भेनेजुएलाका राष्ट्रपति मदुरो न्यूयोर्कको हिरासतमा, अन्तरिम राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई

तस्बिर स्रोत, Truth Social
अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए।
मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले 'यूएसएस इवो जिमा' युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए।
न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्याइएको थियो। त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ।
यद्यपि अधिकारीहरूले यसको आधिकारिक पुष्टि गरेका छैनन्।
राष्ट्रपति ट्रम्पले "सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म" भेनेजुएलाको शासन सत्ता अमेरिकाले "चलाउने" बताएका छन्।
कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको छ।
उनले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्ने ठानिएको छ।
समाचार संस्था रोएटर्सका अनुसार अदालतले आफ्नो आदेशमा रोड्रिगेसले उक्त पदमा रहेर "प्रशासकीय कामकारबाहीको निरन्तरता र राष्ट्रको बृहत् सुरक्षाको सुनिश्चितता" गर्नुपर्ने उल्लेख गरेको छ।
बीबीसीका संवाददादाता टम बेटमनका अनुसार ट्रम्पले आफ्नो देशमा लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न नभई त्यहाँको विशाल तेल दोहन गर्ने नियत राखेको कतिपय भेनेजुएलाका नागरिकहरूको विश्वास छ।
सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले यसअघि देशका एक मात्र राष्ट्रपति मदुरो नै भएको बताएकी थिइन्।
भेनेजुएलाले "अत्यन्त गम्भीर सैनिक आक्रमण" भएको भन्दै देशभरि राष्ट्रिय आपत्काल घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घले के भन्यो

तस्बिर स्रोत, Getty Images
संयुक्त राष्ट्रसङ्घका महासचिवका एक जना प्रवक्ताले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू "अत्यन्तै चिन्तित" भएको महासचिव एन्टोनियो गुटेरसले बताएको उल्लेख गरेका छन्।
उनले "उक्त क्षेत्रमा निम्तिन सक्ने प्रभावबारे चिन्तित रहेको" पनि बताएका छन्।
"भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका छन्," विज्ञप्तिमा भनिएको छ।
"महासचिवले अन्नर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय कानुनको पालना नभएकोमा उहाँ अन्त्यन्तै चिन्तित हुनुभएको छ।"
चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान गरेको छ।
भेनेजुएलाबाट कसरी पुर्याइयो न्यूयोर्क

तस्बिर स्रोत, Reuters
भेनेजुएलाबाट पक्राउ परेका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्याइएका थिए।
शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो। त्यसपछि उनलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत 'यूएसएस इवो जिमा'मा पुर्याइएको थियो।
त्यसपछि मदुरोलाई क्युबास्थित ग्वान्टानामो बेमा रहेको अमेरिकी नौसैनिक अड्डामा लगियो। त्यहाँबाट उनलाई अर्को विमानमा सारेर न्यूयोर्क राज्यको ओरिन्ज काउन्टीमा रहेको स्टुवर्ट एअर फोर्स बेसतर्फ उडाइयो।
स्टूवर्ट एयर फोर्स बेस पुगेपछि मदुरोलाई फेरि हेलिकप्टरमार्फत् न्यूयोर्क सहर भित्र्याइएको थियो।
पक्राउ परेदेखि अमेरिकामा अवतरणसम्म मादुरोले करिब ३,३०० किलोमिटर दूरी पार गरेका थिए।
मदुरोमाथि केके मुद्दा लाग्न सक्छन्

तस्बिर स्रोत, Jeenah Moon/Reuters
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता गरिएको जानकारी दिएकी छन्।
उनीहरूमाथि लागुऔषध–आतङ्कवादको षड्यन्त्र र कोकिन आयात, मशीनगन तथा विनाशकारी हतियार राखेको अनि अमेरिकाविरुद्ध मशीनगन र विनाशकारी हतियार राख्न षड्यन्त्र गरेको आरोप लगाइएको छ।
मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ। आफूमाथि अमेरिकाले लगाउँदै आएको लागुऔषध कार्टेलको नेता भएको आरोप मदुरोले अस्वीकार गर्दै आएका छन्।
अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन प्रणालीमा उनीहरूको विवरण प्रविष्ट गर्नुअघि बायोमेट्रिक विवरण, औँठाछाप र अनुहार प्रष्ट देखिने अर्धकदको तस्बिर लिइन्छ।
स्वास्थ्य परीक्षण जस्ता प्रक्रिया पूरा गरेपछि मदुरो र उनकी पत्नीलाई अदालतमा औपचारिक रूपमा अभियोग सुनाइने अधिकारीहरूले बताएका छन्।
मदुरोलाई सोमवार मात्रै अदालत उपस्थित गराइने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








