भारतमा रेलका डब्बा किन बारम्बार ट्र्याकबाहिर जान्छन्?

रेलवे

तस्बिर स्रोत, Getty Images

    • Author, सौतिक विश्वास
    • Role, भारत संवाददाता

शुक्रवार भारतमा तीन वटा रेलहरू ठोक्किँदा भएको घातक रेल दुर्घटनाले कैयौँ गम्भीर प्रश्नहरू खडा भएका छन्।

पछिल्लो विवरणअनुसार सो दुर्घटनामा २७५ जनाको मृत्यु भएको छ भने १,१७५ भन्दा बढीलाई उपचारका लागि अस्पताल लगिएको थियो। घाइतेमध्ये कैयौँ घर फर्किसकेका विवरणमाझ अझै पनि कैयौँले आफ्ना आफन्तहरूको खोजी जारी राखेका छन्।

विवरणहरूका अनुसार दुई वटा 'एक्सप्रेस' यात्रुवाहक रेल र एउटा मालवाहक रेल पूर्वी राज्य ओडिशाको एउटा सानो स्टेशननजिकै एक आपसमा ठोक्किएका थिए। त्यसमध्ये पहिलो रेल पटरीमा रहेको मालवाहक रेलसँग ठोक्किएको थियो, जसका कारण उक्त यात्रुवाहक रेलका डब्बा पल्टिएर नजिकैको लिकमा पुगेको थियो।

सोही लाइनमा आइरहेको अर्को तीव्र गतिको रेल ती डब्बाहरूसँग ठोक्किएको बताइएको छ। प्रारम्भिक विवरणमा उक्त दुर्घटनाको कारण ‘सिग्नलको त्रुटि’ भएको जनाइएको छ।

हुन त बृहत् जाँचले मात्रै दुर्घटनाको वास्तविक कारण बाहिर ल्याउन सक्छ, तर पछिल्लो घटनाले भारतको रेलवे सुरक्षालाई लिएर ताजा चिन्ताहरू जन्माएको हो।

संसारकै व्यस्तमध्येको रेलवे

भारतको रेलवे प्रणाली विश्वकै ठूलोमध्येको एक हो। करिब १ लाख किलोमिटरभन्दा व्यापक रेलवे ट्र्याकहरूको सञ्जाल रहेको उक्त देशमा दैनिक करिब अढाई करोड मानिसहरू रेल चढ्छन्।

रेलवे मन्त्री अश्विनी वैष्णवका अनुसार अघिल्लो वर्ष मात्रै करिब ५,२०० किलोमिटर नयाँ ट्र्याक बिछ्याइएको थियो। प्रत्येक वर्ष ८,००० किलोमिटर ट्र्याकलाई स्तरोन्नति गर्ने गरिएको उनले बताए।

हालै एउटा अन्तर्क्रियामा मन्त्री वैष्णवले १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने रेलहरूको सेवा सञ्चालन हुने अवस्था तयार पार्नका लागि रेलवे ट्र्याकहरूको स्तरोन्नति गर्नुपरेको बताएका थिए।

उनले १३० किलोमिटर प्रतिघण्टा र अझ उच्च गतिको १६० किलोमिटर प्रतिघण्टाका रेललाई लक्षित गर्दै पनि त्यस्तो स्तरोन्नति गरिएको जनाएका थिए।

दुर्घटनाग्रस्त रेल

तस्बिर स्रोत, Reuters

स्पष्ट रूपमा यस स्तोन्नति देशका विभिन्न ठाउँमा तीव्र गतिको रेल सञ्चालन गर्ने सरकारी योजनाअन्तर्गत भइरहेको कामको एउटा अंश हो। वित्तीय राजधानी मुम्बई र अहमदवादलाई जोड्ने एउटा उच्च गतिको रेलवे लाइन निर्माणको काम अहिले जारी छ।

तर रेलहरू आफ्नो ट्र्याकबाट बाहिर खस्ने घटना रेलवेका लागि एउटा डरलाग्दो सत्य साबित भइरहेको छ। रेलवे बोर्डका एक जना पूर्वअध्यक्ष विवेक सहायका अनुसार रेलहरू लिकबाट बाहिर जानुका विभिन्न कारण हुन सक्छन्। उनका अनुसार ट्र्याकको कमजोर मर्मतसम्भार, रेल डब्बाका प्राविधिक खराबी र चालकको त्रुटिका कारण पनि त्यस्तो हुन सक्छ।

सन् २०१९-२० को एउटा सरकारी रेलवे सुरक्षा प्रतिवेदनले ट्र्याकबाहिर रेल जाने कारणबाट ७० प्रतिशत दुर्घटना भएको पाएको थियो। (त्यसअघिको वर्ष ६८ प्रतिशत दुर्घटना सो कारणले भएका थिए।) दोस्रो कारणका रूपमा आगलागी थियो, जसका कारण १४ प्रतिशत दुर्घटना भएका थिए । कुल दुर्घटनामध्ये ८ प्रतिशत घटना ठक्करसँग जोडिएका थिए।

रेल वे

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

रेखा
रेखा

प्रतिवेदनले औल्याएको अवस्था

उक्त प्रतिवेदनले ट्र्याकबाट बाहिर आएका ३३ यात्रुवाहक रेल र ७ वटा मालवाहक रेलको विषयमा अनुसन्धान गरेको थियो। त्यसमध्ये १७ वटा घटना टुटफुटजस्ता ट्र्याकको खराबीका कारण भएका थिए।

जम्मा ९ वटा दुर्घटना रेलको इन्जिन वा डब्बामा देखिएका समस्याका कारण भएको उक्त प्रतिवेदनमा जनाइएको छ।

रेलका लिकहरू धातुले बनेका हुन्छन् । गर्मी याममा ती केही हदसम्म फैलिन्छन् तर तापक्रम घट्ने भएकाले जाडो महिनाहरूमा लिक सङ्कुचित हुन्छन्। यसकारण लिकको नियमित मर्मत गर्नुपर्ने हुन्छ।

त्यसमा खुकुलो भएका नटबोल्टलाई कस्ने, स्लीपरलाई परिवर्तन गर्ने, स्वीचमा लुब्रिकेन्ट हालेर चलायमान बनाउनेजस्ता कामहरू पर्छन्। पैदल हिँडेर, ट्रली इन्जिन र अन्य सवारीमार्फत यस्तो जाँच र मर्मतसम्भार गर्ने गरिन्छ।

भारतीय रेलवेले ११० किलोमिटर प्रतिघण्टादेखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने रेलहरूका लागि डिजाइन गरिएको ट्र्याकलाई कम्तीमा प्रत्येक तीन महिनामा एक विशेष प्रकारको ट्रलीको प्रयोग गरी विस्तृत परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ।

सन् २०१७ को एप्रिलदेखि सन् २०२१ को मार्चसम्म भारतको केन्द्र सरकारका परीक्षकहरूले तयार पारेको प्रतिवेदनले कतिपय चिन्ताजनक निष्कर्षहरू सार्वजनिक गरेको थियो:

  • ट्र्याकको अवस्था जाँचका लागि ट्र्याक रेकर्डिङ कारको माध्यमबाट गरिने परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म कमी आएको पाइएको थियो।
  • ट्र्याकबाट रेलका डब्बा बाहिरिएका १,१२९ घटनाको अध्ययनमा दुई दर्जन ‘कारणहरू’ जिम्मेवार पाइएको थियो।
  • मुख्य कारण ट्रयाकहरूको मर्मत नहुनु (१७१ घटनामा) ठहर गरिएको थियो। त्यसपछिको कारणका रूपमा अनुमति दिइएको सीमाभन्दा बाहिर ट्र्याक बनाइनु पाइएको थियो।
  • १८० भन्दा बढी दुर्घटना यान्त्रिक कारणले भएका थिए। त्यसमध्ये एक तिहाइभन्दा बढी घटना यात्रुवाहक वा मालवाहक रेलका डब्बाका त्रुटिसँग सम्बन्धित थिए।
  • ‘खराब ढङ्गले र तीव्र गतिमा रेल गुडाउनु’लाई अर्को प्रमुख कारण मानिएको थियो।
रेल वे
रेल वे

पहिले नै दिइएको थियो चेतावनी

भारतका रेलहरूमा ठक्कर-प्रतिरोधी उपकरण जडान गर्ने विषयमा लामो समयदेखि चर्चा भइरहको छ। तर अहिले उक्त प्रणाली दिल्ली-कोलकाता र दिल्ली-मुम्बईमा गुड्ने रेलहरूमा मात्रै जडान गरिएको रेलवेका एक जना अधिकारीले जनाए।

तर ट्र्याकबाट बाहिरिएको अवस्था वा वास्तविक रूपमा ठक्कर लाग्ने परिस्थितिमा त्यो उपकरणले कसरी सघाउँछ भन्ने स्पष्ट छैन।

सन् २०१० मा पश्चिम बङ्गाल राज्यमा एउटा यात्रुवाहक रेल ट्र्याकबाट बाहिरिएर अर्को मालवाहक रेलसँग ठोक्किँदा १५० जनाको मृत्यु भएको थियो।

अनुसन्धानकर्ताहरूले माओवादी विद्रोहीहरूले ट्र्याकमा क्षति पुर्‍याएका कारण कोलकाता-मुम्बई यात्रुवाहक रेल पल्टिएको जनाएका थिए। त्यस क्रममा रेलका पाँचवटा डब्बा अर्कोतर्फबाट आइरहेको मालवाहक रेलसँग ठोक्किएका थिए।

शुक्रवारको घटनामा त्यस्तो किसिमको नियोजित तोडफोडको कुनै सङ्केत आएको छैन।

रेलवे बोर्डका अनुसार सन् २०२१-२२ मा त्यसअघिको वर्षभन्दा सात बढी अर्थात् ३४ वटा रेल दुर्घटना भएका थिए। तिनमा रेलहरू ठोक्किएका, ट्र्याकबाट बाहिरिएका, रेलभित्र आगलागी वा विस्फोट भएका र रेलवे क्रसिङ्हरूमा अन्य सवारी साधनसँग ठोक्किएका घटनाहरू पर्छन्।

द हिन्दु पत्रिकाले मे ३१ मा त्यस्ता घटनाहरू सन् २०२२-२०२३ मा बढेर ४८ पुगेको जनाएको छ।

उक्त विवरणका अनुसार रेलवेका अधिकारीहरू दुर्घटना वृद्धि भएकोमा चिन्तित थिए र उनीहरूले वरिष्ठ अधिकारीहरूलाई ''कर्मचारीहरूको खास गरी पूर्वतटीय रेलवे र दक्षिणपूर्व मध्यम रेलवेमा लामो दैनिकीलाई गम्भीरतापूर्वक विश्लेषण गर्न र तत्कालै सुधारका कदम चाल्न'' भनेका थिए।

शुक्रवारको घटना व्यस्त पूर्वीतटीय रेलवे क्षेत्रमा भएको थियो।