भारतीयलाई मेक्सिको हुँदै अमेरिका पठाउने गिरोह नेपालमा पक्राउ परेपछि प्रहरी के भन्छ?

नेपाल प्रहरीले गिरफ्तार गरिएका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, नेपाल प्रहरीले गिरफ्तार गरिएका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ

नेपालबाट अवैध रूपमा मेक्सिकोहुँदै ११ जना भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयहरूलाई पक्राउ गरेको छ।

उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाण्डू प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्।

अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरिएको र उक्त गतिविधिमा संलग्न रहेको ठानिएका ८ जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख भूपेन्द्र खत्रीले बीबीसीलाई बताए।

अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले गैर कानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख गरेको छ।

पछिल्लो घटना के हो?

प्रहरी

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, प्रहरीले उक्त घरबाट बरामद भएको रकम पनि सार्वजनिक गरेको छ

काठमाण्डू जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले बीबीसीलाई दिएको जानकारी अनुसार प्रहरीले भारतीय गिरोहको चङ्गुलबाट भारतीयहरूलाई उद्धार गरेको बताए।

उनी भन्छन्, “जुन गिरोह थियो उनीहरूले मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर ठूलो रकम लिएर नेपालमा ल्याएर दुबइ हुँदै त्यता पठाउने भनेर राखेको रहेछ। अहिले उक्त गिरोह पक्राउ परेको छ।”

उनले पक्राउ परेको समूहबाट नक्कली कागजपत्रहरू पनि पाइएको बताए। प्रहरीका अनुसार फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत सो समूहबाट प्रहरीले बरामद गरेको छ।

पीडितहरू भारतको हरियाणा, दिल्ली लगायत विभिन्न ठाउँका रहेको भन्दै त्यसबारे आफूहरूले अनुसन्धान गरिरहेको खत्रीले बताए।

“पक्राउ पर्नेहरू पनि सबै भारतीय नै छन्। पञ्जाब र मध्यप्रदेश सहितका ठाउँका मानिसहरू गिरफ्तार भएका छन्।”

पत्रकार सम्मेलनमा खत्रीले 'अपरेशन डङ्की' नाम दिइएको उक्त कारबाहीलाई सङ्गठित अपराधका रूपमा हेरिएको बताए।

अनुसन्धानका क्रममा भारतीय गिरोहले अमेरिका नपठाउने उद्देश्य राखेर ती पीडितहरूलाई बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलनका बेला विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, यातना दिन प्रयोग गर्ने गरिएको पाइप र विभिन्न देशका मुद्राहरू सबुत प्रमाणका रूपमा सार्वजनिक गरेको छ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी महल र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही गरिने बताएको छ।

नेपाल प्रहरी

तस्बिर स्रोत, Getty Image

तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर

बन्धक बनाइएको र मानव बेचबिखनमा अनुसन्धान

प्रहरीका अनुसार पीडितहरूलाई काठमाण्डूको रातोपुलमा सिङ्गै घर भाडामा लिएर राखिएको अवस्थामा पाइएको छ।

गौशाला प्रहरी वृत्तका प्रमुख केशवकुमार थेबेले बीबीसीसँग भने, “कतिपय व्यक्तिहरूलाई १४ दिन, कतिपयलाई २० दिन र कतिपयलाई महिनौँ दिनदेखि राखिरहेको पाइएको छ। पीडितहरूलाई हवाई मार्गबाट नै नेपाल ल्याइएको थियो।”

ती व्यक्तिहरूलाई ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउन भनिएको र काठमाण्डूमा ३ हजार डलर र पासपोर्ट बुझाउनुपर्ने सर्त राखिएको खत्रीले जानकारी दिए।

उनले कूल नौ जना पक्राउ गरिएको र त्यसमा कागजात बनाउन सहयोग गर्ने एक जना नेपाली मतियार रहेको पनि जनाए।

“प्रविधिहरूको प्रयोग गरेर नक्कली हिसाबले मेक्सिकोको परिवेश देखाएर पनि झुक्क्याइएको छ। आगमन र बहिर्गमनका छापसहित सबै नक्कली बनाइएको छ।”

उनले भारतीयहरूले ७५ हजार मासिक शुल्क तिरेर घर भाडामा लिएको बताउँदै उनीहरूले पीडितहरूलाई बन्धक बनाएको र यातना दिएको पाइएको बताए।

“यस्तो घटना पहिलो पटक हो। तर पीडितहरूसँगको बयानबाट अरू पनि पीडित भएको र जान नपाएको भन्ने कुरा छ।”

उक्त गिरोहका सदस्य मेक्सिको र भारतमा पनि रहेको अनुसन्धानका क्रममा खुलेको उनले बताए।

प्रहरीले सार्वजनिक गरेको नक्कली छाप

तस्बिर स्रोत, Nepal Police

दोहा अथवा दुबइ हुँदै मेक्सिको भएर अमेरिका जाने प्रलोभन पीडितहरूलाई दिइएको प्रहरीले जनाएको छ।

प्रहरीले यो घटनालाई मानव बेचबिखन र बन्धक बनाएर राखिएको कसुरका रूपमा अनुसन्धान गरिरहेको छ।

गौशाला प्रहरी प्रमुख थेबेले भने, “यस्तो घटनालाई पहिलो मानव बेचबिखनसँग जोडिएको कसुरका रूपमा नै हेर्ने गरिन्छ। बन्धक बनाएर राख्नु पनि कसुर हो।”

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख ओमबहादुर रानाले उक्त गिरफ्तारीको पुष्टि गरे र त्यसबारे अनुसन्धान भइरहेको बताए।

उनले बीबीसीसँग भने, “अब अनुसन्धानबाट मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुर देखियो भने यता पठाउनुहोला। ठगीमात्रै देखियो भने त्यतैबाट पनि मुद्दा चल्नसक्छ।”

नेपाल प्रहरीका उच्च अधिकारीहरूले पछिल्लो गिरफ्तारीबारे भारतसँग पनि कुराकानी भइरहेको भन्दै त्यहाँका निकायहरूको पनि सहयोग लिएर थप अनुसन्धान अघि बढाइने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।