विश्व अर्थतन्त्रमा ट्रम्पको दोस्रो कार्यकालको प्रभाव कस्तो रहला

साङ्घाईस्थित एक बन्दरगाहमा सामान लोड गर्दै ठूलो कन्टेनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्पले नयाँ करदर लागु गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ
    • Author, जोनाथन जोसेफ्स
    • Role, व्यापार संवाददाता, बीबीसी न्यूज

मुद्रास्फीति, ब्याजदर र करका कारण सन् २०२५ विश्व अर्थतन्त्रका लागि चाखलाग्दो वर्ष हुने देखिन्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार आर्थिक वृद्धिदर "स्थिर तर निकै कम" ३.२ प्रतिशत रहने अपेक्षा गरिएको छ।

हामी सबैका लागि त्यसको अर्थ के हुन सक्छ?

अनिश्चितताको डर

गत क्रिस्मसको ठ्याक्कै एक साताअगाडि अमेरिकाका लाखौँ ऋणीका लागि एउटा स्वागतयोग्य उपहार रह्यो- लगातार तेस्रो पटक ब्याजदर कटौती।

तथापि शेअर बजारमा व्यापक गिरावट आयो किनकि संसारको सबैभन्दा ठूलो केन्द्रीय ब्याङ्क 'यूएस फेडरल रिजर्भ'का प्रमुख जेरोम पावेलले मुद्रास्फीतिविरुद्ध सङ्घर्ष जारी रहेका बेला मानिसहरूले ब्याजदरमा थप कटौतीको आशा गर्न नहुने स्पष्ट पारे।

"यहाँबाट नयाँ चरणको सुरुवात भएको छ र ब्याजदरमा थप कटौतीबारे हामी सचेत हुन गइरहेका छौँ," उनले भने।

पछिल्ला वर्षहरूमा कोभिड महामारी र युक्रेन युद्धका कारण विश्वभरि व्यापक मूल्यवृद्धि भएको छ। महँगी अझै बढिरहे पनि त्यसको गति उल्लेख्य रूपमा सुस्त भएको छ।

त्यसको बावजुद संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा २.७ प्रतिशतले महँगी बढ्यो, युरोजोन र यूकेमा यो दर क्रमशः २.२ र २.६ प्रतिशत रह्यो।

मुद्रास्फीतिविरुद्ध तथाकथित "अन्तिम माइल" को युद्ध भनिएका बेला पनि थुप्रै केन्द्रीय ब्याङ्कहरूले झेलिरहेका कठिनाइलाई त्यसले दर्शाउँछ।

मुद्रास्फीतिलाई २ प्रतिशतमा राख्ने उनीहरूको लक्ष्य रहेको छ। अर्थतन्त्रमा वृद्धि भयो भने त्यो हासिल गर्न सहज हुन पनि सक्छ।

यद्यपि विश्वव्यापी आर्थिक वृद्धिका निम्ति सबैभन्दा ठूलो कठिनाइ भनेको "अनिश्चितता" हो र त्यो अनिश्चितता ट्रम्पको दोस्रो कार्यकालसँगै आउन लागेको जेपी मोर्गन लगानी ब्याङ्कका 'ग्लोबल माक्रो रिसर्च' प्रमुख लुइस ओगानेस बताउँछन्।

गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्पले जितेयता अमेरिकी व्यापार साझेदारहरूले चीन, क्यानडा र मेक्सिकोमाथि नयाँ कर थप्ने चेतावनी दिँदै आएका छन्।

"अमेरिकाले अझ बढी एकहोरो नीति लिने, कर बढाउने, अमेरिकी उत्पादनलाई अझ बढी संरक्षण गर्ने प्रयास गर्न लागेको देखिन्छ," ओगानेस भन्छन्।

"यदि त्यसले अमेरिकी वृद्धिलाई सघाउँछ भने पनि व्यापारमा अमेरिकामाथि निर्भर रहँदै आएका कैयौँ मुलुकलाई कम्तीमा अल्पकालका निम्ति असर पार्ने छ।"

अन्तर्राष्ट्रिय मुद्रा कोषका भूतपूर्व प्रमुख अर्थशास्त्री तथा बराक ओबामाका आर्थिक सल्लाहकार माउरिस ओब्स्टफेल्डका अनुसार नयाँ कर खास गरी मेक्सिको र क्यानडाको हकमा बढी बेफाइजानक हुन सक्छ, तर अमेरिकाका लागि पनि हानिकारक हुन सक्छ।

आपूर्ति शृङ्खलामा निर्भर तीनवटा देशमा फैलिएको कार उत्पादक कम्पनीको उदाहरण उनी अघि सार्छन्। "यदि तपाईँ 'सप्लाई चेन'लाई बिथोल्नुहुन्छ भने मोटर बजारमा त्यसको व्यापक असर पर्न सक्छ।"

त्यसले महँगी बढाउन सक्छ, उत्पादनको माग घटाउन सक्छ र कम्पनीको नाफामा असर पार्न सक्छ, जसका कारण लगानीको स्तर तल झार्न सक्ने उनी औँल्याउँछन्।

हाल पिटर्सन इन्स्टिच्यूट फर इन्टर्न्याश्नल ईकनमिक्समा आबद्ध ओब्स्टफेल्ड अगाडि थप्छन्, "व्यापारमा व्यापक निर्भर विश्वमाथि यस्ता करहरू लादिएमा आर्थिक वृद्धिमा त्यो क्षति पुर्‍याउने हुन्छ। त्यसले विश्वलाई आर्थिकमन्दीमा धकेल्न सक्छ।"

कर बढाउने चेतावनीहरूले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको राजीनामामा पनि भूमिका निर्वाह गरेको छ।

घरेलु साजसज्जाका सामान बनाउने मेक्सिकोको उद्योगमा महिला कामदार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी कर वृद्धिका कारण मेक्सिकोका निर्यातमुखी उत्पादनहरूमा असर पर्न सक्छ

चीनमा कस्तो असर

अमेरिका र चीनले एकअर्कालाई बेच्ने वस्तुमा पहिलेदेखि कर लाग्दै आएको भए पनि नयाँ कर लगाउने ट्रम्पको चेतावनी विश्वकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण चुनौती हो।

सस्ता सामानहरूको निर्यात चीनको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो। कर थपिँदा मूल्य बढ्न गएर उपभोक्ता खर्चमा तथा लगानीमा कमी आउनेसहितका आन्तरिक चुनौती सिर्जना हुन्छ, जसलाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको छ।

विश्व ब्याङ्कका अनुसार ती प्रयासहरूले काम गरिरहेका छन्। डिसेम्बरको अन्त्यतिर उसको पूर्वानुमानमा परिवर्तन भई सन् २०२५ मा चिनियाँ अर्थतन्त्र ४.१ प्रतिशतबाट ४.५ प्रतिशतले वृद्धि हुने बताइयो।

बेइजिङले सन् २०२५ का लागि अझै पूर्वानुमान गर्न बाँकी छ। तर गत वर्षको जस्तै पाँच प्रतिशतमा रहने चाहिँ उसको अनुमान छ।

"घरजग्गा क्षेत्रका चुनौतीलाई सम्बोधन गर्नु, सामाजिक सुरक्षा सञ्जाललाई सुदृढ गर्नु र स्थानीय सरकारहरूको अर्थतन्त्रमा सुधार ल्याउन दीर्घकालीन सुधारका निम्ति बाटो खुला गर्नु महत्त्वपूर्ण हुने छ," विश्व ब्याङ्क चीन निर्देशक मारा वार्विक भन्छिन्।

चीनस्थित अमेरिकी च्याम्बर अफ कमर्सका अध्यक्ष माइकल हार्टका अनुसार यी घरेलु सङ्घर्षहरूका अर्थ चिनियाँ सरकार विदेश लगानीलाई "झन् स्वागत" गर्छ भन्ने हो।

बाइडन प्रशासनका बेला अमेरिका र चीनबीच करलाई लिएर तनाव बढेको छ। यसको अर्थ कतिपय कम्पनीले अन्यत्र उत्पादन गर्नतर्फ हेरिसकेका छन्।

विश्व व्यापार युद्धको केन्द्रमा रहिरहने एउटा उद्योग भनेको विद्युतीय सवारीसाधन हो। गत वर्ष चीनमा एक करोडभन्दा बढी गाडी उत्पादन भएको थियो र उसको वर्चस्वले अमेरिका, क्यानडा अनि युरोपेली सङ्घको तर्फबाट नयाँ कर निम्त्यायो।

बेइजिङले ती करहरू अनुचित भएको बताउने गरेको छ र त्यसलाई विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिइहेको छ।

चीनमा विद्युतीय कार बनाइँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिनियाँ विद्युतीय सवारीसाधनमा पहिल्यैदेखि अमेरिकी र युरोपेली कर लागु छन्

युरोपमा नि?

यद्यपि डोनल्ड ट्रम्पले कर लाद्ने सम्भावनाले युरोपेली सङ्घमा चासो निम्त्याएको छ।

"व्यापारमा अवरोध, संरचनावादी कदमहरूले आर्थिक वृद्धिलाई सघाउँदैनन् र अन्ततोगत्वा त्यसको असर मुद्रास्फीतिमा हुन्छ, जुन मूलतः अनिश्चित छ," युरोपिअन सेन्ट्रल ब्याङ्ककी प्रमुख क्रिस्टिन लेगार्डले गत महिना भनिन्। "तर समग्रमा त्यसले मुद्रास्फीति निम्त्याउँछ।"'

जर्मनी र फ्रान्स युरोपेली अर्थतन्त्रका परम्परागत इन्जिन हुन्। तर राजनीतिक अस्थिरताका कारण गत वर्ष उनीहरूको अर्थतन्त्रले राम्रो गरेको छैन। आउँदो वर्षमा युरोजोनले गति गुमाउन सक्ने जोखिम छ।

उपभोक्ताहरूले खर्च नबढाएसम्म र व्यापारव्यवसायमा लगानी नबढाइएसम्म आर्थिक वृद्धि हुने देखिन्न।

एउटा सर्वेक्षणका अनुसार कर र ज्यालामा वृद्धिका कारण यूकेमा महँगी बढ्न सक्छ।

युरोजोनमा ब्याजदर कटौतीका लागि एउटा बाधा भनेको मुद्रास्फीति ४.२ प्रतिशतमा कायम छ।

विश्वकै सबैभन्दा ठूलो मानव संशाधन भर्ती केन्द्र 'रन्ड्स्टड'का प्रमुख कार्यकारी अधिकृत सन्दर भान त नूरदेन्तका अनुसार संयुक्त राज्य अमेरिकाको अवस्था पनि उस्तै छ।

"उदाहरणका लागि अमेरिकामा सन् २०२४ मा ४ प्रतिशतको हाराहारीमा मुद्रास्फीति रहेको देखिन्छ। कतिपय पश्चिम युरोपेली देशहरूमा त्यसभन्दा पनि बढी देखिन्छ। मेरो विचारमा त्यसका दुईवटा पक्ष छन् : प्रतिभाको अभाव छ, तर निश्चित रूपमा मानिसहरूले आफूले गरिरहेका कामका लागि अझ बढी रकम दाबी गरिरहेका छन्।"

उनका अनुसार धेरै कम्पनीले ती अतिरिक्त खर्च आफ्ना ग्राहकहरूमाथि लादिरहेका छन्, जसले मूल्यवृद्धिमा भूमिका निर्वाह गरिरहेको छ।

"यदि अर्थतन्त्रले राम्रो गरिरहेको छ, व्यापारव्यवसाय बढिरहेको छ भने उनीहरूले जागिर थप्न थाल्छन्। मानिसहरूले रोचक अवसरहरू हेर्न पाउँछन् र मानिसहरू घुमिरहेका तपाईँ देख्नुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।