शपथग्रहणसँगै ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेश के हुन्

तस्बिर स्रोत, Reuters
सोमवार अमेरिकाको वाशिङ्टन डीसीमा रहेको संसद् भवन, यूएस क्यापिटलमा राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवै जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनिर्वाचित राष्ट्रपतिले आधिकारिक रूपमा पदभार ग्रहण गरेपछि देशका नाममा पहिलो सम्बोधन पनि गरेका छन्।
ट्रम्पले २९ मिनेट लामो भाषणमा अमेरिकामा आफ्नो कार्यकालसँगै स्वर्णयुग सुरु हुने दाबी गरेका छन्।
त्यसपछि क्यापिटलमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पहिलो आधिकारिक काममा हस्ताक्षर गरेका छन्।
त्यसपछि उनीहरू उद्घाटन समारोहका लागि आयोजना गरिएको भोजमा सामेल भए र क्यापिटलको भर्याङबाट सैन्य परेड हेरे।
शपथग्रहणकै दिन ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेश के हुन् भन्ने विषयमा मानिसहरूको चासो छ।
'कार्यकारी आदेश' भनेको के हो?

तस्बिर स्रोत, Reuters
ट्रम्पले सोमवार सपथग्रहण लगत्तै दर्जनौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्।
त्यसमा कानुनी रूपमा बाध्यकारी हुने कार्यकारी आदेशहरूका साथै कतिपय घोषणाहरू जस्ता राष्ट्रपतीय निर्देशनहरू पनि छन्, जुन सामान्यतया बाध्यकारी हुँदैनन्।
कार्यकारी आदेश भनेको राष्ट्रपतिद्वारा सङ्घीय सरकारलाई जारी गरिएको लिखित आदेश हो जसलाई कङ्ग्रेसले अनुमोदन गर्न आवश्यक पर्दैन।
अर्को शब्दमा, त्यस्ता आदेश भनेका राष्ट्रपतिले नीतिगत परिवर्तनहरू लागू गर्न सक्ने तरिकाहरू मध्ये एक हो जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन।
तर कार्यकारी आदेशहरूले कानूनको दायराभित्र काम गर्नुपर्दछ र तिनीहरूको कानुनी समीक्षा पनि हुन सक्छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २२० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसमध्ये केहीलाई अदालतमा चुनौती दिइएको थियो।
जो बाइडनले भने १६० वटा कार्यकारी आदेश जारी गरेका थिए। त्यस्तै लगातार दुई कार्यकाल बिताएका पूर्व राष्ट्रपतिहरू बराक ओबामा र जर्ज डब्ल्यू बुशले भने क्रमशः २७७ र २९१ वटा कार्यकारी आदेशहरू जारी गरेका थिए।
अमेरिकाको पुनःनिर्माण गर्न चाहिरहेका ट्रम्प
वासिङ्टन डीसीस्थित बीबीसीकी उत्तर अमेरिका सम्पादक सेरा स्मिथको विश्लेषण
हरेक नयाँ राष्ट्रपतिले अमेरिकी इतिहासको नयाँ पानाको थालनी गर्छन्। र, चिसो मौसम रहेको वासिङ्टन डीसीमा डोनल्ड ट्रम्पले कार्यभार सम्हाल्दै गर्दा उनले देशमा नयाँ युगको सुरुवात गर्ने आशा गरिरहेका हुनसक्छ।
दशकौँमा पहिलो पटक अत्यधिक चिसो मौसमका कारण क्यापिटल भवन अगाडि हुँदै आएको राष्ट्रपतिको शपथग्रहण समारोह बाहिर खुलामा नभइ संसद् भवनभित्र गर्न लागिएको छ। यो क्षण ट्रम्फको मूल्याङ्कन उनले गर्ने वाचाहरूमा नभइ उनको कामको आधारमा हुने अवस्थाको आरम्भ पनि हो।
र, उनले आफ्नो कार्यकालको पहिलो दिन नै ठूला परिवर्तनका साथ काम गर्ने वाचा गरेका छन्।
आइतवार उक्त सहरमा भएको एउटा र्यालीमा बोल्दै ट्रम्पले आफूले कार्यभार सम्हालेको केही क्षणमै कतिपय कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने र त्यसमा आप्रवसन र देश निकालादेखि लिएर वातावरण र पारलिङ्गी अधिकारका मुद्दाहरू समेट्ने बताएका थिए।
तर उनको कार्यकाल गम्भीर धक्काहरूका साथ सुरु भयो भने पनि उनको दोस्रो कार्यकाल कस्तो रहनेछ भन्नेबारे अझै प्रश्नहरू छन्।
के उनले ह्वाइट हाउसमा पुन: प्रवेश गर्दा शक्ति परिवर्तनको ठूलो असर हामीले महसुस गर्नेछौँ?
के उनले आफूले वाचा गरे अनुसारका व्यापक सुधारहरू लागु गर्न सक्लान्?
के उनका विपक्षीहरूले भनेजस्तै उनको कार्यकाल विनाशकारी खालको होला?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








