भारत कसरी तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्छ? त्यसो भएमा के आम मानिसको जीवन फेरिएला?

मोदी

तस्बिर स्रोत, ANI

    • Author, अनन्त प्रकाश
    • Role, बीबीसी हिन्दी

बुधबार राजधानी दिल्लीको प्रगति मैदानमा ‘भारत मण्डपम’को उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारको तेस्रो कार्यकालमा भारत विश्वका तीन ठूला अर्थतन्त्रमा पर्ने भनेर आश्वस्त पारे।

भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो।

यस्तो अवस्थामा सन् २०२४ मा हुन लागेको आम चुनाव जितेर मोदी प्रधानमन्त्री बने भने उनको सरकारसँग सन् २०२९ सम्मको समय हुनेछ।

त्यस्तो दाबी गर्ने प्रधानमन्त्री मोदीको खिल्ली उडाउँदै, कांग्रेस पार्टीले भनेको छ - सरकारले धेरै चलाखीपूर्वक ती कीर्तिमानहरू सिर्जना गर्ने ग्यारेन्टी दिन्छ जुन पहिले नै तय भइसकेको हुन्छ।

लाइन
लाइन

कांग्रेस नेता जयराम रमेशले आफ्नो एक ट्विटमा लेखेका छन्: "देशले अङ्कगणितको आधारमा हासिल गर्न लागेका उपलब्धिहरूको लागि पनि ग्यारेन्टी दिनुले प्रधानमन्त्री मोदीको क्षुद्र राजनीतिलाई देखाउँछ। यस दशकमा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उदय हुने लामो समयदेखि भविष्यवाणी गरिएको छ, चाहे जोसुकैले सरकार बनाए तापनि यो ग्यारेन्टी छ।"

कांग्रेस पार्टीले जुन भविष्यवाणीको प्रसङ्ग कोट्याएको छ त्यो करिब ६ महिनाअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको भविष्यवाणीसँग झन्डै मिल्दोजुल्दो छ ।

लाइभ मिन्टका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत गत वर्ष अक्टोबरमा भारत सन् २०२७-२८ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको थियो।

आईएमएफसँगै विश्व वित्तीय फर्म मोर्गन स्टेन्लीले पनि सन् २०२७ सम्ममा अमेरिका र चीनपछि भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ।

हाल जापानको अर्थतन्त्र विश्वमा तेस्रो स्थानमा छ।

मोदीको समयमा अर्थतन्त्र कहाँबाट कहाँ पुग्यो ?

भारत

तस्बिर स्रोत, NURPHOTO

प्रधानमन्त्री मोदीको कार्यकालमा भारतको अर्थतन्त्र विश्वको दसौँ ठूलोबाट पाँचौँ ठूलो बनेको छ।

तर यसको कारण के हो?

कुनै पनि देशको अर्थतन्त्रको आकारको मापदण्ड त्यो देशको कुल गार्हस्थ उत्पादन अर्थात् जीडिपी हो र पछिल्लो नौ वर्षमा भारतको जीडिपीमा ठूलो परिवर्तन आएको छ।

तर, कांग्रेसको कार्यकालमा २०१० मा अधिकतम जीडिपी वृद्धिदर ८.५ प्रतिशत रहेको थियो भने कोभिडको समयमा विश्वका सबै अर्थतन्त्रजस्तै भारतमा पनि वृद्धिको साटो गिरावट आएको थियो।

लाइन
लाइन

भारतको जीडिपी कसरी बढ्दै छ?

सन् २०१४ र २०२३ को बीचमा भारतको जीडिपीमा कुल ८३ प्रतिशतले वृद्धि भएको छ।

नौ वर्षको वृद्धिदरका हिसाबले चीनको कुल गार्हस्थ्य उत्पादन ८४ प्रतिशतले बढेपछि भारत चीनभन्दा एक प्रतिशत मात्र तल रहेको छ।

त्यसैगरी, यी नौ वर्षमा अमेरिकी कुल गार्हस्थ उत्पादनमा वृद्धिदर ५४ प्रतिशत थियो। 

तर यी तीन अर्थतन्त्रबाहेक जीडिपीका हिसाबले शीर्ष दश देशमध्ये केहीको कुल गार्हस्थ उत्पादन वृद्धिदर कम भएको छ वा बढेको छैन।

यस अवधिमा भारत पाँच देशलाई पछि पार्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ। 

जसमध्ये ब्रिटेन, फ्रान्स र रुसको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर क्रमशः तीन, दुई र एक प्रतिशत थियो।

उही समयमा, इटलीको जीडिपी वृद्धिदर बढेको छैन। ब्राजिलको जीडिपीमा १५ प्रतिशतको सङ्कुचन देखिएको छ।

यस्तो अवस्थामा भारतीय अर्थतन्त्रमा देखिएको तीव्र वृद्धि यी देशको तुलनामा मात्रै तीव्र देखिन्छ। त्यसो भए यी सबै विकसित देशको अर्थतन्त्रमा त्यस्तो गतिमा वृद्धि नहुनुको कारण के थियो ?

त्यसको एउटा कारण सन् २००८-०९ को विश्वव्यापी आर्थिक सङ्कट पनि हो, किनभने एकातिर यो आर्थिक सङ्कटले पश्चिमा मुलुकहरूको अर्थतन्त्रलाई धेरै क्षति पुर्‍याएको थियो ।

जबकि उक्त सङ्कटको भारतमा अपेक्षाकृत रूपमै कम प्रभाव परेको थियो।

लाइन
लाइन

भारतको कुल गार्हस्थ उत्पादन हालको औसत ६-७ प्रतिशतको दरले वृद्धि भइरह्यो भने पनि उसले जर्मनी र जापानलाई पछि पार्दै सन् २०२७ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ।

किनभने ६-७ प्रतिशतको वृद्धि ती देशहरूको लागि लगभग असम्भव छ।

जर्मनी र जापानको वृद्धिदर क्रमशः २.५ र १.५ प्रतिशत मात्रै छ ।

अर्थतन्त्र बढ्नुको अर्थ के हो ?

भारत

तस्बिर स्रोत, XAVIER GALIANA

कुनै पनि देशको अर्थतन्त्र बढ्दा त्यहाँको जीडिपी बढ्छ। र जीडिपी भनेको एक वर्षमा त्यस देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो।

उदाहरणका लागि, यदि तपाईँले वर्षभरि खेती गर्नुहुन्छ, जसको बजार मूल्य १० लाख रुपैयाँ छ भने तपाईँको वार्षिक जीडिपी १० लाख रुपैयाँ हुन्छ।

यस्तो अवस्थामा यदि तपाईँको वार्षिक जीडीपी दश प्रतिशतको दरले बढ्छ भने तपाईँको जीडिपी वृद्धिदर दस प्रतिशत हुन्छ।

जीडिपी बढेका कारण कम्पनीहरूले आफ्नो व्यापार बढाउन रुचाउनेछन्। विदेशी कम्पनीहरूले पनि आर्थिक वृद्धि हुने देशमा लगानी गर्नेछन्।

यसले नयाँ रोजगारीको अवसर सिर्जना गर्नेछ। यसले समाजका आर्थिक रूपमा उपल्लो वर्गदेखि मध्यम र निम्न वर्गसम्म बिस्तारै लाभान्वित हुनेछन्।

प्रतिव्यक्ति आयबिना जीडिपीको जानकारी अपूर्ण

भारत

तस्बिर स्रोत, Reuters

अब कुनै पनि देशको अर्थतन्त्रको प्रगतिले आम जनतालाई कस्तो असर गर्छ भन्ने कुरा बुझ्ने प्रयास गरौँ।

देशको अर्थतन्त्रको वृद्धि सकारात्मक कुरा हो, तर जीडिपी देशका आम नागरिकको समृद्धिको मापन होइन। 

देशका आम जनताको समृद्धि नाप्ने मापनलाई प्रतिव्यक्ति आय भनिन्छ ।

प्रतिव्यक्ति आय अर्थात् जीडिपीलाई देशको कुल जनसङ्ख्याले भाग गर्दा प्राप्त हुने रकम भनेको देशको एक व्यक्तिको एक वर्षको औसत आय हो।

यसमा अम्बानी, अदानीजस्ता भारतका अर्बपतिहरूदेखि दैनिक ज्यालादारी मजदुर, काम गर्ने पुरुष र महिलाको कमाइ समावेश छ र त्यो त्यसको औसत हो।

धेरैले यो औसतभन्दा धेरै कमाउँछन् र धेरैले धेरै कम कमाउँछन्, यसरी यो आम मानिसको आर्थिक अवस्थाको मोटामोटी रूपरेखा हो।

जीडिपीको हिसाबले भारत आज विश्वमा पाँचौँ नम्बरमा छ, तर प्रतिव्यक्ति आयको हिसाबले भारतको स्थान विश्वको पहिलो एक सय देशमा पनि छैन।

यसका दुई वटा महत्त्वपूर्ण कारण छन्– पहिलो भारतको विशाल जनसङ्ख्या र दोस्रो सम्पत्तिको असमान वितरण।

भारतमा सम्पत्तिको वितरण कत्तिको असमान छ भनेर जान्न परोपकारी संस्था अक्सफामको विवरण हेरे पुग्छ जसमा भारतका एक प्रतिशत जनतासँग देशको ४० प्रतिशत सम्पत्ति रहेको उल्लेख छ।

लाइन
लाइन

जनताको समृद्धि कसरी थाहा हुन्छ ?

भारत

तस्बिर स्रोत, Getty Images

पछिल्ला केही वर्षमा भारतले ब्रिटेन, इटली, फ्रान्स र ब्राजिलजस्ता अर्थतन्त्रलाई उछिनेको छ।

तर के यस अवधिमा भारतमा बसोबास गर्ने जनताको अवस्थामा सुधार आएको छ ?

आर्थिक मामिलाका विज्ञ आलोक पुराणिक भन्छन्, "जीडिपी र प्रतिव्यक्ति आय दुई फरक अवधारणा हुन्। जीडिपी त्यो देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो। अर्कोतर्फ, प्रतिव्यक्ति आय भनेको त्यो देशमा बस्ने प्रत्येक व्यक्तिको औसत आय हो। अहिले जनसङ्ख्या बढी भएका देशमा प्रतिव्यक्ति आय कम छ।"

अर्कोतर्फ जनसङ्ख्या कम भएका देशको प्रतिव्यक्ति आय बढी छ।

संसारको शीर्ष अर्थतन्त्रमा नगनिने केही देशहरू छन् तर त्यहाँका जनताको प्रतिव्यक्ति आय अमेरिकाजस्ता शीर्ष अर्थतन्त्र भएका देशभन्दा बढी छ ।

स्विट्जरल्याण्ड र लक्जमबर्ग जस्ता देशहरू यस श्रेणीमा पर्छन्।

स्विट्जरल्याण्डको प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर भन्दा बढी छ भने लक्जेम्बर्गको प्रतिव्यक्ति आय एक लाखभन्दा बढी छ।

तर ठूला अर्थतन्त्रको सूचीमा स्विट्जरल्याण्ड २०औँ र लक्जेम्बर्ग ७२औँ स्थानमा छ।

अहिले भारतले पछिल्लो नौ वर्षमा ब्राजिल, क्यानडा, फ्रान्स, इटली र ब्रिटेनलाई पछि पारेको छ तर यी प्रत्येक देशको प्रतिव्यक्ति वार्षिक आय भारतको भन्दा धेरै गुणा बढी छ।

भारतमा प्रतिव्यक्ति वार्षिक आय २.६ हजार अमेरिकी डलर छ भने अमेरिकामा यो सङ्ख्या ८० हजार डलरभन्दा बढी छ।

यससँगै दसौँ स्थानमा रहेको ब्राजिलको प्रतिव्यक्ति आय ९.६७ हजार अमेरिकी डलर रहेको छ।

अर्थात् १० नम्बरमा रहेको देशको प्रतिव्यक्ति आय पनि भारतको भन्दा झण्डै चार गुणा बढी छ।

आलोक पुराणिक थप्छन्, "एकातर्फ भारत विश्वको तेस्रो शीर्ष अर्थतन्त्र बन्नेतर्फ अघि बढिरहेको छ। यसका साथसाथै यसले आर्थिक गतिविधि बढाएर जनतालाई फाइदा पुग्नेछ। तर यसले आम मानिसको जीवन र आर्थिक समृद्धिमा नाटकीय परिवर्तन ल्याउने सम्भावना छैन।"