कोरोना भाइरस नेपाल: ‘पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँको आम्दानी गुमाइसक्यो’

काठमाण्डू

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि नेपालको पर्यटन उद्योगमा प्रभाव परेको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

कोरोनाभाइरस महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भएको छ।

कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन ठप्प छ।

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोनाभाइरस सङ्क्रमणका कारण क्षति बेहोर्नुपरेको थियो।

ज्यानुअरी महिनामा झन्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसपछि त्यो झन् घट्दै गयो।

कति परेको छ असर?

संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ।

वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन्।

विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्नेछ।

विश्वभर करिब नौदेखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने सङ्गठनको भनाइ छ।

पोखरा

तस्बिर स्रोत, RSS

नेपालको पर्यटनमा कोरोनाभाइरसको प्रभाव अत्यन्त गम्भीर हुने बताइएको छ।

नेपाल पर्यटन बोर्डको पूर्व प्रमुख कार्यकारी दीपकराज जोशी भन्छन्, "नेपालमा पर्यटनसँग धेरै थोक जोडिएको छ। विमानसेवा, होटल तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएका छन्।"

"यी सबैमा परेको असरको अध्ययन गर्दा सन् २०२० सुरु भएयता मात्रै एक खर्ब रुपैयाँ आम्दानी गुमिसकेको छ।"

नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित रहेको जोशी बताउँछन्।

सेर्पा

तस्बिर स्रोत, AFP

धेरै प्रभावित

पर्यटकलाई घुमाएर प्राप्त हुने सेवाशुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन्।

नेपाल टुर गाइड सङ्घका पूर्वअध्यक्ष हरेराम बराल भन्छन्, "यहाँ करिब पाँच हजार लाइसेन्स लिएका गाइडहरू कार्यरत थिए। उनीहरूमध्ये अधिकांश स्वतन्त्ररूपमा आफैँ कमाइ गर्थे।"

"यी फ्रिलान्सर गाइडहरू अहिले सबभन्दा धेरै मर्कामा परेका छन्। पहिलेको बचत चलाएर गुजारा गरिरहेका छन्। यिनको न कुनै बीमा छ न कसैले यिनलाई राहत दिएको छ।"

रेष्टुराँ तथा होटलहरूको कथा उस्तै छ।

होटल सङ्घ नेपालमा देशमा पर्यटक स्तरका सानादेखि तारेसम्म गरि ३,५०० होटल आबद्ध छन्। तिनले प्रत्यक्ष एक लाख अनि समग्र आतिथ्य क्षेत्रमा ४ लाखलाई रोजगारी दिएको बताइन्छ। अहिले ती सबै बन्दको अवस्थामा छन्।

सङ्घका प्रमुख कार्यकारी टेकबहादुर महतले "यहाँ खासगरी तीन वर्गका होटललाई तीन थरीको समस्या परिरहेको छ। पहिलो वर्गमा पुराना र स्थापित होटल छन् जसलाई कर्मचारीको तलबभत्ता बेहोर्न मुस्किल परिरहेको छ। दोस्रो वर्गमा नयाँ लगानीमा बनेको वा बन्दै गरेका अन्तर्राष्ट्रिय चेनका होटल छन् जसलाई ब्याङ्कबाट लिएको कर्जा र ब्याजले सताएको छ। तेस्रो वर्गमा पर्यटकस्तरका साना होटल पर्छन् र यो वर्गले ९५ प्रतिशत होटल ओगट्छ। यिनीहरूचाहिँ धेरै भाडामा सञ्चालित हुनाले भाडा तिर्ने समस्यामा छन्," बताए।

सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए

होटलजस्तै पर्यटनमा निर्भर रहने 'पर्यटक स्तर'का रेष्टुराँ पनि अप्ठेरोमा परेका छन्।

देशभरि यस्ता रेष्टुराँको सङ्ख्या ४,००० रहेको बताइन्छ। ती प्रत्येकमा २० देखि ३० जनासम्मको प्रत्यक्ष रोजगारी अनि त्यसैमा सागसब्जी, दूध तथा खाद्यान्नलगायत बेचेर कमाउने अन्य दशौँ हजार मानिसहरू अहिले प्रभावित छन्।

काम नभएपछि तिनले एक त वैशाखयता तलबज्याला तिर्न सकेका छैनन् भने अर्कोतिर अधिकांशले भाडा पनि तिर्न सकेका छैनन्।

रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल रेबानका पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ भन्छन्, "यसअघि हामीले कमाउँदा राज्यलाई कर तिर्दै आएको हो। अहिलेको अवस्थामा पनि हामीलाई राहत होइन बरु कर्जा वा करमा अन्य सुविधा दिए हुने थियो।"

"कतिपय घरधनीहरू स्वयम् पनि भाडामै आश्रित हुन्छन् त्यसैले भाडा तिर्नेबारे पनि दुवैलाई हुने गरी नीति बनाइदिनुपर्‍यो। अहिले हामीलाई जोगाइयो भने त भोलि हामी कर तिरिहाल्छौँ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

जोगाउने प्रयास के भइरहेका छन्?

युरोपका कैयन् देशले बिस्तारै पर्यटन उद्योग खोल्न थालेका छन्।

स्वास्थ्यका विभिन्न मापदण्ड ल्याएर त्यहाँ सुरक्षित पर्यटन थालिएको छ।

नेपालमा पनि पर्यटनका हरेक विधालाई समेट्ने गरि सुरक्षित सञ्चालनको मापदण्ड बनाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए।

सगरमाथा

तस्बिर स्रोत, AFP

रेग्मीले भने, "विश्व स्वास्थ्य सङ्गठन तथा विश्व पर्यटन सङ्गठनबाट आएका सुरक्षा मापदण्डलाई नेपाल सुहाउँदो बनाएर विस्तृत प्रतिवेदन सरकारलाई बुझाइएको छ।"

"त्यो लागु भएमा नेपाल पनि अरूभन्दा पछि नपरी सुरक्षित पर्यटनको बाटोमा लाग्नसक्छ भन्ने आशा छ।"

हालै आफूहरूले दिएको सुझाव अनुरूप बजेटमा पनि तीन ढङ्गले यो क्षेत्रको समस्या समाधान गर्न खोजिएको उनले बताए।

पहिलो त यहाँको रोजगारी जोगाउन करिब पचास अर्ब रुपैयाँ विनियोजन भएको अनि देश दर्शन जस्तो नीतिगत व्यवस्थामार्फत् आन्तरिक पर्यटन प्रवर्धन गर्न खोजिएको तथा अन्य वित्तीय सहयोग रहेको उनी बताउँछन्।

"तर कतिपय सुविधाको हकमा उपभोग गर्न व्यवहारिक कठिनाइ पर्ने देखिन्छ। खासगरी त्यसका लागि करचुक्ता तथा आयकर तिरेको देखाउने कुराहरू छन् जुन चाहिँ तल्लो वर्गका श्रमिकहरूका निम्ति देखाउन कठिन हुनसक्छ। धेरै जोखिममा परेकाले यी सुविधा नपाउन सक्छन्," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस सन्त्रासले नेपाल आउने पर्यटक घटे

आन्तरिक पर्यटनमा नजर

महामारीको अन्त्यबारे अनिश्चय रहेको सन्दर्भमा देशअनुसार यसको पुनर्उत्थानको समयतालिका पनि फरक हुनसक्छ।

धराशायी पर्यटनलाई उठाउने क्रममा सबभन्दा पहिले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्।

रेग्मीले पर्यटन उकास्न आफ्नो तीन चरणको रणनीति रहेको बताए।

उनले भने, "पहिलो त आन्तरिक पर्यटन बढाउन देशदर्शन जस्ता यात्रा प्याकेज व्यवसायीहरूले बनाउनुपर्छ।"

"त्यसपछि दोस्रो चरणमा भारत र चीनजस्ता छिमेकी देशका पर्यटक भित्र्याउनुपर्छ भने अन्तिम चरणमा टाढाबाट आउने पर्यटकहरूलाई स्वागत गर्नुपर्छ।"

अन्नपूर्ण आधार शिविरबाट फर्किँदै गरेका रुसी पर्यटकहरू

पहिलो प्राथमिकता आन्तरिक पर्यटनमा हुनुपर्नेमा बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशी सहमत छन्।

"अघिल्ला वर्षमा १३ लाख नेपाली पर्यटनका लागि विदेश गएका थिए। हामीले तिनलाई समेत गरी घुमघाममा खर्च गर्न सक्ने करिब २५ लाख नेपालीलाई देशभित्रै घुम्ने वातावरण बनाउन सक्छौँ।"

"यसले हाम्रा पर्यटनका सबै विधा नभएपनि धेरैलाई भरथेग हुन्छ।"

महामारीपछिको अवस्थामा मानिसहरू धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमा बढी आकर्षित हुने विश्वभरिका पर्यटनविद्हरूले बताउँदै आएका छन्।

त्यसमा नेपालले फाइदा लिन सक्ने बताइन्छ।

जोशी भन्छन् २०२० लाई पर्यटन जोगाउने वर्षको रूपमा लिने अनि २०२१ मा पुनर्उत्थान गरेर २०१९ को हाराहारीमा पुर्‍याउन सकियो भने सन् २०२२ देखि नेपालले पुन: वृद्धिको मार्ग समाउन सक्छ।