सन् २१०० मा पृथ्वीको जनसङ्ख्या 'निकै आश्चर्यजनक' ढङ्गले कम हुने

तस्बिर स्रोत, Getty Images
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
अध्ययनकर्ताहरूले विश्व बालबालिकाको घट्दो जन्मदरसँग जुझ्न तयार नरहेको बताउँदै त्यसले समाजमा 'निकै आश्चर्यजनक' असरहरू पार्ने बताएका छन्।
घट्दो जन्मदरको अर्थ लगभग सबैजसो देशमा यो शताब्दीको अन्त्यमा जनसङ्ख्या घट्नु हो।
स्पेन र जापान सहित २३ देशमा सन् २१०० मा अहिलेको भन्दा आधा जनसङ्ख्या हुने अनुमान गरिएको छ।
असी वर्षसम्म बाँच्ने मानिसहरू धेरै हुँदा ती देशमा बुढ्यौली जनसङ्ख्या समेत नाटकीय रूपमा उच्च हुनेछ।
के भइरहेको छ?
प्रजनन दर अर्थात् एक महिलाले जन्माउने बालबालिकाको औसत सङ्ख्या घट्दो छ।
यदि त्यो अङ्क २.१ बाट घट्यो भने जनसङ्ख्याको आकार समेत घट्न थाल्छ।
सन् १९५० मा एक महिलाले औसत ४.७ सन्तान जन्माउने गरेकी थिइन्।
यूनिभर्सिटी अफ वाशिङ्टनको इन्स्टीच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनको एक अध्ययनका अनुसार विश्वभरिको औसत जन्मदर सन् २०१७ मा २.४ थियो।
द ल्यान्सेट जर्नलमा प्रकाशित उक्त अध्ययनले सन् २१०० मा जन्मदर १.७ भन्दा कम हुने जनाएको छ।

सो अध्ययनले यस ग्रहमा सन् २०६४ मा सबैभन्दा ठूलो जनसङ्ख्या पुगेर ९.७ अर्ब मानिस बस्नेछन्।
तर शताब्दीको अन्त्यमा भने पृथ्वीको जनसङ्ख्या ८.८ अर्ब हुनेछ।
एक अध्ययनकर्ता प्राध्यापक क्रिस्टोफर मरीले बीबीसीलाई भने: "यो निकै ठूलो कुरा हो; धेरैजसो विश्व प्राकृतिक जनसङ्ख्या घट्ने अवस्थामा छ।"
"यो कति ठूलो कुरा हो भन्ने आत्मसाथ गर्न निकै कठिन छ; यो असामान्य कुरा हो। हामीले समाजलाई पुर्नसंरचना गर्नुपर्छ।"
जन्मदर किन घटिरहेको छ?
जन्मदरको कुरा भए पनि यसको शुक्राणुसँग कुनै सरोकार छैन।
धेरै महिलाहरू शिक्षा र काममा जोडिँदा यस्तो प्रभाव देखिएको हो।
परिवार नियोजनका साधनसम्म बढेको पहुँच र निर्णय प्रक्रियामा महिलाहरू सहभागी भएर उनीहरूले कम सन्तान जन्माउन चाहनुसँग यो जोडिएको छ।
थुप्रै अवस्थामा घट्दो जन्मदर एउटा सफलताको कथा हो।
उच्च प्रभावित देशहरू
जापानको जनसङ्ख्या सन् २०१७ मा सबैभन्दा उच्च १२ करोड ८० लाख पुगेकोमा त्यसपछि घट्दै शताब्दीको अन्त्यसम्म पाँच करोड ३० लाखभन्दा कम हुने अपेक्षा गरिएको छ।
त्यस्तै इटलीको जनसङ्ख्या नाटकीय रूपमा कम हुने देखिएको छ। त्यहाँ सन् २०१७ र सन् २१०० बीचमा छ करोड १० लाखबाट दुई करोड ८० लाखमा जनसङ्ख्या पुग्नेछ।
आधाभन्दा बढी जनसङ्ख्या घट्ने ठानिएका देशमा स्पेन, पोर्चुगल, थाइल्याण्ड र दक्षिण कोरिया छन्।

तस्बिर स्रोत, Getty Images
प्राध्यापक मरी भन्छन्: "यो निकै आश्चर्यजनक कुरा हो।"
विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनमा शताब्दीको अन्त्यमा अहिलेभन्दा झण्डै आधा अर्थात् ७३.२ करोड जनसङ्ख्या हुनेछ। उसको स्थान भारतले लिनेछ।
यूकेको जनसङ्ख्या सन् २०६३ मा सबैभन्दा उच्च विन्दू सात करोड ५० लाख पुग्नेछ भने सन् २१०० मा घटेर त्यो सात करोड १० लाख पुग्नेछ।
यो किन समस्या हो?
के यो वातावरणको लागि निकै राम्रो हो त?
सानो जनसङ्ख्याले कार्बन उत्सर्जन वा खेती गर्ने जमिनका लागि वन फँडानी घटाउँछ।
तर प्राध्यापक मरी भन्छन्: "यदि धेरै वृद्ध र कम युवा उमेरका मानिसहरू भएको उल्टो उमेर संरचना हुँदैनथ्यो भने मात्र त्यो ठिक कुरा हुन्थ्यो।"

उक्त अध्ययनले गरेको प्रक्षेपण अनुसार
- पाँच वर्ष मुनिका बालबालिकाहरू सन् २०१७ मा ६८.१ करोड भएकामा सन् २१०० मा ४०.१ करोड हुनेछन्
- ८० वर्षभन्दा माथिल्लो उमेर समूहका मानिसहरू सन् २०१७ को १४.१ करोडबाट बढेर सन् २१०० मा ८६.६ करोड पुग्नेछन्
प्राध्यापक मरी थप्छन्: "यसले व्यापक सामाजिक परिवर्तन ल्याउनेछ। मेरो आठ वर्षकी छोरी छन् र उनका लागि संसार कस्तो हुनेछ भन्ने सोचेर मलाई चिन्ता लाग्छ।"
वृद्धहरू धेरै भएको संसारमा कर कसले तिर्नेछ? वृद्धवृद्धाको स्याहारका लागि कसले खर्च गर्नेछ वा समय दिनेछ?
समाधान के त?
यूके र अन्य देशहरूले आप्रवासनलाई प्रयोग गरेर जनसङ्ख्या बढाएर घट्दो जन्मदरसँग जुझ्न खोजिरहेका छन्।
तर जब हरेक देशको जनसङ्ख्या घट्दो छ भने त्यो समाधानको सूत्र बन्दैन।
स्वीडेनले विभिन्न सुविधा दिएर जन्मदर १.७ बाट १.९ मा पुर्याएको छ। तर थुप्रै देशहरू त्यस्ता प्रयासका लागि सङ्घर्षरत छन्।
सिङ्गापुरमा अझै जन्मदर १.३ छ।
जन्मदर २.१ को सीमा के हो?
दुई अभिभावकले २.० को जन्मदरमा सन्तान जन्माउँदा जनसङ्ख्याको आकार स्थिर रहन्छ?
तर राम्रो स्याहार पाउँदा समेत सबै शिशुहरू किशोरावस्था पुग्ने गरी बाँच्न सक्दैनन्।
त्यसमाथि शिशुहरू थोरै बढी सङ्ख्यामा पुरुष हुनसक्ने सम्भावना रहन्छ।
त्यसैले विकसित देशमा स्थिरतालाई स्थापित गर्ने दर २.१ मानिन्छ।








