युक्रेनका मुस्लिमको व्रत र भोजन: 'यो रमजान पीडाले भरिएको छ'

व्रत तोड्न जम्मा भएका महिलाहरू।

तस्बिर स्रोत, Niyara Mamutova

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

"जब तपाईँ निरन्तर साइरनको आवाज सुनिरहनु हुन्छ र जब तपाईँ वरपर ध्वस्त विद्यालय, अस्पताल र घर देख्नुहुन्छ तब कसरी सामान्य हुन सक्नुहुन्छ?" नियारा मामुटोभाले प्रश्न राखिन्।

"मृत शरीर र जलेको घर देख्दा म बिरामी महसुस गर्छु। यो अवस्था निकै तनावपूर्ण छ। यो रमजान पीडाले भरिएको छ।"

नियारा टर्किक जातीय समुदायकी हुन् जो सन् २०१४ मा रुसले क्राइमिया कब्जा गरेपछि युक्रेनको उत्तरतर्फ सरिन्।

उनको विचार अर्की युक्रेनी मुस्लिम महिला किएभकी भिक्टोरिया नेस्टेरेन्को विचारसँग मिल्दो छ।

यी दुई महिलाले युद्ध क्षेत्रमा रमजान मनाउँदाका चुनौतीहरू र त्यसको सामना कसरी गरिरहेका छन् भन्नेबारे बीबीसीलाई सुनाएका छन्।

'म दुःखले भरिएकी छु'

"युद्धका डरलाग्दो दृश्यहरू आँखामा झलझली आइरहन्छन्," भिक्टोरिया भन्छिन्।

"किएभनजिकै रुसी सेनाको हातबाट बालबालिकासहित धेरै मानिसहरू मारिएका छन्। यो रमजानमा यहाँको वातावरण पवित्र महसुस भएको छैन। म दुःखले भरिएकी छु।"

युक्रेनमा एकदम सीमित अनुपातमा इस्लाम धर्मावलम्बी छन्।

अनौपचारिक अनुमान अनुसार कुल जनसङ्ख्याको करिब एक प्रतिशत मात्र मुस्लिम हुन्।

कोरोनाभाइरस महामारीका कारण दुई वर्ष पर्व मनाउन वञ्चित भएकाले त्यहाँका मुस्लिमहरू यस वर्षको रमजान उत्सुकतापूर्वक पर्खिरहेका थिए।

तर युद्धले यस वर्ष पनि उनीहरूको योजनामा पानी खन्याइदियो।

भिक्टोरिया र सेना।

तस्बिर स्रोत, Viktoria Nesterenko

"नैतिक र आध्यात्मिक रूपमा आफूलाई समायोजन गर्नु निकै कठिन काम हो। तनाव र थकानका कारण प्रार्थनामा ध्यान केन्द्रित गर्न धेरै गाह्रो छ," भिक्टोरिया सुनाउँछिन्।

नियाराले आफ्नी छोरीको स्याहार गर्दैछिन् त्यसैले यस पटक व्रत बस्दिनन्।

तर भिक्टोरिया उपवास बस्दै छिन्। उनीहरू दुवैले अध्यात्ममा केन्द्रित रहनु चुनौतीपूर्ण हुने ठानेका छन्।

"हामी प्रार्थना गर्नका निम्ति अवश्य समय निकाल्छौँ। युद्धको समयमा हामीलाई केही छुटहरू दिइन्छ। दिन र साँझ वा साँझ र रातको प्रार्थना एकसाथ गर्न सकिन्छ। यसै गरी हामीले धार्मिक कर्तव्य पूरा गर्न सक्छौँ," उनी थप्छिन्।

'कहीँ पनि सुरक्षा छैन'

आफ्ना चार सन्तानसँग नियरा।

तस्बिर स्रोत, Niyara Mamutova

नियारा विगत आठ वर्षदेखि दक्षिण पूर्वी सहर जापोरिज्जियामा बस्दै आएकी छन्।

उनी एक गैरसरकारी संस्था सञ्चालन गर्छिन्। त्यस संस्थाले पर्यावरणीय चेतनादेखि मुस्लिमहरूबारे रूढीवादविरुद्ध अभियानहरू चलाउँछ।

उनको चौथो सन्तान जन्मिएको तीन सातापछि युद्ध सुरु भयो। त्यति बेला उनको परिवार रमजानको लागि घरको सरसफाइ र सजावटबारे योजना बनाइरहेको थियो।

"हामी स्तब्ध भयौँ। विमानस्थलमा क्षेप्यास्त्रहरू खसेका थिए, तेल भण्डारण केन्द्रमा आगो लागेको थियो... रुसी सेनाहरू सहरतर्फ नजिकिँदै थिए। त्यसैले हामीले घर छोड्ने निर्णय गर्‍यौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभ फर्कँदै मानिसहरू

क्राइमिया विलय हुँदाको युद्धमा आम मानिसको रगत बगेको थिएन।

त्यसको ठिक विपरीत यस पटकको आक्रमण रक्तपातपूर्ण र क्रूर रह्यो।

त्यसैले उनको परिवार पुन: बसाइँ सर्‍यो।

यस पटक सुरक्षाको खोज्दै उनीहरू पश्चिमी युक्रेनको चेर्निभत्सीमा पुगे। यो अवस्था विशेषगरि उनका सन्तानका लागि तनावपूर्ण थियो।

"मेरा छोराछोरी आफ्ना साथीहरूबाट छुट्टिएका छन्। उनीहरूले आफ्नो घर गुमाएका छन्। हामी यो सहरमा पनि सुरक्षित छैनौँ। रुसी क्षेप्यास्त्र र गोलाबारी युक्रेनको जुनसुकै सहरमा प्रहार हुन सक्छ।"

पुराना याद

प्रार्थनामा पुरुषहरू।

तस्बिर स्रोत, Niyara Mamutova

सुरुवातमा त उनीहरूले एक मस्जिदमा शरण लिएका थिए।

पछि घर भाडामा लिन सक्षम भए। रमजानबारे पुराना यादहरूले उनलाई आफूले गुमाएका कुराहरू सम्झाउँछ।

"हाम्रो परिवारका सबै जना सँगै व्रत बस्ने, सँगै प्रार्थना गर्ने र सँगै व्रत तोड्ने गर्दथ्यौँ। अहिले हामी युद्धका कारण विस्थापित भएको छौँ। छुट्टिएका छौँ। कतिपय देश छोडेर अन्य देशमा पलायन भएका छन्। यो सुखद वातावरण होइन," नियाराले थपिन्।

उनका श्रीमान् मस्जिदमा धर्मगुरु हुन्। रातको समयमा चेर्निभत्सीमा कर्फ्यु जारी छ।

त्यसको अर्थ उनका श्रीमान् कहिलेकाहीँ ढिलो भएको अवस्थामा मस्जिदमै बस्नु पर्छ। नियाराले भने अपरिचित ठाउँमा नयाँ साथी बनाएकी छन्।

"हामी व्रत तोड्न मुस्लिम समुदायका अन्य सदस्यहरूसँग भेट्छौँ। एक अर्कालाई मद्दत गर्छौँ। धनी मुस्लिम बासिन्दाहरूसँग हामीजस्ता विस्थापितहरूको लागि खाना दान गर्न अपिल समेत गरिरहेका छौँ।"

परम्परागत खानाको थाली।

तस्बिर स्रोत, Niyara Mamutova

हलाल मासुको अभाव

नियारा हरेक दिन मस्जिदमा आश्रय लिइरहेका विस्थापितहरूका लागि खाना पकाउन सघाउँछिन्।

"हामीले सबै परिकार झन्डै पहिले जस्तै बनाउँछौँ तर यहाँ हलाल मासु छैन। केवल केही हलाल गरिएको कुखुरा छन्," उनी भन्छिन्।

उनका अनुसार टर्कीजस्ता देशहरूमा मुस्लिम सहायता संस्थाहरूले आवश्यक खाद्यान्न र स्थानीय मुस्लिमहरूद्वारा संयुक्त रूपमा उपलब्ध गराइएको सामग्री र खाना पकाउन आवश्यक भाँडा दिइन्छ।

भिक्टोरियाले चाहिँ समस्या समाधान गर्नका निम्ति शीत भण्डारण गरिएको मासु र माछा प्रयोग गरिरहेकी छिन्।

"हामी हलाल खाद्यान्न उपलब्ध गराउने प्रयास गर्छौँ। तर अहिले हलाल मासुको अभाव छ। दुर्गम क्षेत्रमा रहेका मुस्लिमहरूसँग शीत भण्डारण गरिएको हलाल खानाको पहुँच छैन।"

युद्ध सुरु हुनुअघि उनी किएभस्थित हलाल प्रमाणीकरण केन्द्रमा निर्देशकको रूपमा काम गर्थिन्। हलाल खाद्यान्नको अभाव छिट्टै सकिने उनको विश्वास छ।

सशस्त्र दलसँग भिक्टोरिया।

तस्बिर स्रोत, Viktoria Nesterenko

युद्ध प्रयासहरू

मुस्लिम समुदायका धेरै पुरुष र महिला युक्रेनी सेना वा क्षेत्रीय सैन्य दलमा छन्। केही हालसालै सशस्त्र समूहमा स्वयंसेवकको रूपमा सामेल भएका छन्।

"मेरा आफन्त र साथीहरू रुसीविरुद्ध लडिरहेका छन्," भिक्टोरियाले भनिन्।

"हामी मानवीय सहायता दिइरहेका छौँ, मानिसहरूलाई स्थानान्तरण गर्न सहयोग गरिरहेका छौँ, सहयोग रकम जुटाइरहेका छौँ र हाम्रा सेनाहरूको लागि सैन्य सामग्री किनिदिन्छौँ।"

अहिले किएभको मुख्य मस्जिदका नियमित प्रार्थनार्थीमध्ये करिब पाँच प्रतिशत मात्रै छन्। यो यथार्थले भिक्टोरियालाई पीडा दिन्छ।

धेरै मुस्लिमहरू अझै सहरमै भए पनि आवश्यक सेवा वा सशस्त्र इकाईहरूमा व्यस्त भएको उनको विश्वास छ। यद्यपि उनले यस परिस्थितिलाई बुझेको बताइन्।

"मैले काम गरिरहनु पर्छ र सकेसम्म मानिसहरूलाई सहयोग गर्नुपर्छ भन्ने महसुस भएको छ। म देशप्रति छु। युक्रेनी जनताको शक्ति एकतामा निहित छ, हामीले एक अर्काको मद्दत गर्नुपर्छ तब मात्र हामी शत्रुलाई परास्त गर्न सक्षम हुनेछौँ।"

प्रार्थनामा पुरुषहरू।

तस्बिर स्रोत, Alina Smutko

विश्वासको परीक्षा

नियारालाई जीवनको सबैभन्दा कठिन समयमा आफूले राखेको विश्वासले राहत दिने आशा छ।

"कठिन समयमा मैले गरेको विश्वासले ठूलो महत्त्व राख्छ। यसले मलाई राहत र प्रश्नहरूको जवाफ दिन्छ। यसैले बुझाउँछ कि युद्ध हाम्रो परीक्षा हो।"

उनले आफूहरू बाँचिरहेको र प्रार्थना गरिरहेको शान्तिको पर्खाइमा रहेको बताइन्।