अमेरिकाले निष्काशन गरेका नौ नेपाली कसरी त्यहाँ पुगेका थिए

निष्काशनमा परेका व्यक्ति देखाउने चित्राङ्कन
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

संयुक्त राज्य अमेरिकाले "अवैध आप्रवासी" ठहर गरी नेपाल फर्काइदिएका नेपालीहरू कसरी अमेरिका पुगेका थिए भन्नेबारे चासो व्यक्त भइरहेको छ।

बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका नौ नेपालीलाई विमानस्थल अध्यागमन कार्यालयले सामान्य प्रक्रिया पूरा गरेपछि प्रहरीको जिम्मा लगायो। उनीहरूसँग काठमाण्डूको बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरूले आवश्यक सोधपुछ गरिएको बताएका छन्।

उनीहरूलाई हत्कडी लगाइएको वा कुन अवस्थामा नेपाल ल्याइएको भन्नेबारे चाहिँ अधिकारीहरू बीबीसीसँग खुल्न चाहेनन्। "विमानबाट ओर्लिनुअघि कुन अवस्थामा उहाँहरू हुनुहुन्थ्यो त्यो थाहा भएन। अध्यागमनमा चाहिँ हत्कडी लगाइएको अवस्था थिएन," अध्यागमन स्रोतले बीबीसी न्यूज नेपालीसँग भन्यो।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनीहरूले सुनाएका विवरणहरू साझा गरेका छन्।

विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ।

अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेको देखाउँछ।

कसरी अमेरिका पुगे?

आठ नेपालीलाई लिएर आएको चार्टर्ड विमान
तस्बिरको क्याप्शन, अमेरिका निष्काशन गरेकामध्ये आठ जना चार्टर्ड र एक जना नियमित उडानबाट नेपाल आइपुगेका हुन्

अधिकारीहरूले अमेरिकाबाट फर्काइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्यूरो लगिनुको कारणबारे स्पष्टीकरण दिएका छन्।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा बेचबिखन, ओसारपसार र मानव तस्करीका प्रावधान समेटिएका छन्। "सो ऐनविपरीतका कसुरमा उहाँहरू पीडित हुनुभयो कि, तस्करी ठगीमा पर्नुभयो कि भन्ने दृष्टिकोणलाई मध्यनजर राखेर विमानस्थल अध्यागमनबाट मानव बेचखिन अनुसन्धान ब्यूरोमा ल्याएर सोधपुछ र परामर्श गरेका हौँ," कुँवरले भने।

प्रहरीले बुधवारको सोधपुछबाट उनीहरू अमेरिकासम्म कसरी पुगे भन्ने जानकारी लिइएको बताएको छ। ती नेपालीहरू कुन माध्यम वा बाटोबाट यात्रा गरे र कहाँकहाँ गए भन्नेबारे सोधपुछका क्रममा प्रहरीलाई बताए।

"…धेरैजसो यहाँबाट मध्यपूर्व, मध्यपूर्वबाट युरोप र युरोपबाट साउथ अमेरिकाको ब्रजिलसम्म पर्यटक भिसामा गएको देखियो," कुँवरले भने।

"ब्रजिल पुगिसकेपछि केही व्यक्तिले एअरलाइनको टिकट खरिद गरेर मेक्सिकोसम्म पुगेका र केही मानिसहरू सडकमार्गबाट मेक्सिको सिमानासम्म पुगेका अनि अमेरिकाको लस एन्जलस र टेक्ससबाट लुकीछिपी सीमा नाघेपछि अमेरिकी सुरक्षा बलले उहाँहरूलाई नियन्त्रणमा लिएको भन्ने बुझियो।"

तस्करीमा त परेका होइनन्?

यसअघि अमेरिकाबाट फर्काइएका कतिपयले लाखौँ रुपैयाँ दलालहरूलाई बुझाएर त्यहाँसम्म पुगेको भनी बताएका विवरण आएका थिए। बुधवार नेपाल आइपुगेका नेपालीहरू पनि त्यसरी नै पुगेका थिए कि भन्ने जिज्ञासा उत्पन्न भएको छ।

त्यसबारे प्रवक्ता कुँवरले भनेः "झट्ट हेर्दा उहाँहरूले पर्यटक भिसा लिइसकेपछि जुन देशलाई गन्तव्य देश बनाएर उहाँहरू जानुभयो, त्यसबाट घुमफिर गर्न गएको अवस्था देखिन्छ। कानुनी रूपमा उहाँहरूको आगमन र प्रस्थान हेर्दा त्यही देखिन्छ।"

"तर त्यसै पनि नेपाली डायस्पोरा धेरै नभएको ठाउँ उहाँहरू कसरी पुग्नुभयो भन्ने एउटा आशङ्का चाहिँ रहन्छ।"

उसो भए के ती नौ नेपालीहरू पनि दलालको ठगी अथवा प्रलोभनमा परेर अमेरिकासम्म पुगेका त होइनन्?

उत्तर दिँदै मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता कुँवरले भ, "प्रारम्भिक अनुमान हो र उहाँहरूलाई हामीले कुनै बेचबिखनको, ओसारपसारको वा तस्करीको पीडित हुनुहुन्छ भने कसैविरुद्ध जाहेरी पनि दिनुहुन्छ कि भनेर परामर्श गरेका छौँ।"

तर ती व्यक्तिहरूले कसैविरुद्ध जाहेरी दिन्छन् अथवा दिँदैनन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

नेपालीहरूलाई ल्याउने विमान अमेरिकाको न्यूह्याम्शरस्थित पोर्टस्मथबाट आल्बेनिया हुँदै आएको FlightRadar24 ले जनाएको छ
तस्बिरको क्याप्शन, नेपालीहरूलाई ल्याउने विमान अमेरिकाको न्यूह्याम्शरस्थित पोर्टस्मथबाट आल्बेनिया हुँदै आएको FlightRadar24 ले जनाएको छ

कति रकम खर्च गरेर अमेरिका गएका थिए

प्रहरीका अनुसार अमेरिकाबाट निष्काशनपश्चात्‌ नेपाल आइपुगेका नेपालीहरू लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, दाङ जिल्लाका छन् भने एक जना सुदूरपश्चिमको डोटी जिल्लाका रहेका छन्।

हालैका दिनहरूमा अमेरिकाले भारतीय अवैध आप्रवासीहरूलाई हत्कडी लगाएर फर्काएको पाइएको थियो। त्यो कार्यको भारतमा व्यापक आलोचना भएको थियो।

नेपालीहरू फर्काइएको अवस्थाबारे बीबीसीले राखेको जिज्ञासामा ब्यूरोका प्रवक्ता कुँवरले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। "आज फर्काइएका नेपालीहरूको 'ट्राभल स्टाटस' हेर्दा आठ जनालाई चार्टर्ड फ्लाइटमा र एक जनालाई कमर्शनल फ्लाइडटमा फर्काइएको छ," उनले भने।

"चार्टर्ड फ्लाइट किन गरियो भन्दा 'फेलर टू कम्प्ल्याइअन्श' भनिन्छ। कमर्सिशल फ्लाइटबाट इन्डिभिजुअल ट्राभलरको हैसियतमा जान्नौँ भनेपछि त्यसरी पठाइएको हुन सक्छ भन्ने अनुमान हो।"

"हत्कडी लगाएर ल्याइएको थियो वा थिएन, त्यो चाहिँ मलाई जानकारी भएन," कुँवरले थपे।

नेपाल पुगेका व्यक्तिहरूले ८०-९० लाख रुपैयाँसम्म बुझाएर अमेरिकासम्म पुगेको भन्ने विवरणहरू आएका छन्। त्यसबारे सोधपुछका क्रममा पनि उनीहरूले केही सङ्केत प्रहरीले बीबीसीलाई बताएको छ।

"उहाँहरूले सङ्केत गर्नुभएको छ। ५०/६० लाख, ७०/८० लाखसम्म इन्डिभिजुअल केस छ यसमा। त्यसमा यात्रको खर्च, खाना लगायतका खर्च पनि जोडिएको हो वा होइन अथवा कसलाई उहाँहरूले रकम बुझाउनुभयो त्यो चाहिँ विस्तृत अनुसन्धानबाट थाहा हुन्छ," प्रवक्ता कुँवरले भने।

प्रहरी अधिकारीहरूका अनुसार अमेरिकाबाट बुधवार फर्काइएका सबै नेपालीहरू वयस्क उमेरका छन्। चार्टर्ड विमानमा आएका मध्ये एक जना महिला छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।