगतमा जनसङ्ख्या वृद्धि समस्याका रुपमा लिइने भए पनि हालैका वर्षहरूमा जनसङ्ख्या वृद्धिलाई सकारात्मक पाटोबाट हेर्नुपर्ने विज्ञहरू बताउँछन्।

योजना

विभागका निर्देशक रहेका जिष्णुमोहन भट्टराई भन्छन्, "जनसङ्ख्या वृद्धि हुँदा त्यसले ल्याउने सामाजिक सांस्कृतिक परिवर्तन हेरी त्यो अनुसारका योजनाहरू सरकारले समयदेखि नै बनाउँदै जानुपर्छ।"

उनका अनुसार पछिल्लो समय जनसङ्ख्याको ठूलो हिस्साले एक वा बढीमा दुई सन्तान जन्माइरहेकाले भविष्यमा दुई सन्तान जन्माउनेलाई यस्तो सुविधा वा सहुलियत दिइन्छ भन्ने खालका अवधारणा ल्याउन थाल्नुपर्ने बताए।

विभागका पूर्वमहानिर्देशक मल्लले कोभिड-१९ को सङ्कटमाझ जनसङ्ख्याको वृद्धि हुने सङ्केत देखिएको कुरालाई सकारात्मक लिनुपर्ने र त्यो अनुसारका योजनाहरू बनाउनुपर्ने बताए।

चुनौती

"अहिले तत्कालका लागि अर्थतन्त्र कोरोनाभाइरसका कारण डामाडोल भएको देखिएको छ।

नेपाल फर्किने वा फर्किएका युवाहरूले रोजगारीका अवसर नदेखेका बेला सरकारले नीति र योजनाहरू तर्जुमा गर्नुपर्छ," महानिर्देशक मल्लले भने, "काम गर्ने उमेर समूहका युवाहरूको ठूलो जनसङ्ख्या नेपाल फर्किएको या फर्किने क्रममा देखिन्छ। उनीहरूलाई कृषि लगायत उत्पादन र निर्माणका विभिन्न क्षेत्रमा प्रयोग गरेर सरकारले अर्थतन्त्र उकास्न सक्छ।"

तत्काल आउने रेमिट्यान्स घटेको देखेर सरकार आत्तिनु नहुने उनले बताए।

अवसर

"आर्थिक पाटोमात्रै नहेरी हामीले सामाजिक र सांस्कृतिक पाटो पनि हेर्नुपर्छ। २०६८ को जनगणनाका क्रममा हामीले देखेका थियौँ। युवा पैसा कमाउन विदेशमा छन्। श्रीमती छोराछोरी लिएर सदरमुकाम वा सुगम क्षेत्रमा बस्दा वृद्ध आमाबुवा गाउँमा छन्," मल्ल भन्छन्।

खेतीपाती

तस्बिर स्रोत, Rss

"अहिले यो महामारीले परिवार पुनर्मिलनका लागि अवसर पनि दिएको छ। गाउँमै खेती वा आफ्नो शीप अनुसार काम गर्न युवा चाहन्छन्। सरकारले त्यो अनुसारको अवसर बनाइदिन थाल्नुपर्छ।"

अघिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

सरकारले प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गरेको छ। आगामी वर्ष असारमा हुने जनगणनाका लागि विभागले कार्यतालिका स्वीकृत गरिसकेको छ।