अयोध्यामा बन्ने राम मन्दिरमा राख्ने भनिएको टाइम क्याप्सुल के हो

तस्बिर स्रोत, NurPhoto
- Author, अनन्त प्रकाश
- Role, बीबीसी संवाददाता
भारतको राम मन्दिर तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले अध्योध्यामा बन्न लागेको राम मन्दिरको जगमा एउटा टाइम क्याप्सुल राख्ने निर्णय गरिएको दाबी गरेका छन्।
उनका अनुसार जमिनभन्दा दुई हजार फिटमुनि टाइम क्याप्सुल राखिनेछ ताकि भविष्यमा राम मन्दिरको इतिहासबारे बुझ्न चाहँदा आवश्यक तथ्य थाहा होस् र कुनै विवाद उत्पन्न नहोस्।
सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सांसद लल्लु सिंहले पनि टाइम क्याप्सुल राख्ने कुराको पुष्टि गरेका छन्।
तर राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले टाइम क्याप्सुल राख्निने कुरालाई हल्ला भनेका छन्।
यसको अर्थ ट्रस्टका सदस्यहरूबीच नै राम मन्दिरको जगमा टाइम क्याप्सुल राखिने विषयमा एकमत छैन।
त्यसका साथै टाइम क्याप्सुलभित्र के राख्ने भन्ने विषयमा पनि विवाद छ।
कतिपयका लागि यो एक प्रकारले अयोध्या विवादको इतिहास लेख्नु सरह हुनेछ।
अर्कोतर्फ कतिपय मानिसहरू टाइम्प क्याप्सुल के हो, कहाँबाट आउँछ र त्यसको महत्त्व के हुन्छ भन्नेबारे बुझ्ने कोशिशमा छन्।

तस्बिर स्रोत, IIT KANPUR
टाइम क्याप्सुल के हो?
यो एउटा यस्तो डिभाइस हो जसको मद्दतले वर्तमान संसारसँग जोडिएका जानकारीलाई भविष्य वा दोस्रो दुनियामा पठाउन सकिन्छ।
उदाहरणका लागि यदि कोही सन् २०२० सँग जोडिएका कुरा सन् ३०२० मा मानिसहरूसम्म पुर्याउन चाहन्छ भने उसले यो डिभाइसको प्रयोग गर्न सक्छ।
त्यसो गर्नका लागि सबैभन्दा पहिला वर्तमान दुनियासँग जोडिएका कुरालाई यस्तो स्वरूपमा सङ्ग्रह गर्नुपर्छ जुन त्यति वर्षसम्म सुरक्षित रहन्छ।
त्यसपछि त्यसलाई कुनै खास ठाउँमा गाड्नुपर्छ जहाँ सन् ३०२० मा मानिसहरूले उत्खनन गरून् र उनीहरूले त्यो टाइम क्याप्सुललाई फेला पारून्।
अनि त्यसपछि टाइम्स क्याप्सुललाई हेरेर वा पढेर मानिसहरूले सन् २०२० मा संसार कस्तो थियो, मानिसहरू कसरी बस्थे र कस्ता प्रविधिको प्रयोग गर्थे लगायतका कुरा थाहा पाउन सक्छन्।
टाइम क्याप्सुलको रूप वा आकार-प्रकारलाई लिएर कुनै स्पष्ट नियम छैन।
यो बेलनाकार, चारपाटे, आयतकार वा जुनसुकै आकारमा हुन सक्छ।
त्यसको शर्त यति मात्र हो कि टाइम क्याप्सुलले आफ्नो उद्देश्य पूरा गर्न सकोस् र जानकारीहरूलाई खास समयसम्म सुरक्षित राख्न सकोस्।

तस्बिर स्रोत, Space Frontiers
तर एकजना पुरातत्त्वविद् केके मोहम्मदका अनुसार पुरातत्त्व विज्ञानमा टाइम क्याप्सुलको कुनै महत्त्व हुँदैन।
"अहिलेसम्म भारतमा कुनै टाइम क्याप्सुल फेला परेको छैन। यसअघि एक पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले लालकिल्लामुनि टाइम क्याप्सुल राख्न लगाएकी थिइन्,"उनले भने।
तर राम मन्दिरको जगमा टाइम क्याप्सुल राख्ने कुरा सही हुने बताउँदै उनले भने, "त्यसो गरियो भने भविष्यमा कुनै प्रकारको विवाद उत्पन्न हुँदैन।"
क्याप्सुलबारे विवाद
टाइम क्याप्सुलले प्रायः विवाद निम्त्याउने गरेको देखिन्छ। राम मन्दिरको हकमा पनि त्यस्तै देखिँदैछ।
पछिल्लो विवरण बाहिर आउनासाथ सामाजिक सञ्जालमा मानिसहरूले टाइम क्याप्सुलभित्र के राख्नुपर्छ भन्नेबारे प्रश्न गर्न थालेका छन्।
राम मन्दिरसँग जोडिएको टाइम क्याप्सुललाई लिएर ताजा विवाद के छ भने राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले त्यो खबरलाई हल्लाको सङ्ज्ञा दिएका छन्।
ट्रस्टका सदस्यहरूबीच जारी विवादबीच प्रश्न के खडा भएको छ भने के साँच्चै मन्दिरको जगमा टाइम क्याप्सुल राखिनेछ त।








