वीरगन्जमा साम्प्रदायिक तनाव अन्त्य गर्न सर्वपक्षीय सहमति, कर्फ्यूलाई निरन्तरता

तस्बिर स्रोत, Madhuri Mahato
- Author, माधुरी महतो
- Role, वीरगन्ज
वीरगन्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिवारदेखि जारी तनाव अन्त्य गर्न पाँचबुँदे सहमति भएको छ।
हनुमान् जयन्तीका अवसरमा शनिवार निकालिएको शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारवाही गर्ने, अन्तर धार्मिक, साम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने सहमति भएको हो।
घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको छ।
वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरसा र विद्यालयहरूमा सूक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता,हिन्दू र मुस्लिम समुदायका अगुवाहरूले सहमतिमा हस्ताक्षर गरेको अर्यालले बताए।
उनका अनुसार शनिवार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यू भने आइतवार राति १२ बजेसम्म निरन्तरता पाउने छ।
त्यसपछिका लागि भने जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उनले जनाए।
अर्यालले भनेः "राति १२ बजेपछि भने कर्फ्यू हटाएर केही निश्चित क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने सम्भावना छ।"
हनुमान् जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि थप जटिल हुनबाट रोक्न भन्दै शनिवार साँझ ७ बजेर ३० मिनेटदेखि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सहभागी शोभायात्राले नगर परिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो।

तस्बिर स्रोत, MADHURI MAHATO
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले झडपका क्रममा आफूसहित २५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको बताएका छन्। त्यसबाहेक यात्रामा रहेका सर्वसाधारणसहित करिब २५ जना घाइते भएका उनले बताए।
"केही उच्छृङ्खल मानिसहरूले छतमाथिबाट ढुङ्गा हानेपछि विवादले उग्र रूप लिएको हो," मिश्रले भने। "केही घाइतेहरूको अहिले नारायणी अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ।"
यसैबीच आइतवार बसेको सर्वदलीय बैठकले घाइतेहरूको उपचार सरकारका तर्फबाट हुनुपर्नेसहित विवाद उत्पन्न गराउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गर्ने निर्णय गरेको छ।

तस्बिर स्रोत, Madhuri Mahato
कसरी भएको थियो घटना?
शनिवार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान् जयन्तीको शोभा यात्रा छपकैयाको श्रीराम हलनजिक पुगेको थियो।
शोभा यात्रामा सहभागी एकजनाले बोकेको जय श्रीराम अङ्कित झन्डा एक अपरिचित युवाले खोसेको प्रत्यक्षदर्शी बताउँछन्।
त्यसपछाडि सडक छेउको एक छतमाथिबाट शोभा यात्रामा सहभागी मानिसहरूमाथि ढुङ्गा हान्न थालिएपछि विवाद सुरु भएको देखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
"दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो। यसबारे अनुसन्धान भइरहेको छ," अर्यालले भने।
प्रहरी र स्थानीयबीचको झडपका कारण उत्पन्न तनावपूर्ण अवस्थापछि सेनासमेत परिचालित भएको प्रजिअ अर्यालले बताए।
परिस्थिति प्रतिकूल भएका कारण जनजीवन सहज बनाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायत अन्य सबैको उपस्थितिमा सर्वदलीय बैठक बसेको अर्यालले जानकारी दिए।
"यो विषय संवेदनशील भएकोले शान्ति सुरक्षा कायम गर्नका लागि कर्फ्यू लगाउनैपर्ने अवस्था पछिल्लो समय देखिन थालेको छ," मिश्रले भने।
नयाँ वर्षको मुखैमा मार
वीरगन्ज-१५ का जयमोद ठाकुर आफ्नो तीनजनाको परिवारसहित अबेर राति भारतको झारखण्डबाट वीरगन्ज फर्किँदै थिए। धार्मिक यात्रा गरेर राति अबेर सीमा नाका हुँदै देश फर्किन लाग्दा मितेरी पुलमा उनी अड्किए।
कर्फ्यूका कारण रातभरि त्यहीँ बसेका उनी बिहान भएपछि भने खेतको बाटो हुँदै घर आइपुगे।
त्यस्तै वीरगन्जमा नयाँ वर्षको उपलक्ष्यमा रात्रि मेला आयोजना गरिएको थियो। उक्त मेलामा पसल राख्नका लागि वीरगन्जकै राधा देवीले महँगो रकम तिरेर बुकिङ गरेकी थिइन्।
तर अब कर्फ्यू लागेपछि आफूलाई धेरै घाटा भएको भन्दै दुःख पोखिन्।
कर्फ्यूका कारण जयमोद ठाकुर र राधा देवी मात्रै नभई वीरगन्जका व्यापारी, दैनिक रूपमा काम गरेर गुजारा चलाउने मानिसलगायत सर्वसाधारणहरूले दैनिक जनजीवनमै असर परेको भन्दै गुनासो गरेका छन्।
भारतका विभिन्न स्थानबाट आएका जयमोदजस्तै थुप्रै सर्वसाधारणहरू वीरगञ्ज सीमानाकामा रोकिएका छन्।
प्रहरी उपरीक्षक मिश्रले उनीहरूको आवागमनका लागि उचित व्यवस्थापन गरिने भन्दै अहिलेका लागि पर्सा र बाराका अन्य नाकाको प्रयोग गर्न आग्रह गरेका छन्।
विगतमा पनि दुई समुदायबीच झडप

तस्बिर स्रोत, MADHURI MAHATO
वीरगन्जमा करिब १४ महिनाअगाडि पनि दुई धार्मिक समूहबीच विवाद उत्पन्न भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।
त्यति बेला रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको थियो।
समाजशास्त्री वीरेन्द्रप्रसाद साह पछिल्लो समय खासगरी तराई मधेशका सीमानाकासँग जोडिएका जिल्लाहरूमा दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेको बताउँछन्।
यस्तो अवस्था बढ्दै जाँदा सुरक्षा दृष्टिकोणबाट अवस्था खतरापूर्ण बन्नुका साथै समाजका लागि पनि ठूलो हानि पुर्याउने उनले बताए।।
"हिजोको जुन साम्प्रदायिक विवाद देखियो त्यो दुःखद घटना हो। आजभन्दा करिब २० वर्ष पहिले नेपालगन्जमा यस्तो घटना सुनिएको थियो," समाजशास्त्री साहले भने।
"सामाजिक सद्भावभन्दा पनि उच्छृङ्खल गतिविधि बढाउने गीत सङ्गीतले बजार र समाजमा प्रश्रय पाउने गरेको छ," उनले भने।
"अराजकताको अवस्था सिर्जना हुँदै जानुमा राजनीतिक दलका नेता अनि जनप्रतिनिधिहरूको पनि अप्रत्यक्ष रूपले अलिक योगदान हो कि जस्तो लागेको छ," उनले भने।
"धार्मिक रूपले सामञ्जस्य कायम गराउनुपर्ने कुरामा सकारात्मक भूमिका खेल्नुपर्नेमा एक समुदायले अर्को समुदायको प्रदर्शन तथा होडबाजीमा लाग्नुले वितृष्णा बढेको छ," उनले भने।
समाजशास्त्री साहले विगत ८/१० वर्षमा विभिन्न समायमा दुई समुदायबीच यस्ता घटना हुने गरेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
उनले बारा जिल्लामा छठ पूजाका बेला, सर्लाहीमा दुई समुदायबीच भएको घटनालगायत अन्य घटना पनि एकपछि अर्को घटना भएको स्मरण गरे।
शनिवार बेलुकी ८ बजेसम्म प्रहरीले दुई राउन्ड हवाई फायर र १ सय ३० राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अर्यालले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








