ग्रीनल्यान्ड प्राप्त गर्न सैन्य र अन्य विकल्पबारे छलफल भइरहेको ह्वाइट हाउसको भनाइ

गत मार्च महिनामा ग्रीनल्यान्डमा अमेरिकाको विरोध गर्दै प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Getty Images

    • Author, जूड शीरिन
    • Role, वाशिङ्टन

ग्रीनल्यान्डलाई संयुक्त राज्य अमेरिकाको स्वामित्वमा ल्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य परिचालनसहित "विभिन्न विकल्प"बारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसले बीबीसीसँग ग्रीनल्यान्ड अधिग्रहण गर्नु "राष्ट्रिय सुरक्षाको प्राथमिकता" भएको बताएको हो। ग्रीनल्यान्ड नेटो सदस्य डेन्मार्कको अर्धस्वायत्त क्षेत्र हो।

विभिन्न युरोपेली राष्ट्रका नेताहरूले डेन्मार्कप्रति समर्थन व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेको केही घण्टापछि ह्वाइट हाउसले ग्रीनल्यान्डबारे आफ्नो भनाइ सार्वजनिक गरेको हो। डेन्मार्कले आर्क्टिक क्षेत्रमा अवस्थित उक्त द्वीप हासिल गर्ने ट्रम्पको चाहनाको प्रतिवाद गर्दै आएको छ।

अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्ड "आवश्यकता" भएको ट्रम्पले गत सप्ताहान्तमा फेरि तर्क गरेका थिए। त्यसपछि डेन्मार्ककी प्रधानमन्त्री मेड्अ फ्रेदरिक्सनले अमेरिकाले आक्रमण गरेमा त्यसले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को अन्त्य निम्त्याउने चेतावनी दिएकी थिइन्।

"राष्ट्रपति र उनको टोलीले महत्त्वपूर्ण परराष्ट्रनीतिको लक्ष्य हासिल गर्न थुप्रै विकल्पहरूमा छलफल गरिरहेका छन्। अमेरिकी सेनाको प्रयोग कमान्डर-इन-चीफको आदेशमा सधैँ एउटा विकल्प हो," ह्वाइट हाउसले मङ्गलवार भन्यो।

डेन्मार्कको पक्षमा युरोप

नेटो एउटा ट्रान्स एट्लान्टिक सैन्य समूह हो जुन बाह्य आक्रमण भएको खण्डमा गठबन्धनका सदस्यहरू एक अर्काको सहयोगको लागि अघि बढ्ने अपेक्षा गरिन्छ।

मङ्गलवार छ वटा युरोपेली साझेदार देशहरूले डेन्मार्कका लागि समर्थन व्यक्त गरेका छन्।

"ग्रीनल्यान्ड त्यहाँका जनताको हो र डेन्मार्क र ग्रीनल्यान्डले मात्रै आफ्नो सम्बन्धका विषयमा निर्णय गर्ने अधिकार राख्छन्," एउटा संयुक्त विज्ञप्तिमा यूके, फ्रान्स, जर्मनी, इटली, पोल्यान्ड, स्पेन र डेनमार्कले भनेका छन्।

आर्कटिकको सुरक्षाबारे अमेरिका जत्तिकै आफूहरूलाई पनि चासो भएको र त्यो अमेरिकासहित नेटो साझेदारहरूले "संयुक्त रूपमा" हासिल गर्नुपर्ने उनीहरूले विज्ञप्तिमा बताएका छन्।

उनीहरूले सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सीमामा उल्लङ्घन नहुनेलगायत संयुक्त राष्ट्र सङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्न पनि आह्वान गरेका छन्।

ग्रीनल्यान्डका प्रधानमन्त्री येन्स-फ्रेदरिक नील्सनले "सम्मानजनक संवाद" भन्दै उक्त विज्ञप्तिको स्वागत गरेका छन्।

"ग्रीनल्यान्डको हैसियत अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित छ भन्ने तथ्यलाई सम्मान गर्दै वार्ता हुनुपर्छ," उनले भने।

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि ग्रीनल्यान्डको भविष्यको मुद्दा फेरि सतहमा आएको थियो। त्यस घटनामा उच्च तालिमप्राप्त सैनिकहरूले देशका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएर उनलाई लागू औषध र हतियारसम्बन्धी आरोपको सामना गर्न न्यू योर्क लगेका थिए।

त्यसको भोलिपल्ट ट्रम्पका एकजना वरिष्ठ सहयोगीकी पत्नी केटी मिलरले सामाजिक सञ्जालमा अमेरिकी झन्डाको रङमा "छिट्टै" शब्द लेखेर ग्रीनल्यान्डको नक्सा पोस्ट गरेकी थिइन्।

सोमवार उनका पति स्टिभन मिलरले ग्रीनल्यान्ड अमेरिकाको हिस्सा हुनुपर्ने अमेरिकी सरकारको औपचारिक अडान नै भएको बताएका थिए।

सीएनएनसँगको अन्तर्वार्तामा बारम्बार सोधिएको प्रश्नमा मिलरले भने: "ग्रीनल्यान्डको भविष्यका लागि कोही पनि अमेरिकासँग लड्ने छै‌नन्।"

अमेरिकी विदेश मन्त्री मार्को रुबिओले सोमवार क्यापिटल हिलमा आयोजित गोप्य सम्मेलनमा ट्रम्प प्रशासनको ग्रीनल्यान्डमा आक्रमण गर्ने कुनै योजना नरहेको तर डेन्मार्कबाट सो टापु किन्न चाहेको बताएका वाल स्ट्रीट जर्नलले लेखेको थियो।

नाम नखुलाइएका एक जना वरिष्ठ अधिकारीले रोएटर्सलाई बताए अनुसार ग्रीनल्यान्ड खरिद गर्ने वा उक्त क्षेत्रसँग 'कम्प्याक्ट अफ फ्रि एशोसियसन' बनाउने विकल्पमा अमेरिकी विकल्पहरू रहेका छन्।

यसअघि ग्रीनल्यान्ड र डेन्मार्कले टापुमा अमेरिकी दाबीबारे छलफल गर्न रुबिओलाई चाँडै भेट्न आग्रह गरेको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।