रुस र चीनबाट ग्रीनल्यान्ड कब्जा हुनबाट रोक्न अमेरिकाले 'स्वामित्व' लिनुपर्ने ट्रम्पको भनाइ

तस्बिर स्रोत, Reuters
- Author, सारा स्मिथ
- Role, उत्तर अमेरिका सम्पादक
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले ग्रीनल्याण्डको "स्वामित्व" लिन आवश्यक रहेको बताएका छन्। उनले रुस र चीनलाई त्यसो गर्नबाट रोक्नका लागि भन्दै उक्त अभिव्यक्ति दिएका छन्।
"देशहरूसँग स्वामित्व हुनुपर्छ र स्वामित्वको बचाउ गरिन्छ, तपाईँले भाडाको बचाउ गर्नुहुन्न। हामी सबैले ग्रीनल्याण्डको रक्षा गर्नुपर्नेछ," बीबीसीको एक प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले शुक्रवार पत्रकारहरूलाई भने।
आफूहरूले त्यो "सजिलो तरिका" वा "कठिन तरिकाले" गर्ने उनले बताए।
ह्वाइटहाउसले हालै आफ्नो प्रशासनले नेटो सदस्य डेन्मार्कको अर्धस्वायत्त क्षेत्र किन्नेबारे विचार गरिरहेको जनाए तापनि त्यसले बलपूर्वक उक्त टापुलाई कब्जा गर्ने विकल्पलाई अस्वीकार नगर्ने जनाएको छ।
डेन्मार्क र ग्रीनल्याण्डले उक्त क्षेत्र बिक्रीको लागि नभएको बताएका छन्। डेन्मार्कले सैन्य कारबाहीले ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धनको अन्त्य गर्ने जनाएको छ।
ट्रम्पका दाबी
निकै कम जनसङ्ख्यायुक्त क्षेत्र भए तापनि उत्तर अमेरिका र आर्क्टिकबीचको ग्रीनल्याण्डको अवस्थितिले त्यसलाई क्षेप्यास्त्र आक्रमणको घटनामा प्रारम्भिक चेतावनी प्रणाली र यस क्षेत्रमा पानीजहाजहरूको निगरानीको लागि राम्रो स्थानमा राखेको छ।
अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाको लागि महत्त्वपूर्ण रहेको दोहोर्याउँदै आएका छन्।
कुनै प्रमाणबिना नै उनले त्यहाँ "सबै ठाउँमा रुसी र चिनियाँ जहाजहरू भरिएको" दाबी गर्दै आएका छन्।
अमेरिकासँग पहिले नै ग्रीनल्याण्डको उत्तर-पश्चिमीमा अवस्थित पिटुफीक स्पेस बेसमा १०० भन्दा बढी सैन्य कर्मचारीहरू स्थायी रूपमा तैनाथ छन्। त्यस केन्द्र दोस्रो विश्वयुद्धदेखि अमेरिकाले सञ्चालन गर्दै आएको छ।

तस्बिर स्रोत, Reuters
डेन्मार्कसँगका सम्झौताहरू अन्तर्गत अमेरिकासँग ग्रीनल्याण्डमा चाहे जति सेना ल्याउने शक्ति छ।
तर वाशिङ्गटनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भाडाको सम्झौता पर्याप्त नरहेको बताए।
"देशहरूले नौ वर्षको सम्झौता वा १०० वर्षको सम्झौता पनि गर्न सक्दैनन्," उनले तीसँग स्वामित्व हुनुपर्ने बताउँदै थपे।
"म चीनका जनतालाई माया गर्छु। म रुसका जनतालाई माया गर्छु," ट्रम्पले भने, "तर म ग्रीनल्याण्डको छिमेकीको रूपमा उनीहरूलाई चाहन्नँ। त्यसो हुनेवाला छैन।"
"नेटोले जसरी भए पनि यो कुरा बुझ्नुपर्छ," अमेरिकी राष्ट्रपतिले थपे।
डेन्मार्कका नेटो सहयोगीहरूमध्ये प्रमुख युरोपेली देशका साथै क्यानडा समेत यसै साता "डेन्मार्क र ग्रीनल्याण्डले मात्र आफ्नो सम्बन्ध सम्बन्धी मामिलाहरूमा निर्णय गर्न सक्ने" भन्ने विज्ञप्तिसहित उसको समर्थनमा जुटेका थिए।
आर्क्टिक सुरक्षामा अमेरिकाजत्तिकै उत्सुक रहेकोमा जोड दिँदै उनीहरूले यो अमेरिकासहितका उसका सहयोगीहरूले "सामूहिक रूपमा" हासिल गर्नुपर्ने बताएका छन्।
उनीहरूले "सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सीमाहरूका रक्षाका विषय समावेश रहेको संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्न" पनि आह्वान गरेका छन्।
पुरानै कुरा, नयाँ चिन्ता
गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गर्न ट्रम्पले सैन्य बल प्रयोग गरेपछि यस क्षेत्रको भविष्यको बारेमा चिन्ता फेरि उठेको पाइन्छ।
ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालका बेला सन् २०१९ मा उक्त टापु किन्न प्रस्ताव गरेका थिए तर त्यसबेला उक्त टापु बिक्रीमा नभएको भनिएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अर्को साता डेन्मार्कसँग वार्ता गर्ने भएका छन्।
हालैका वर्षहरूमा ग्रीनल्याण्डका दुर्लभ प्राकृतिक खनिज, युरेनियम र फलाम सहितका प्राकृतिक स्रोतहरूमा पनि चासो बढेको छ जुन जलवायु परिवर्तनका कारण यसको बरफ पग्लिएपछि प्राप्त गर्न सहज हुँदै गइरहेको छ।
वैज्ञानिकहरूले त्यहाँ महत्त्वपूर्ण तेल र ग्यास भण्डार पनि हुन सक्ने ठानेका छन्।
शुक्रबार राति जारी एक संयुक्त विज्ञप्तिमा विपक्षीसहित ग्रीनल्याण्डका राजनीतिक नेताहरूले आफ्नो देशप्रति "अमेरिकाको अनादरको अन्त्य" को लागि आफ्नो आह्वान दोहोर्याएका छन्।
"हामी अमेरिकी बन्न चाहँदैनौं, हामी डेनिस बन्न चाहँदैनौं, हामी ग्रीनल्याण्डवासी बन्न चाहन्छौं," उनीहरूले भनेका छन्, "ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डका जनताले नै तय गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








