अमेरिकाबाट 'अवैध' आप्रवासी निकाला गर्न सेनाको विमान किन

तस्बिर स्रोत, Getty Images
गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको आरोपमा देशनिकाला गरिएका झन्डै १०० भारतीय बोकेको एउटा सैन्य विमान भारतको पन्जाब राज्यमा अवतरण गरेको छ।
मङ्गलवार टेक्सस राज्यबाट उडेको उक्त विमान अमृतसर पुगेको छ। त्यहाँ उनीहरूको अध्यागमन प्रक्रिया अगाडि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन्।
डोनल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक यसरी देशनिकाला गरिएको हो।
भारतबाहेक ब्रजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकहरूलाई पनि यसरी सैन्य विमानमा राखेर निकाला गरिएको थियो। डोनल्ड ट्रम्पले कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमार्फत् उनीहरूको देश फर्काउने घोषणा सुरुमा गरेका थिए। तर कोलम्बियाका राष्ट्रपतिले त्यसको चर्को विरोध गरेका थिए।
उनले आफ्नो देशका नागरिकको 'गरिमा' कायम राख्न आफूले चाहेको धारणा राखेका थिए। त्यसपछि कोलम्बियाको वायुसेनाका दुई विमान अमेरिका गएका थिए र उनीहरू अवैध आप्रवासीहरूलाई लिएर फर्किएका थिए।
त्यसअघि ब्रजिलका अवैध आप्रवासीहरूलाई फिर्ता लिएर जान लागेको अमेरिकी सेनाको एउटा विमानका केही तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसमा मानिसहरूलाई हतकडी र पैतालामा पनि सिक्री लगाइएको देखिएको थियो।

तस्बिर स्रोत, Getty Images
ती तस्बिर सार्वजनिक भएपछि ट्रम्प प्रशासनको निन्दा भएको थियो। त्यसपछि डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई प्रयोग गरेर अवैध आप्रवासीहरूलाई उनीहरूकै देश फर्काउने काम गरिरहेका छन्।
अहिले अमेरिकी सेनाका विमानको प्रयोग गरेर भारतीय आप्रवासीहरूलाई देशनिकाला गरिएको हो।
अमेरिकामा गैरकानुनी रूपमा आफ्नो मुलुक प्रवेश गरेको ठानिएका झन्डै १८,००० भारतीय नागरिकको पहिचान गरेको बताइन्छ।
अमेरिकी सेनाको विमान किन
डोनल्ड ट्रम्पले ज्यानुअरी २० मा राष्ट्रपति पदको शपथ लिएपछि कैयौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्। उनले देशको सीमाको रक्षाको अधिकार अमेरिकी सेनालाई दिएका छन्।
त्यस बेलाका कार्यवाहक रक्षामन्त्रीले एउटा विज्ञप्तिमा रक्षा मन्त्रालयले आन्तरिक सुरक्षा मन्त्रालयलाई ५,००० अवैध आप्रवासी देशनिकाला गर्न "सैन्य विमान उपलब्ध गराउने" बताएका थिए।
राष्ट्रपति ट्रम्पले पनि अवैध आप्रवासीहरूलाई 'पराई' र 'अपराधी' भन्ने गरेका छन्।
केही समयअघि रिपब्लिकन सांसदहरूसँग कुरा गर्दै उनले भनेका थिए, "इतिहासमा पहिलो पटक हामी सैन्य विमानमा अवैध आप्रवासीहरूलाई चढाउँछौँ । अनि उडाएर उनीहरू जहाँबाट आएका थिए त्यहीँ छाडेर आउँछौँ। हामी फेरि सम्मान चाहन्छौँ। वर्षौँदेखि उनीहरूले मूर्ख ठानेर हाम्रो खिसी गरेका छन्।"
ज्यानुअरी २४ मा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिएभिटले 'एक्स'मा हतकडी लगाएर सैन्य विमान चढ्दै गरेका मानिसहरूको तस्बिर राखेका थिइन्। "देशनिकाला गरिएकाहरूको उडान सुरु भइसक्यो। राष्ट्रपति ट्रम्प पूरै संसारलाई दह्रो स्पष्ट सन्देश दिँदै हुनुहुन्छ - यदि अवैध बाटोबाट अमेरिका आउनुहुन्छ भने तपाईँले गम्भीर परिणाम भोग्नुपर्छ।"
अवैध आप्रवासीहरूलाई हतकडी लगाएर देश फिर्ता गराउने विषयमा विवाद पनि भएको थियो।
तर सेनाको विमान प्रयोग गरेर ट्रम्पले साङ्केतिक रूपले बलियो सन्देश दिन खोजेको ठानिएको छ।
गत डिसेम्बर महिनामा उनले अवैध आप्रवासीहरूलाई हिरासतमा राखेर पुनरावेदन गर्ने समय उपलब्ध गराउनुको सट्टा तुरुन्तै फिर्ता गर्ने पक्षमा आफू रहेको बताएका थिए। " उनीहरू अर्को २० वर्ष शिविरमा बसून् भन्ने म चाहन्नँ। म उनीहरू बाहिर गएको देख्न चाहन्छु र उनीहरूलाई आफ्नो देशले फिर्ता लिनैपर्छ।"

तस्बिर स्रोत, US Government Representative
सेनाको विमानलाई "प्रभुत्व"को सङ्केतका रूपमा पनि हेरिन्छ। त्यही कारण देखाएर कोलम्बियाका राष्ट्रपतिले अमेरिकाको विमानलाई आफ्नो देशमा अवतरण गर्न अनुमति दिएका थिएनन्। त्यसपछि कोलम्बियाको विमान नै अमेरिका गएर आफ्ना देशका अवैध आप्रवासी लिएर आएको थियो।
कतिपय देशले सैन्य विमानको अवतरणलाई सम्प्रभुतासँग समेत जोडेर हेर्ने गरेको पाइन्छ। मेक्सिकोकी राष्ट्रपतिले त्यसबारे कडा प्रतिक्रिया व्यक्ति गरेकी थिइन्।
"ट्रम्प आफ्नो सीमाभित्र यस्तो कार्य गर्न सक्छन्। तर जब मेक्सिकोको कुरा आउँछ, हामी हाम्रो सम्प्रभुताको रक्षा गर्छौँ र समन्वयका लागि वार्ताको सम्भावनाको खोजी गर्छौँ।"
ट्रम्पको निर्णयलाई अमेरिकाको शक्तिप्रदर्शनका रूपमा पनि हेरिएको छ किनभने सेनाको विमान प्रयोग गर्नु अत्यधिक खर्चिलो पनि हुने गर्छ।
सेनाको विमान र व्यावसायिक उडान प्रयोग गर्दा कति खर्च
अमेरिकाले अहिलेसम्म अवैध तरिकाले बसिरहेका आप्रवासीहरूलाई देशनिकाला गर्न व्यावसायिक उडानहरूको प्रयोग गर्दै आएको थियो। त्यसको व्यवस्थापनको जिम्मा अमेरिकाको भन्सार तथा अध्यागम हेर्ने निकाय आईसीईसँग ।
कतिपय त्यस्ता साना प्रकारका विमानहरूमार्फत् उडानहरूलाई लिए खासै खर्चको चर्चा हुने गरेको थिएन। तर अब ट्रम्प प्रशासनले 'सी-१७ ग्लोबमास्टर'जस्ता ठूला विमान प्रयोग गर्न थालेको छ।
समाचारसंस्था रोएटर्सले दुवै किसिमका उडानहरूको खर्चसँग सम्बन्धित तथ्याङ्क निकालेको छ। उक्त रिपोर्टअनुसार अमेरिकाको सेनाले गत साता ग्वाटेमालाका अवैध आप्रवासीहरूलाई निकाला गर्दा प्रत्येक यात्रीको लागि ४,६७५ डलर अर्थात् झन्डै ६.५५ लाख नेपाली रुपैयाँजति खर्च लागेको थियो।

तस्बिर स्रोत, Getty Images
अमेरिकाबाट ग्वाटेमालाको लागि अमेरिकी एअरलाइन्समार्फत् प्रथम श्रेणीको एकतर्फी टिकटको मूल्य ८५३ डलर अर्थात् १.१९ लाख रुपैयाँजति पर्छ।
रोएटर्सका अनुसार आईसीईका तात्कालिक कार्यकारी निर्देशक टाई जोन्सनले सन् २०२३ को एप्रिलमा बजेटबारेको छलफलमा पाँच घण्टाको उडानमा १३५ अवैध आप्रवासीहरूलाई देशनिकाला गर्दा १७,००० डलर अर्थात् २३.८१ लाख रुपैयाँजति लाग्ने बताएका थिए।
तर सेनाको सी-१७ सैन्य विमानको खर्च कैयौँ गुना छ। रोएटर्सको विवरणअनुसार उक्त विमानको हरेक घण्टाको खर्च २८ लाख ५०० डलर अर्थात् झन्डै ४० लाख रुपैयाँ पर्न जान्छ।
अहिलेसम्म कतिवटा विमानको प्रयोग भयो
निष्काशन प्रक्रियामा अहिलेसम्म सबैभन्दा लामो उडान भारतको लागि भएको छ। अमेरिकी सेनाको विमान ग्वाटेमाला, पेरु, होन्डुरस र एक्वडोर पनि गएका छन्।
'द न्यूयोर्क टाइम्स'का अनुसार अहिलेसम्म छ सैन्य विमानहरूले त्यस्तो उडान गरेका छन्।
ट्रम्प प्रशासनले गैरसैनिक विमानहरू प्रयोग गरेर पनि अवैध प्रवासीहरूलाई उनीहरूका देशमा पठाउन लागेको विवरणहरू आएका छन्।
भारतका लागि अवैध आप्रवासीहरूलाई विमानमा राखेर फिर्ता गरिने चलन नौलो होइन। गत अमेरिकी आर्थिक वर्षमा १,००० बढी भारतीयहरू चार्टर गरिएका र व्यावसायिक उडानहरूबाट अमेरिकाबाट भारत फिर्ता पठाइएका थिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अवैध आप्रवासनको विपक्षमा रहेको अनि भारत र अमेरिकाबीच आप्रवासन र आवतजावतसम्बन्धी सहकार्यअनुसार दुवै देशहरूले गैरकानुनी आप्रवासन निरुत्साहित बनाउन काम गर्ने बताएका छन्।
उनले भारतीय नागरिकहरूलाई अमेरिकाबाट निकाला गरिनुअघि आफ्नो देशको सरकारले उनीहरूको राष्ट्रियता प्रमाणित गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








