ईद उल-फित्रः फरक ठाउँमा किन फरक मितिमा मनाइन्छ यो पर्व

तस्बिर स्रोत, Getty Images
नेपाल सरकारले वैशाख २० गते मङ्लवार नेपालमा इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ईदको अवसरमा बिदा घोषणा गरेको छ।
नेपालमा भन्दा एक दिनअगाडि नै साउदी अरबमा ईद मनाइएको छ। त्यसैगरी अफगानिस्तानमा आइतवार नै ईद मनाइएको छ। भारतमा पनि नेपालमा जस्तै मङ्लवार ईद मनाइने भएको छ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो।
ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ।
ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।
ईदमा के गरिन्छ?
पर्वको दिनको आरम्भमा धेरैजसो मुस्लिमहरू आफ्नो मस्जिदमा हुने ईदको प्रार्थनामा सहभागी हुन्छन्।
मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा मिठाई खाइन्छ। र, तकबिर भनिने एउटा छोटो प्रार्थना गरिन्छ।
ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल-फित्र पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।
पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।
नेपाल लगायत थुप्रै देशहरूमा ईद उल-फित्रमा सार्वजनिक बिदा हुने गर्छ। ईदको उपलक्ष्यमा शुभकामना दिँदा ईद मुबारक भन्ने चलन छ।
चन्द्रमाको महत्त्व किन?रमजान महिनाको आरम्भमा जस्तै ईदको आरम्भ पनि नयाँ चन्द्रमा उदयको पहिलो दर्शनबाट हुन्छ। नेपाली मुस्लिमहरूको सन्दर्भमा त्यो दिन भनेको मङ्गलवार हो।
रमजानको अलगअलग मितिका बारेमा बीबीसी बाङ्ग्लाका संवाददाताको लेख उद्धृत गर्दै बीबीसी हिन्दीले यस विषयमा जानकारी राखेको छ।
त्यसअनुसार सामान्यतया साउदी अरबमा ईद मनाइएको भोलपल्ट बाङ्ग्लादेशमा ईद मनाइन्छ।
केही स्थानमा साउदी अरबमा मनाइने दिनमा नै ईद मनाइन्छ। तर हरेक वर्ष ईदको चन्द्रमा कहाँ कहिले देखिन्छ भन्ने विषयमा विशेष चर्चा हुने गर्छ।
बाङ्ग्लादेशमा त्यहाँको इस्लामिक फाउन्डेशनको चन्द्रमा देखिएको निर्धारण गर्ने कमिटिले नै ईद मनाउने दिन निर्क्योल गर्ने गर्छ।
रमजान महिनाको २९ औँ दिनमा चन्द्रमा देखिएमा त्यसको भोलिपल्ट ईद मनाइने भनेर उक्त कमिटीले घोषणा गर्छ।
त्यसो हुन नसकेमा रमजानको पूरा ३० दिन व्यतीत भएपछि ईद मनाउने गरिन्छ।

तस्बिर स्रोत, PA Media
के भन्छन् विज्ञ?
बाङ्ग्लादेशका प्रसिद्ध भौतिकशास्त्री तथा इस्लाम र विज्ञानका लेखक डा. शमशेर अली भन्छन्ः मुस्लिम जगत्का मानिसहरूले संसारमा जहाँ भएपनि इस्लामको नियम पालना गरेर एकै दिन ईद पर्व मनाउन सक्छन्। उनका अनुसार आफू बसेकै देशमा चन्द्रमा देखिनुपर्छ भन्ने कुनै बाध्यता छैन।
"इमाम अबु हनीफा र पैगम्बरले समेत रोजा (अर्थात् व्रत) एकैदिन राख्ने र समाप्त गर्ने गर्नुपर्छ भनेका छन्। चन्द्रमा उदाएपछि चन्द्रमास आरम्भ भइहाल्छ।"
शमशेर अली का अनुसार मक्का मुस्लिमहरूको निम्ति पवित्र स्थान हो। "त्यहाँ चन्द्रमा देखिएपछि त्यही आधारमा अन्य मुस्लिम देशहरूमा पनि ईद मनाउँदा हुन्छ। देशहरूबीच हुने समयको अन्तर समस्याको विषय होइन।"
अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशनले पनि एकैदिन रोजा र ईद मनाउन सिफारिस गरेको बीबीसी हिन्दीको लेखमा उल्लेख छ।
तर साउदी अरबले मनाएको एकदिनपछि ईद मनाउने प्रचलन रहेको बाङ्ग्लादेशको चन्द्रमा देखिने समय निर्धारण गर्ने धार्मिक निकाय न्याश्नल मून साइटिङ कमिटीको तर्क छ- पैगम्बरले चन्द्रमा हेरेपछि मात्रै रोजा आरम्भ र अन्त्य गर्नू भनेका छन्। त्यसैले सबैले त्यही नियमको पालना गर्नुपर्छ।
रमजान के हो?
रमजान इस्लामिक पात्रो अनुसारको नवौँ महिनाको अरबी नाम हो। यसलाई सबैभन्दा पवित्रमध्येको महिना मान्ने गरिन्छ।
इस्लामका पाँच खम्बामध्येमा रमजान महिनाभरि व्रत बस्ने कार्य पनि पर्छ। पाँच खम्बा भनेको मुस्लिमहरूको विश्वासमा परमेश्वरले गर्नैपर्ने भनेर निर्देशित गरेका पाँच पवित्र व्यवहारहरू हुन्।
रमजान महिनामा नै इस्लामको पवित्र ग्रन्थ कुरानका आयात अर्थात् श्लोकहरू पैगम्बर मुहम्मदमार्फत् नाजिल अर्थात् अवतरित गरिएको मुस्लिमहरूको विश्वास रहेको छ। यो समयमा कुरान पाठ गर्नमा विशेष जोड दिने गरिन्छ।
व्रत बस्ने कार्यलाई पनि ईश्वरको आराधना गर्ने एक कार्यका रूपमा लिइन्छ। यसले मुस्लिमहरूलाई ईश्वरको नजिक पुगेको अनुभूति गराउँछ र तिनीहरूको आध्यात्मिक स्वास्थ्य र आत्म-अनुशासनलाई बलियो बनाउँछ।
रमजानमा के हुन्छ?
बिहान सूर्योदय हुनुअघि नै व्रतालु मुस्लिमहरूले सुहूर वा सेहरी भनिने खानेकुरा कुरा खान्छन्।
र, दिनभरि केही नखाईकन बसिने व्रतको अन्त्य बेलुकी सूर्यास्त भइसकेपछि इफ्तार भनिने खानेकुरा खाएर हुन्छ।
रमजानको महिनामा मुस्लिमहरूले परोपकारी कार्यका लागि दान दिने गर्दछन्। साथै उनीहरूलाई ईश्वरसँगको आफ्नो सम्बन्ध बलियो बनाउन र धैर्य प्रदर्शन गर्न अनि दयावान् बन्न पनि प्रेरित गरिन्छ।
रमजानको महिनामा श्रद्धालुहरूले रातिको समयमा थप प्रार्थना पनि गर्छन् जसलाई तारावीह भनिन्छ।

तस्बिर स्रोत, Getty Images
व्रत को बस्छन्?
रमजानको व्रत स्वस्थ र बालिग मानिसले मात्र बस्नुपर्छ।
छुट हुनेहरू:
- बिरामीहरू र खानेकुरा नखाई व्रत बस्दा स्वास्थ्यमा नराम्रो असर पर्नेहरू
- बालबालिकाहरू, तर केहीले निकै सानो उमेरदेखि नै रमजानको व्रत बस्न शुरू गर्छन्
- गर्भवती र दूधखाने बच्चा भएका आमाहरू
- महिनावारी भएका महिलाहरू
- यात्रामा निस्कनुपर्नेहरू








