कोरोना भाइरस नेपाल: महामारीले बाँझो जग्गामा खेती बढ्ने आशा

कृषि

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालका झन्डै २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये पाँचदेखि १० प्रतिशत बाँझो रहेको सरकारी आकलन छ

कोरोनाभाइरस महामारीमा गाउँघर फर्किएका मानिसहरू बाँझो छाडेका जमिनमा खेती गर्न थालेका छन्।

सरकारले लकडाउन घोषणा गर्नुअघि र पछि ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना गाउँ फर्किएका छन्।

एक अधिकारीले तरकारी बाली र धानखेतीमा गाउँमा फर्किएका व्यक्तिहरू संलग्न भइरहेको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

नेपालमा श्रमशक्तिको अभाव र अन्य कारणले जमिनहरू बाँझो रहने गरेका बताइन्छ।

बाँझो जमिनमा खेती

नुवाकोट जिल्लामा कैयौँ फर्किएका व्यक्तिहरू तरकारी र फलफूल खेतीमा लागेका छन्।

म्यगाङ गाउँपालिकाकाका रामबहादुर तामाङको परिवार जिल्ला सदरमुकाममा बस्दै आएको थियो।

उनी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि परिवारले खेती गर्न नसेकेर गाउँको जग्गा बाँझो राखेको थियो।

कोभिड-१९ को महामारी फैलिएसँगै गाउँ फर्किएको उनको परिवारले अहिले जीविकोपार्जनकै लागि बाँझो खेतमा काम गर्न थालेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तामाङ् भन्छन्, “बच्चा पढाउन त्रिशुली राखेको परिवार अब शैक्षिक संस्थाहरू बन्द भएपछि त्यहाँ बस्नुको कुनै अर्थ छैन्।

"अहिले खेतबारीको संरक्षण गर्ने मौका मिलेको छ। गाउँमा सबैले बाँझो जग्गामा खेती सुरु गरेका छन्।”

कोरोनाभाइरसको जोखिम रहेकाले भेटघाटमा निस्कनुभन्दा पनि मानिसहरू आफ्नै खेतमा व्यस्त हुन थालेका छन्।

जिल्ला सदरमुकाम बस्दै आएकी जमुना तामाङ अब गाउँमै तरकारी व्यवसायी गरेर बस्ने सोचमा रहेको बताउँछिन्।

उनी भन्छिन्, “आगामी दिनमा मौसम अनुसारको खेती गर्दैछु। दुख गरेर बाँझो जग्गालार्इ खेतीयोग्य बनाइसकेपछि लकडाउन खुले पनि गाउँमै बस्छु।"

कृषि

तस्बिर स्रोत, RSS

सहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँघरमा अहिले चहलपहल रहेको र यसले कृषिलाई बलियो बनाउने मौका दिएको अगुवाहरू बताउँछन्।

गाउँका ६२ वर्षीय ओमबहादुर तामाङले महामारीसँगै मानिसहरू आफ्ना खेतमा काम गर्न फर्किएको देख्दा खुसी लागेको बताए।

उनले भने, “पहिला चाडपर्वमा मात्रै मानिसहरू गाउँघरमा देख्न पाइन्थ्यो।"

"बाउबाजेले अर्जेका जमिन बाँझै छाडेर मानिसहरू सहरतिरै बसिरहेका थिए। अहिले ती जग्गा फाडेर तरकारी, मकै, कोदो र धान खेती गरेको देख्दा रमाइलो लाग्छ।”

कृषि उकास्ने अवसर

सरकारी अधिकारीहरू पनि कोरोनाभाइरसको महामारीले कृषि क्षेत्रलाई उकास्ने मौका दिएको बताउँछन्।

कृषि विभागका वरिष्ठ अर्थविद् डा. महादेवप्रसाद पौडेल भन्छन्, “पछिल्लो दुई तीन महिनामै हेर्दा तरकारी र धान खेतीमा मानिसहरूको सहभागिता बढिरहेको छ। त्यसबाट उत्पादन बढ्ने सम्भावना देखिन्छ।”

“कोरोनाभाइरसका कारण विदेशमा रोजगार गुमाएर फर्कनेहरूले पनि तत्कालै रोजगारी पाउन गाह्रो हुने देखिएकाले उनीहरू गाउँघरमा नै कृषि क्षेत्रमा नै संलग्न हुने अवस्था छ।”

कृषि

तस्बिर स्रोत, RSS

नेपालमा झन्डै २५ लाख हेक्टर कृषियोग्य जमिन रहेको अधिकारीहरू बताउँछन्।

त्यसमध्ये कति जमिन बाँझो छन् भने आँकडा नरहेपनि पाँचदेखि १० प्रतिशतसम्म जमिन बाँझो रहेको अधिकारीहरू बताउँछन्।

बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, कृषि लागतमा वृद्धि र उत्पादनमा ह्रास जस्ता कारणले जमिन बाँझो रहेको मानिन्छ।

सन् २००८ को श्रम सर्वेक्षणले नेपालमा कृषि क्षेत्रमा आवद्ध जनसङ्ख्या ७३.९ प्रतिशत उल्लेख गरेकोमा सन् २०१८ मा त्यो घटेर ६०.४ मा आइपुगेको देखाएको छ।