भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकाद्वारा 'पक्राउ', लागुपदार्थ र आतङ्कवादको मुद्दा चलाइने

कराकास

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, कराकासमा भएको अमेरिकी हवाई हमलाको तस्बिर

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले "भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमण"मा "त्यहाँका नेता राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको" बताएका छन्।

उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन्।

तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।

सरकारले उनीहरू दुवैको "तत्काल जीवनको प्रमाण"को माग गरेको उनले बताइन्।

राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेस पक्राउ परेका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेस पक्राउ परेका छन् (फाइल तस्बिर)

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो।

मदुरोलाई पक्राउ गरिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाविरुद्ध थप कदम नचालिने ठानेका एक रिपब्लिकन सिनेटरले बताए।

रुबियोसँगको फोन वार्तापछि सिनेटर माइक लीले मादुरोको गिरफ्तारी पुष्टि गरेका हुन्।

"मदुरो अहिले अमेरिकी नियन्त्रणमा भएकाले भेनेजुएलामा थप कारबाही नहुने उनले (रुबियो) ठानेका छन्," उनले भने।

लीका अनुसार ती अमेरिकी आक्रमणहरू मदुरोलाई पक्राउ गर्न गएका टोलीको सुरक्षा सुनिश्चित गर्न गरिएका थिए।

भेनेजुएलामा सङ्कटकाल

विस्फोटनपछि फोर्ट ट्युनाको मुख्य सैनिक परिसरमा लागेको आगो

तस्बिर स्रोत, Luis JAIMES / AFP via Getty Images

तस्बिरको क्याप्शन, विस्फोटनपछि फोर्ट ट्युनाको मुख्य सैनिक परिसरमा लागेको आगो

यसअघि भेनेजुएलाको राजधानी कराकाससहित उक्त देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएका थिए।

जसक्रममा सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै "अमेरिकी आक्रामकतालाई नस्वीकार्ने" बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।

कराकस

तस्बिर स्रोत, Reuters

यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए।

प्रभावितमध्ये राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा छन्। त्यस आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन्।

सहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका खबरमा विस्फोटहरूसँगै विमानहरू उडेको आवाज पनि सुनिएको बताइएको छ।

द्विपक्षीय तनावको पृष्ठभूमि

भेनेजुएला

तस्बिर स्रोत, Reuters

राष्ट्रपति निकोलास मदुरो ट्रम्प प्रशासनको तीव्र दबाबमा थिए। वासिङ्टनले हालैका सातामा लागूपदार्थ बोकेको आरोपमा क्यारिबियनमा कैयौँ डुङ्गाहरूमा आक्रमण गरेको छ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो अवैध रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमा देशभर लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ।

वासिङ्टनले मदुरोलाई पक्राउ गर्न सघाउनेगरी जानकारी दिनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

भेनेजुएला सरकारले यसअघि वाशिङ्गटनले हालै गरेका तेल ट्याङ्करहरू कब्जा गर्नेसहितका कारबाहीहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयासको एउटा अंश भएको जनाएको थियो।

अवस्था यहाँसम्म कसरी आइपुग्यो?

भेनेजुएला

तस्बिर स्रोत, Reuters

महिनौँदेखि भेनेजुएलालाई दबाबमा राखेर र दक्षिण क्यारबियन सागरमा अमेरिकी सेना युद्धपोतसहित परिचालन भएपछि यी आक्रमणहरू भएका छन्।

अमेरिकाले भेनेजुएलाबाट लागूपदार्थ तस्करी गरिरहेको भनिएका साना डुङ्गाहरूमा बारम्बार आक्रमण गरेको छ।

सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियनमा पानीजहाज र लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमाथि ३० वटा आक्रमण गरिसकेको छ।

सेप्टेम्बर २ मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रको डुङ्गामाथि पहिलो आक्रमण गरेदेखि ११० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।

वासिङ्टनले निकोलास मदुरोलाई भेनेजुएलाका वैध राष्ट्रपतिको रूपमा मान्यता दिँदैन र लागूपदार्थ तस्करीको आरोपमा उनको पक्राउ गर्नेका लागि पुरस्कारको व्यवस्था गरेको छ।

राष्ट्रपति ट्रम्पले सैन्य हस्तक्षेपको धम्की दिइरहेका छन् र मदुरोलाई सत्ता त्याग्न आग्रह गरेको भनिएका विवरण आएका छन्।

मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका छन्। तर उनले शान्ति र वार्ताको लागि अपिल समेत गरिरहेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।