कोरोना भाइरस भारत: औरङ्गाबादमा रेलको ट्रयाकमा निदाएका १६ मजदुरको मृत्यु

भारतीय रेल

तस्बिर स्रोत, Getty Images

भारतको महाराष्ट्र राज्यमा मानिसहरूमाथि एउटा मालवाहक रेल गुडेको घटनाबारे अनुसन्धान गर्न भारतीय अधिकारीहरूले निर्देशन दिएका छन्।

ज्यान गुमाउने मानिसहरू अलपत्र परेका कामदार हुन् जो रेलको ट्रयाकमा निदाएका थिए।

घर जानका लागि रेल पाइने आशामा उनीहरू रेल स्टेशन जान खोज्दै थिए।

भारतले ती कामदारलाई घरसम्म पुर्‍याउन विशेष रेलको व्यवस्था गरेको छ।

लिगमै सुतेका थिए

लकडाउन लगाइएपछि दशौँ हजार मानिसहरू पैदलै आफ्ना घर गएका थिए।

भारतमा त्यस्ता कामदारहरू ग्रामीण क्षेत्रबाट कामको खोजीमा ठूला सहर जाने गर्छन्।

रेलवेका अधिकारीहरूका अनुसार कामदारहरू पहिला बाटो हुँदै र त्यसपछि रेलको ट्रयाक हुँदै ‍औरङ्गावादतर्फ जाँदै थिए।

३६ किलोमिटर पैदलै हिँडेपछि थाकेका उनीहरूले आराम गर्ने निधो गरेका थिए।

स्थानीय विवरणहरूका अनुसार कामदारहरू लकडाउनका कारण रेल नगुड्ने ठानेर ट्रयाकमै निदाएका थिए।

सामाजिक सञ्जालमा देखिएका तस्बिरमा ट्रयाक नजिकै उनीहरूले खानका लागि बोकेका रोटीहरू छरिएको देखिएको थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

विशेष व्यवस्था

मार्च २४ को मध्यरातदेखि उद्योगहरू बन्द भएपछि थुप्रै मजदुरहरू भोकै पर्ने आशङ्कामा हिँडेरै आफ्नो गाउँ जान थालेका थिए।

मध्यरातदेखि बस र रेल एकाएक बन्द भएपछि धेरैका लागि घर पुग्ने एउटै विकल्प हिँडेर जानु नै थियो।

यात्राका क्रममा उनीहरूले पाएको दुर्दशालाई लिएर देशभित्र आक्रोशका आवाज सुनिएका थिए।

यो महिनाको सुरुमा प्रतिबन्धहरू खुकुलो पारिएपछि सरकारले कामदारहरूलाई घर फर्किनका लागि विशेष रेल र बसको व्यवस्था गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औरङ्गाबादमा भएको घातक दुर्घटनामा मानिसहरूले ज्यान गुमाएको घटनाले आफूलाई अत्यन्तै दुखी बनाएको बताएका छन्।