वीरगञ्जमा कर्फ्यु, झडपमा एकको मृत्यु

प्रहरीले सोमबार बिहान सिमा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारीलाई लखेटेपछि केही समय वीरगञ्ज नाका संचालनमा आएको थियो

तस्बिर स्रोत, Ram Sarraf

तस्बिरको क्याप्शन, प्रहरीले सोमबार बिहान सिमा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारीलाई लखेटेपछि केही समय वीरगञ्ज नाका संचालनमा आएको थियो

नेपाल-भारतबीचको प्रमुख व्यापारिक नाका वीरगञ्जमा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच हिंसात्मक झडप भएपछि त्यहाँ अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

पर्साका प्रहरी प्रमुख राजुबाबु श्रेष्ठका अनुसार भारतीय भूमिबाट आएका प्रदर्शकारीको समूहले नेपाल-भारत सीमा क्षेत्रभन्दा झन्डै ५ सय मिटर वर रहेको इनर्वास्थित प्रहरी चौकीमा आक्रमण गरेको थियो।

घरेलु हतियारसहित आएका प्रदर्शनकारीलाई अश्रुंग्यास र रबरका गोलीहरुले तितर बितर पार्ने प्रयास विफल भएपछि बल प्रयोग गर्दा एक जना प्रदर्शनकारीको गोली लागेर ज्यान गएको उनले बताए।

मृत्यु हुनेमा भारत रक्सौलका आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जनाए।

उक्त झडपमा सात आन्दोलनकारी र नौ जना प्रहरी घाइते भएको बताइएको छ।

नाका

नयाँ संविधानप्रति असहमति जनाइरहेका तराई केन्द्रित मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज भन्सार नाका नजिक एक महिना भन्दा बढी समयबाट धर्ना दिदैँ आएका थिए।

त्यसयता नेपाल-भारत सीमा क्षेत्रमा सयौँ मालवाहक सवारी साधन अलपत्र परेका थिए।

उक्त नाकामा यातायात आवागमन खुलाउने प्रयासमा सोमबार बिहानै धर्नामा बसेका आन्दोलनकारीलाई प्रहरीले लखेट्नुका साथै उनीहरुले सडकमा गाडेको पाल हटाइ दिएको थियो।

प्रहरी कारबाहीपछि नेपालतर्फ अड्किएका २ सय भन्दा बढी भारतीय सवारी साधन रक्सौल प्रवेश गरेका थिए।

तर भारततर्फ रोकिएका कुनै पनि सवारी साधन नेपाल प्रवेश नगरेको अधिकारीहरुले जनाएका छन्।

बिहान नाका खुलाउने प्रयासमा अवरोध गर्नेमध्ये चार जना पक्राउ परेका थिए।

प्रहरीमाथि ढुंगामुढा गर्ने क्रममा पक्राउ परेका तीमध्ये दुई जना भारतीय नागरिक भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

नाकाबाट प्रहरीले लखेटेपछि भारतीयभूमितर्फ प्रवेश गरेका आन्दोलनकारीले फेरि जम्मा भएर घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरेको पर्साका प्रहरी प्रमुख श्रेष्ठले बताए।

नेपाल-भारतबीच हुने व्यापारको दुई तिहाई हिस्सा वीरगञ्ज नाकाबाट हुने गरेपनि सीमामा देखिएको अवरोधका कारण पछिल्ला दिनमा उक्त भन्सार विन्दु ठप्प छ।

नेपाली पक्षले भारतको अघोषित नाकाबन्दीका कारण सीमा भन्सार ठप्प रहेको बताएपनि भारतले सीमा नाकाको नेपाली क्षेत्रमै भइरहेका प्रदर्शनका कारण असुरक्षाको स्थिति उत्पन्न भएको र त्यसका कारण नाका सञ्चालन हुन नसकिरहेको बताउने गरेको छ।

सीमा नाकामा भएको उक्त घटनापछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्दैछ।

भारतीय असन्तुष्टि

भारतीय विदेश मन्त्रालयले वीरगञ्जमा सोमबार बिहान भएको घटनाका विवरणप्रति आफ्नो गम्भीर चासो रहेको भन्दै त्यसमा एक जना निर्दोष भारतीय नागरिक मारिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिदैँ नेपालमा देखिएका समस्या राजनीतिक प्रकृतिका रहेकाले बल प्रयोगबाट त्यसलाई समाधान गर्न नसकिने जनाएका छन्।

भारतीय ढुवानीकर्ता र यातायात व्यवसायीले सीमा क्षेत्रको बिंग्रदो अवस्थाबारे सोमबार पनि चिन्ता व्यक्त गरेको भन्दै भारतले उनीहरुलाई सावधान रहन र आफूलाई खतरामा पार्ने कुनै गतिविधि नगर्न आग्रह गरेको जनाएको छ।

नेपालको पछिल्लो अवस्था ध्यानपूर्वक नियालिरहेको पनि भारतीय विदेशमन्त्रालयले जनाएको छ।