ट्रम्पको निसानामा परेको भेनेजुएलाको गिरोह ट्रेन डे आरग्व के हो

सन् २०२३ मा टोकोरन जेललाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२३ मा टोकोरन जेललाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीहरू
    • Author, लिसा लाम्बेअर
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

सन् २०२३ को सेप्टेम्बरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले देशको उत्तरी राज्य आरग्वको टोकोरन जेलमा धावा बोल्नका लागि ११,००० सैनिकहरू खटाए।

तर उनीहरूलाई त्यहाँ दङ्गा दबाउन पठाइएको थिएन।

त्यो फौजले उक्त जेललाई त्यहाँको एउटा शक्तिशाली गिरोहबाट पुन:नियन्त्रणमा लिँदै थियो। त्यस गिरोहले चाहिँ उक्त जेललाई एकखाले रिसोर्टजस्तो बनाएको थियो, जहाँ चिडियाखाना, रेस्टुराँ, नाइट क्लब, जुवाघर र पौडीपोखरी समेत थियो।

त्यस बेला गिरोहका नाइके हेक्टर गुर्रेरो फ्लोरेस भागे।

यतिखेर ट्रेन डे आरग्व गिरोह राष्ट्रपति डोनल्ड ट्रम्पको गैरकानुनी आप्रवासीहरूलाई सामूहिक रूपमा देशनिकाला गर्ने वाचाअनुरूप अमेरिकाबाट विदेशी अपराधी हटाउने अभियानको निशानामा परेको छ।

ट्रेन डे आरागुवाबारे जान्नुपर्ने कुरा यस्ता छन् :

यस गिरोहको सुरुवात कसरी भयो?

सुरुमा जेलभित्रको एक गिरोह रहेको ट्रेन डे आरग्वलाई हेक्टर गुर्रेरो फ्लोरेसले 'अन्तर्राष्ट्रिय आपराधिक सङ्गठन'को स्वरूप दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले गिरोह नेताको पक्राउसम्म पुर्‍याउने सूचना दिनेलाई ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार दिने जनाएको छ।

एक दशकयता ४१ वर्षीय गुर्रेरो फ्लोरेस टोकोरनको भित्रबाहिर गरिरहे।

सन् २०१२ मा उनले त्यहाँका चौकीदारलाई घुस दिएर भागे तापनि सन् २०१३ मा पुनः पक्राउ परे।

त्यतिखेर फर्किएयता उनले उक्त जेललाई विलासी परिसर बनाए अनि उनले उक्त गिरोहको प्रभाव जेलका ढोकाभन्दा परसम्मै पुर्‍याए।

उनले बोलिभर राज्यको सुनखानी, करिबीअन तटका लागुऔषध मार्ग र भेनेजुएला एवं कोलम्बियाबीचको गोप्य सीमानाकालाई कब्जामा लिएको अमेरिकी विदेश मन्त्रालयले जनाउँछ।

उक्त गिरोहको नामको अर्थ "आरग्वको रेल" भन्ने लाग्छ र त्यो रेलमार्ग मजदूर युनिअनबाट आएको हुन सक्छ।

सेन्ट्रल यूनिभर्सिटी अफ भेनेजुएलामा अपराधशास्त्र प्राध्यापक रहेकी लुसिल इज्क्वील बीबीसीसँग कुरा गर्दै सो युनिअनले आरग्व पार गर्ने रेलमार्गको एउटा भाग नियन्त्रणमा लिएर त्यहाँ ठेकेदारहरूलाई जबरजस्ती कार्यस्थल पुर्‍याएर त्यहाँ काम गर्न लगाएको बताउँछिन्।

गुर्रेरो फ्लोरेसको नेतृत्वमा ट्रेन डे आरग्वा कोलम्बिया, एक्वडर, पेरू र चिलीसम्मै फैलियो।

उसका कामसमेत आप्रवासीहरूलाई जबरजस्ती यौन शोषणमा लगाउने, ज्यान मार्न लगाउने र अपहरण गर्नेजस्तामा फैलियो।

गिरोह कति ठूलो छ?

अमेरिकाबाट निकाला गरिएका व्यक्तिहरू ट्रेन डे आरग्वा समूहका सदस्यहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाबाट निकाला गरिएका व्यक्तिहरू ट्रेन डे आरग्वा समूहका सदस्यहरू

धेरैजसो विवरणहरूमा सन् २०१४ मा भेनेजुएलामा मानवीय र आर्थिक आपत्कालको अवस्था आउँदा ट्रेन डे आरग्व देशबाहिर फैलिएको उल्लेख पाइन्छ।

त्यसबेला सो गिरोहका अपराध कम नाफामुखी बने। यतिखेर अमेरिकासहित आठ अन्य देशहरूमा यसको प्रभाव रहेको ठानिन्छ।

उक्त गिरोहबारे पुस्तक लेखेकी रोना रिस्केसको अनुमानमा गत वर्ष उक्त सङ्गठनमा ५,००० जना सदस्य रहेको र वार्षिक मुनाफा एकदेखि डेढ करोड अमेरिकी डलरबीच रहेको बताइन्छ।

अन्य केही उनीहरूको सदस्यता सङ्ख्या त्यसको करिब आधा रहेको अनुमान गर्छन्।

चिलीका एक अभियोजनकर्ता ट्रेन डे आरग्वलाई एउटा "क्रूर सङ्गठन" भन्दै त्यसले आफ्नो उद्देश्य प्राप्तिका लागि हत्या र यातनाको अस्त्र अपनाउने गरेको बताउँछन्।

ल्याटिन अमेरिकाका अन्य आपराधिक समूहको तुलनामा सानो वा कम धनी भए तापनि ट्रेन डे आरग्वको तुलना एल साल्भाडोरको निकै उग्र एमएस-१३ गिरोहसँग हुन्छ।

ट्रेन डे आरग्वका मानिसहरूमाथि चिलेका प्रहरीको लुगा लगाएर भेनेजुएलाका विपक्षी सैन्य अधिकारी रोनल्ड ओजेडालाई अपहरण गरेको आरोप लागेको थियो।

ओजेडाको शव सन् २०२४ को मार्चमा चिलेको सान्टिआगोमा फेला परेको थियो।

राष्ट्रपति जो बाइडनको कार्यकालको अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी सीमा क्षेत्रमा जबरजस्ती यौन कार्यमा मानिसहरूलाई संलग्न गराएको भन्दै गत वर्षको गर्मी याममा ट्रेन डे आरग्वमाथि प्रतिबन्ध लगाएको थियो।

के अमेरिकाको लागि त्यसको जोखिम छ?

एल साल्भाडोरको कुख्यात बन्दीगृह टेररिजम कन्फाइन्मन्ट सेन्टर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाबाट निकालिएकाहरूलाई एल साल्भाडोरको कुख्यात बन्दीगृह टेररिजम कन्फाइन्मन्ट सेन्टरमा राखिने बताइएको छ

शनिवार ट्रम्पले १८औँ शताब्दी पुरानो 'एलिअन एनमिज एक्ट' नामक कानुन ब्युँताउँदै ट्रेन डे आरग्वलाई "अमेरिकी भूभागविरुद्ध लुकिछिपी आक्रमणको प्रयास गर्ने र धम्की दिने" गरेको आरोप लगाए।

उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निर्देशनमा यो गिरोह अमेरिकाविरुद्ध "अनियमित युद्ध" मा संलग्न रहेको बताए।

ज्यानुअरीमा पद सम्हालेको केही समयपछि नै ट्रम्पले ट्रेन डे आरग्वलाई पनि विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्दै उक्त समूहलाई इस्लामिक स्टेट र नाइजेरियाका इस्लामिक आतङ्कवादी बोको हरामजस्तै श्रेणीमा राखेका छन्।

पछिल्ला महिनामा टेक्सस, फ्लोरिडा, न्यूयोर्क र इलिनोई राज्यमा ट्रेन डे आरग्वका सदस्य भनिएका व्यक्तिहरूलाई पक्राउ गरिँदै उनीहरूमाथि हत्यादेखि अपहरणका आरोप लगाइएका छन्।

गत गर्मीयाममा एनबीसी न्यूजले डिपार्ट्मेन्ट अफ होमल्यान्डको अनुमानमा उक्त गिरोहसँग सम्बन्ध रहेका ६०० भेनेजुएलाका आप्रवासीहरू अमेरिकामा रहेको र १०० जना सदस्य नै रहेको विवरण सार्वजनिक गरेको थियो।

सन् २०२३ सम्ममा अमेरिकामा सात लाख ७० हजार भेनेजुएलाका नागरिकहरू बसिरहेका छन्।

माइग्रेशन पलिसी इन्स्टिच्यूटका अनुसार त्यो देशका कुल आप्रवासीमध्ये २ प्रतिशत भन्दा थोरै कम हो।

धेरैजसोलाई अमेरिकी सरकारले संरक्षित हैसियत दिएको छ।

भन्सार तथा सीमा संरक्षण प्रतिवेदनहरूले सन् २०२४ मा तीन लाख १३ हजार ५०० भेनेजुएलाका आप्रवासीहरू सीमामा देखा परेको उल्लेख गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।