अमेरिका नयाँ युद्ध निम्त्याउन उद्यत भएको भेनेजुएलाका नेता मदुरोको आरोप

तस्बिर स्रोत, Reuters
- Author, केयला एपस्टीन र जश चिटम
- Role, बीबीसी भेरिफाई
अमेरिकाले विश्वको सबभन्दा ठूलो युद्धपोत क्यारबियन सागरमा परिचालन गरेपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले वाशिङ्टन 'युद्ध निम्त्याउन' उद्यत रहेको आरोप लगाएका छन्।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यूएसएस जेराल्ड आर फोर्ड युद्धपोतलाई भूमध्यसागरबाट क्यारबियनमा खटिन शुक्रवार आदेश दिए।
सो युद्धपोतले ९० वटा विमान बोक्न सक्छ।
"तिनीहरू नयाँ अनन्त युद्ध निम्त्याउन उद्यत छन्," मदुरोले सरकारी सञ्चारमाध्यमलाई बताए। "तिनले आइन्दा कुनै युद्धमा नहोमिने वाचा गरेका थिए, र अब नयाँ युद्ध निर्माण गर्दै छन्।"
अमेरिकाको ध्यान किन क्यारबियनमा?
केही समययता अमेरिकाले क्यारबियन क्षेत्रमा उसको सैन्य उपस्थिति बाक्लो बनाउँदै लगेको छ।
लागुऔषध तस्करहरूलाई निसाना बनाउने अभियानका निम्ति त्यसो गरिएको उसले बताएको छ।
सो क्षेत्रमा युद्धपोत, परमाणु क्षमतायुक्त पनडुब्बी तथा एफ-३५ जस्ता लडाकू विमान खटाइएका छन्।
हालसालै उसले त्यहाँ तस्करहरूका भनिएका डुङ्गाहरूमा १० पटक हवाई हमला गरेको छ। शुक्रवार पनि त्यस्तै एक हमला गरिएको थियो जसमा '६ जना पुरुष लागुऔषध आतङ्ककारीहरू' मारिएको हेग्सेथले बताएका छन्।
सो कारबाही क्यारबियन सागरमा रहेको एक जहाजमाथि गरिएको र उक्त जहाज ट्रेन डे आराग्वा नामक भेनेजुएलाली अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनको रहेको हेग्सेथले बताए।

ती हमलालाई उक्त क्षेत्रमा निन्दा गरिएको छ अनि विज्ञहरूले उक्त कारबाहीको वैधताबारे पनि प्रश्न उठाएका छन्।
ट्रम्प प्रशासनले लागुऔषध तस्करीविरुद्ध युद्ध छेडिएको भनेको छ। तर उसले खासमा सो क्षेत्रमा रहेको भेनेजुएलाको मदुरो नेतृत्वको सरकारलाई अस्थिर बनाइदिन तर्साउने अभियान थालेको विज्ञ तथा केही कङ्ग्रेस सदस्यहरूले आरोप लगाएका छन्।
मदुरो लामो समयदेखि ट्रम्पका शत्रु हुन्। अमेरिकी राष्ट्रपतिले मदुरो लागुऔषध तस्करी गर्ने सङ्गठनका नाइके भएको आरोप लगाएका छन्। मदुरोले ती आरोप अस्वीकार गर्छन्।
सत्ता पलटको खेल?
"यो सत्ता परिवर्तनसँग जोडिएको छ। सायद उनीहरूले अतिक्रमण गर्ने छैनन्। एक किसिमले सन्देश दिन खोजिएको भन्ने आशा छ," च्याटम हाउसका ल्याटिन अमेरिकाबारे वरिष्ठ शोधकर्ता डा क्रिस्टोफर साबाटिनीले बीबीसीलाई भने।
सैन्य उपस्थितिमार्फत् भेनेजुएलाको सेना र मदुरोका निकटहरूको मुटुमा ढ्याङ्ग्रो ठोकाउन खोजिएको र त्यसका कारण तिनले मदुरोको विरुद्ध कदम चाल्ने आश गरिएको उनले बताए।
शुक्रवार एक सन्देश दिँदै पेन्टागनले यूएसएस जेराल्ड आर फोर्ड युद्धपोत अब अमेरिकी साउदर्न कमान्डको क्षेत्रमा खटिने भनेको थियो। मध्य तथा दक्षिण अमेरिका अनि क्यारबियन क्षेत्र सोही कमान्डअन्तर्गत पर्छ।
सो युद्धपोतको परिचालनले जमिनमा पनि हमला गर्न सक्ने स्रोत जुटाइदिन्छ। भेनेजुएलामा 'स्थल कारबाही'को सम्भावनाबारे ट्रम्पले बारम्बार चर्चा गरेका छन्।
"निश्चय पनि हाम्रो ध्यान अब जमिनतर्फ छ किनभने समुद्री क्षेत्र हाम्रो नियन्त्रणमा छ," उनले यो साताको सुरुमा भनेका थिए।
ट्रम्पले भेनेजुएलाभित्र रहेका कोकिन उत्पादन केन्द्रहरू तथा लागुऔषध ओसारपसारका मार्गहरूलाई निसाना बनाउनेबारे सोचविचार गरिरहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। ट्रम्पले यसबारे अन्तिम निर्णय लिन बाँकी रहेको रिपोर्टमा उल्लेख छ।
विशाल युद्धपोतको परिचालनले सो क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमा उल्लेखनीय बढोत्तरी गर्नेछ। यसले भेनेजुएलासँगको तनाव पनि चर्काउने छ। भेनेजुएलाको सरकारले लागुऔषध तस्करहरूलाई संरक्षण दिइरहेको आरोप वाशिङ्टनले लामो समयदेखि लगाउँदै आएको छ।
हालैका समयहरूमा क्यारबियन सागर क्षेत्रमा अमेरिकाले गरेका हमलामा परी मारिनेहरूको सङ्ख्या ४३ पुगेको छ।
अमेरिकी कङ्ग्रेसका कतिपय सदस्यहरूले चाहिँ यस्ता सैन्य कारबाही गर्ने अधिकार संसदको रहेको भन्दै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








